कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित बढ्दै, छैन उपचार योजना

अधिकांश स्थानीय तहले कोरोना परीक्षण, हेल्पडेस्क स्थापना, सचेतना, सरसफाइ, आइसोलेसन निर्माणमा बेवास्ता गरेका छन्

जाजरकोट/रुकुम पश्चिम/सल्यान — कर्णालीका पहाडी जिल्लाहरूमा नयाँ भेरिएन्टका कोरोना संक्रमितको संख्या बढ्दै गए पनि स्थानीय तहहरूले प्रतिकार्य योजना बनाएका छैन । योजना नबनाउँदा र बनाएका पनि कार्यान्वयन नगर्दा संक्रमण समुदायस्तरसम्म फैलिएको छ ।

संक्रमित बढ्दै, छैन उपचार योजना

जाजरकोटमा आइतबारसम्म १ सय ५० जना कोरोना संक्रमित फेला गरेका छन् । तर स्थानीय तहले प्रतिकार्यमा बेवास्ता गरेको स्थानीय कमल केसीले बताए । उनका अनुसार स्थानीय तहले हालसम्म कुनै पनि प्रतिकार्यका योजना सार्वजनिक गरेका छैनन् । ‘संक्रमित बढेपछि गाउँगाउँमा त्रास छ,’ उनले भने, ‘तर अधिकांश स्थानीय तहले कोरोना परीक्षण, हेल्पडेस्क स्थापना, सचेतना, सरसफाइ, आइसोलेसन निर्माणमा बेवास्ता गरेका छन् ।’

तर कोरोना नियन्त्रणका लागि आवश्यक कार्यहरू भइरहेको जनप्रतिनिधि र कर्मचारीको दाबी छ । भेरी नगरपालिकाले कोराना नियन्त्रण तथा रोकथामका लागि सचेतना, स्वास्थ्य सरसफाइ, परीक्षण, हेल्पडेक्स स्थापना, १४ शय्याको आइसोलेसन निर्माणलगायत काम गरेको स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताइन् । उनका अनुसार भेरीको एउटै वडामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाले ३ ठाउँमा हेल्पडेक्स स्थापना गरेको उनको भनाइ छ । स्थानीय तहले कोरोना नियन्त्रणतर्फ सक्रियता नदेखाएको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल पर्सन कृष्ण खत्रीले बताए । ‘कुन स्थानीय तहले के गर्दैछन् भन्ने जानकारी नै छैन,’ उनले भने, ‘जानकारी भए एकीकृत रूपमा कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्थ्यो ।’ उनका अनुसार कोराना परीक्षणका लागि सबै स्थानीय तहमा किट पठाइए पनि कति जाँच भयो भन्नेबारे जानकारी नआएको बताए ।

आइसोलेसन तयारीमा स्थानीय तह

रुकुम पश्चिमका सबै स्थानीय तह अक्सिजनसहितको आइसोलेसन निर्माणमा जुटेका छन् । एउटा शय्यामा एउटा अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माणका लागि जिल्लाका स्थानीय तह जुटेका हुन् ।

रुकुम पश्चिमको चौरजहारी अस्पतालले बनाएको आइसोलेसन वार्डको नर्सिङ स्टेसन । तस्बिर : हरि/कान्तिपुर

मुसीकोट नगरपालिकाले ५० बेडको आइसोलेसनको तयारी गरेको छ । सदरमुकाम खलंगाको एक निजी अस्पताललाई भाडामा लिएर त्यसैमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन लागिएको हो । सबै बेडमा सकेसम्म अक्सिजन राख्ने तयारीमा नगरपालिका छ । निजी अस्पताल सञ्चालकसँग सम्झौता भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए ।

आठबीसकोट नगरपालिकाले पहिला भएकै कोभिड वार्डलाई व्यवस्थित गराउने योजना बनाएको छ । गत वर्ष कोरोनाकालमै निर्माण गरिएको कोभिड अस्पतालमा असिक्जन थप गर्ने र आवश्यक परे बेड थप्ने योजना नगरपालिकाको छ । उक्त अस्पतालमा १२ बेड छन् । चौरजहारी नगरपालिकाले चौरजहारी अस्पतालका शय्या उपयोग तथा थप गर्ने तयारी गरेको छ । अपुग अक्सिजन थप्ने र सेवा व्यवस्थित बनाउने योजना रहेको नगरप्रमुख विशाल शर्माले बताए ।

