कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

रोल्पामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध 

काशीराम डाँगी

रोल्पा — रोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ । मंगलबार बिहानदेखि रोल्पासम्म ल्याउने इन्टरनेटको सेवा अवरुद्ध भएकाले सेवा प्रवाह गर्न नसकिएको नेपाल टेलिकम रोल्पा कार्यालयले जनाएको छ । कार्यालय प्रमुख व्रिषभ उपाध्यायले लाइन मर्मत गरेर शीघ्र सेवा प्रवाह गर्न पहल भइरहेको जानकारी दिए । 

रोल्पामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध 

कार्यालयका अनुसार दाङको भालुबाङ र लमही क्षेत्र आसपासमा इन्टरनेट जडान गर्ने फाइबरमा समस्या देखिएको छ । वर्षाको समय भएकाले र त्यस क्षेत्रमा सडक भत्केकाले इन्टरनेटको पोलमा क्षति पुगेकाले सेवा अवरुद्ध हुन पुगेको हो । फाइबरमा समस्या आएपछि टेलिकमले वितरण गरेको ल्यान्डलाइन र फाइबर लाइनमा सेवा पूर्ण रुपमा बन्द भएको हो ।

नेटवर्कमा समस्या आउँदा मोबाइल सञ्चालनमा समेत समस्या देखिएको हो । मोबाइलमा आवाज नसुनिने, आवाज कट्ने र कलिङ भएपनि कनेक्ट नहुने समस्या देखिएको हो । इन्टरनेट समस्याले सञ्चारमाध्यम, सरकारी कार्यालय, निजी क्षेत्र र सर्वसाधारणलाई प्रभावित बनाएको छ । डिजीटल माध्यमबाट कारोबार गरिरहेका बैंकिङ क्षेत्रमा इन्टरनेट अभावमा समस्या भएको छ ।

नेपाल टेलिकमले रोल्पा सदरमुकाम लिबाङ लगायत मुख्य बजार क्षेत्रमा गरी करिब ४ हजार सेवाग्राहीलाई इन्टरनेट सेवा बाँडेको छ । पछिल्लो प्रविधिअनुसार फाइबर लाइनबाटै ल्यान्डलाइन फोन वितरण गरिएकाले फाइबर लाइनमा समस्या आउँदा फोन र इन्टरनेटमा एकैसाथ समस्या आउने गरेको छ ।

रोल्पामा निजी क्षेत्रबाट वितरण गरिएका इन्टरनेट सेवा भने प्रभावित भएको छैन । टेलिकमले सेवा प्रभावकारी रूपमा दिन नसक्दा र निजी क्षेत्रलाई आफ्नो भन्दा अघि सेवा वितरण गर्न दिएकाले सेवाग्राही महँगोमा परेको उपभोक्ताहरुको आरोप छ ।

प्रकाशित : श्रावण २, २०८१ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×