२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कौडेलेकमा भूपू सैनिकले बनाए भ्यू-टावर

पाल्पा — जिल्लाकै अग्लो डाँडा कौडेलेकमा भारतीय र ब्रिटिस सेनामा कार्यरत भुतपूर्व सैनिकहरुको पहलमा भ्यू-टावर निर्माण गरिएको छ । १० लाख ५५ हजारको लागतमा दृष्यावलोकन केन्द्र अर्थात् भ्यू-टावर निर्माण भएको हो । 

कौडेलेकमा भूपू सैनिकले बनाए भ्यू-टावर

केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले उद्घाटन गर्दै पर्यटकीय क्षेत्र अवलोकनका लागि आउनेहरुका लागि सहयोग पुग्ने बताए । ‘जिल्लाकै अग्लो लेक भएपनि पूर्वाधारका हिसाबले पछि परेको रहेछ,’ उनले भने, ‘भुतपूर्व सैनिकले गरेको प्रयासले गर्दा स्थानीय तहलाई पनि घच्घच्चाएको छ ।’

गाउँपालिका र वडा कार्यालयसंँग पूर्वाधार निर्माणको अनुमति लिएर दृष्यावलोकन केन्द्र निर्माण गरेको समितिका सल्लाहकार पदम घर्तीले बताए । केन्द्र भूकम्प मापन केन्द नजिकैको अर्को डाँडामा बनाएको उनले बताए । भुतपुर्व सैनिकले निर्माणका लागि चन्दा संकलन गरेका हुन् ।

कौडेलेक नपुग्दैको ओलेस गाउँबाट भारतीय र ब्रिटिस सेनामा कार्यरत भुतपुर्व सैनिकहरुको यसमा सहयोग रहेको निर्माण कमिटिका अध्यक्ष भूपूसैनिक हनेरी क्याप्टेन डुबलसिंह आलेले बताए । आले स्वयंले १ लाख दिएर चन्दा संकलन सुरु गरेका थिए । बोमबहादुर आलेले १ लाख २० हजार, पदमबहादुर घर्तिमगर १ लाख, बेकबहादुर सुर्यवंशी १ लाख, पिताम्बर रानाले १ लाख दिएका छन् ।

यी बाहेक स्थानीयले सहयोग गरेका छन् । १३ लाख ३६ हजार चन्दा संकलन भएकामा पुनः ३३ हजार थप भएको छ । ओलेस गाउँका २ सय ४६ जना बराबरको श्रमदान भएको छ ।

स्थानीय सरकारले पर्यटकीय क्षेत्र विकास गर्ने नारा लगाए पनि पूर्वाधारको काम गरेको थिएन । कौडेलेकमा पानीको अभाव छ । बिजुली बलेको छैन । भूकम्प मापन केन्द्रले आफ्नो सामग्री रहेको स्थानमा सोलार प्यानल जडान गरेर बत्ती बालेको छ । त्यसबाहेक अन्यत्र बिजुलीको व्यवस्था छैन । स्थानीय तहले डाँडामा पूर्वाधारमा लगानी गरेको छैन । ओलेस गाउँदेखि सिँढी निर्माण सुरु गरे पनि पुरै निर्माण गरेको छैन । सडक साँघुरो र भीरपाखा भएकाले डरलाग्दो छ ।

आन्तरिक तथा बाहृय पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार नभएको अवस्थामा आफूहरूले चन्दा संकलन गरेर दृश्य अवलोकन केन्द्र निर्माण गरेको निर्माण समितिका कोषाध्यक्ष ज्ञान बहादुर चिदीले बताए ।

उनका अनुसार विगतमा ओलेसमा जन्मिएर हाल विभिन्न पेशा व्यवसाय क्रियाशील तथा भूतपूर्व सैनिक परिवारका सदस्य र विदेशमा बस्नेहरुले केन्द्र निर्माण गर्न सहयोग गरेका छन् । कसेनीको सराईदेखि भैसीकट्टा, सिकारकोट भएर ओलेस पुग्न सकिन्छ । ओलेसदेखि एक घण्टा उकालो चढेपछि कौडेलेक पुगिन्छ ।

कौडेलेकबाट तराईतिरका बर्दघाट, सुनवल, बुटवल, भैरहवा र भारतीय केही सहरकोसमेत अवालेकन गर्न सकिने स्थानीयले बताए । उत्तरतर्फ पनि दर्जनौं हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

‘अग्लो डाँडामा मनोरम दृष्यावलोकनका लागि मुलुकका विभिन्न स्थानबाट आउने गरेका छन्,’ अध्यक्ष आलेले भने, ‘आएकाहरुले पर्यटकीय पूर्वाधारको अभाव महशुस गरेकाले कौडेलेक (हुवाकोट) को घेराबारसंगै दृश्य अवलोकन केन्द्र निर्माण गरेका हौं ।’ ओलेस गाउँ र कौडेलेकलाई जोडेर होमस्टेसहितको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास ५ वर्षअघि नै सुरु भए पनि पछिल्लो समयमा सुस्ताएको स्थानीयले बताए ।

ओलेसदेखि कौडेलेक जाने पैदल मार्गका लागि सिंढीका साथै सडक स्तरोन्नतीको काम सुरु भएको माथागढी गाउँपालिका–३, का वडाध्यक्ष तेजबहादुर घर्ति मगरले बताए । चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन भए पनि काम गर्न नसकेर बजेट फिर्ता भएको उनले बताए । कौडेलेक जाने पर्यटकलाई स्वागतका लागि गेट निर्माणमा पालिकाले सहयोग गरेको छ । लिफ्टिङ खानेपानी र बिजुलीको लागि आउने वर्ष काम गरिने वडाध्यक्ष घर्तिमगरले बताए ।

यहाँबाट हिमाल, पहाड र तराईको एकैसाथ दृष्यावलोकन गर्न सकिन्छ । भौतिक पूर्वाधार, सडक निर्माण, होमस्टे सञ्चालनको पहल गर्न स्थानीयले माग गर्दै आएका थिए । समुन्द्री सतहदेखि १ हजार ८ सय ४३ मिटरको उँचाइमा कौडेलेक रहेको छ । सिद्धार्थ राजमार्गको बाँसटारीटारीबाट कसेनी हुँदै २१ किलोमिटर यात्राबाट ओलेस गाउँ पुगिन्छ । सुर्योदय र सुर्यास्तको यहाँबाट बेग्लै मज्जा लिन सकिन्छ ।

माडीफाँटको सौन्दर्य, सेतै हिमाल र पहाडको आनन्द लिँदै मज्जाले रमाउन यहाँ सकिन्छ । स्थानीयका अनुसार कौडेलेकमा पहिला मगरहरुको कोटघर रहेको थियो । यस क्षेत्रमा प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण हुन नसक्दा ओझेलमा परेको हो । ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक एवम् सामरिक दृष्टिले समेत महत्व बोकेको छ ।

पहिला पहिला यस भेगमा पर्यटक आउने गर्थे । पाल्पाका केही युवाहरु पिकनिक गर्न पुग्छन् । पहाडको टुप्पोमा अवस्थित कौडेलेक अहिले स्थानीयको चरिचरन क्षेत्रको रुपमा प्रयोगमा आएको छ । कौडेलेक र ओलेस गाउँमा मंसिर र वैशाख पूर्णिमामा ओलेसमा भव्य मेला लाग्छ । त्यस दिन कौडेलेक जानेहरुको भीड हुन्छ ।

प्रकाशित : असार १, २०८१ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x