त्रिवेणी गाउँपालिकाले २० शय्याको आइसोलेसन वार्ड तयार पार्दैछ । यसअघि गाउँपालिका अस्पताल सञ्चालन रहेका भवनमै आइसोलेसन बनाउने तयारी रहेको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले बताए । अस्पतालमा पहिल्यै १२ बेड रहेको थप ८ शय्या व्यवस्थापनमा लागिएको उनको भनाइ छ । बाँफीकोट गाउँपालिकाले स्यार्पु बहुमुखी क्याम्पसमा १५ बेडको आइसोलेसन बनाउँदै छ । त्यसका लागि स्वास्थ्यकर्मीको नियुक्ति, अक्सिजन खरिद र औषधि खरिद प्रक्रिया अघि बढाइएको छ । सानीभेरी गाउँपालिकाले छोटेबगरस्थित सहिद स्मृति भवनलाई आइसोलेसन बनाउँदै छ । हाललाई १० शय्याको आइसोलेसन बन्ने र त्यसका लागि आवश्यक अक्सिजनसमेत खरिद गरिसकेको अध्यक्ष नरबहादुर पुनले बताए । लक्षणसहितका बिरामीको चेकजाँच तथा उपचार गर्ने तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमित संख्या बढ्दै गएको छ । लक्षणसहितका बिरामीको संख्या बढेपछि स्थानीय तहले पहल थालेका हुन् । ‘के पर्छ, कस्तो पर्छ भनेर हामी तयारीमा लागेका छौं,’ बाँफीकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘भएको स्रोतसाधनको उपयोग गरी अपुग बजेट प्रदेश सरकारसँग माग गरिएको छ ।’ जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सल्यानमा बन्दै

कोरोना संक्रमण बढ्दै गएपछि सल्यानका १० वटै स्थानीय तह पनि आइसोलेसन निर्माणको प्रक्रियामा जुटेका छन् । कपुरकोट गाउँपालिकाले २५ शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । गाउँपालिकाले किमुचौरस्थित त्रिभुवन जनता माविको भवनलाई आइसोलेसन बनाएको हो । आइसोलेसनमा पाँचवटा अक्सिजन सिलिन्डर राखिएको अध्यक्ष भीमबहादुर सेनले बताए । उनका अनुसार ६७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि दाङ पठाइएको छ ।

छत्रेश्वरी गाउँपालिकाले १० शय्याको अक्सिजनसहितको आइसोलेसन तयार भएको जनाएको छ । भोटेचौरमा स्थापना गरिएको आइसोलेसनमा डाक्टरसहितका स्वास्थ्यकर्मीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । ‘जटिल समस्या देखिएका बिरामीलाई आइसोलेसनमा उपचार गरिनेछ,’ उनले भने, ‘सामान्य समस्या भएकाले होम आइसोलेसनमा बस्न अनुरोध गरेका छौं ।’ उनका अनुसार संक्रमितलाई जिल्ला अस्पताल वा जिल्ला बाहिर लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

बन्गाडकुपिण्डे नगरपालिकाले पनि स्थानीय प्रभाकर माविमा १० शय्याको आइसोलेसन तयार पारेको छ । थप शय्या थप गर्ने गरी तत्काल १० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए । ‘गाउँगाउँमा सचेतनामूलक कार्यक्रममा पनि जोड दिइएको छ,’ उनले भने, ‘केही दिनमै परीक्षणलाई पनि तीव्रता दिनेछौं ।’ उनले परीक्षणका लागि एन्टिजेन किट खरिद गरिसकिएको जनाए । आइसोलेसनको शय्या थप्न थप दुई सय थान बेड पनि खरिद गरिएको छ ।

जिल्ला अस्पतालमा आइसोलेसन भएकाले थप आइसोलेसन निर्माण नगरिने शारदा नगरपालिकाले जनाएको छ । आवश्यक औषधि र उपकरण खरिद प्रक्रिया अघि बढाइएको नगरपालिकाका कोरोना नियन्त्रण फोकल पर्सन रविन विष्टले बताए । ‘जिल्ला अस्पतालका स्वास्थ्यकर्मी परिचालन गरी परीक्षणलाई तीव्र बनाएका छौं,’ उनले भने, ‘आवश्यक औषधि र अक्सिजनलगायतको खरिद गर्न प्रक्रिया अगाडि बढेको छ ।’

सिद्धकुमाख गाउँपालिकाले ११ र कालिमाटी गाउँपालिका १० शय्याको आइसोलेसन तयार गरेका छन् । बाग्चौर नगरपालिकामा भने डाक्टर र स्वास्थ्यकर्मीको पदपूर्ति नहुँदा आइसोलेसन तयार नभएको स्वास्थ्य संयोजक हरिबहादुर कठायतले बताए । ‘कोरोनाको संक्रमणबाट स्थानीयलाई बचाउन एक सातादेखि पालिका सिल गरेका छौं,’ उनले भने, ‘गाउँगाउँमा सचेतनामूलक कार्यक्रमलाई तीव्र बनाइएको छ ।’

सल्यानमा आइतबारसम्म २ सय ६९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । ५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । १८ शय्याको आइसोलेसनमा संक्रमितहरूको उपचार गरिरहेको अस्पताल प्रमुख डा. भीमकान्त जैसीले बताए । संक्रमितको संख्या बढेपछि शय्या थप गरी ३८ बेडको बनाउने तयारी थालिएको छ । उनले अक्सिजन सुविधासहित उपकरण खरिद गर्न प्रदेश सरकारसँग बजेट माग गरिएको बताए ।

प्रकाशित : वैशाख २०, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?