२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

भैरहवा कारागारका बन्दीहरुसँग शुभकामना आदानप्रदान

माधव ढुंगाना

भैरहवा — जिल्ला कारागार रुपन्देहीका बन्दीहरुसँग शनिबार नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजना र कर्मचारी मिलन केन्द्र रुपन्देहीको संयोजनमा नयाँ वर्षको उपलक्ष्यमा कारागारमा रहेका ४ सय ७२ जना बन्दीलाई भोजनसहित शुभकामना आदानप्रदान गरिएको हो । 

भैरहवा कारागारका बन्दीहरुसँग शुभकामना आदानप्रदान

बन्दीहरुलाई शुभकामना दिने क्रममा अधिकांश वक्ताले जेल भित्रको बसाइलाई प्रत्येक बन्दीले निराशा र नकारात्मक सोंचाइको सट्टामा समाज सुधार र सिर्जनशील सोंचमा रुपान्तरण गर्न आग्रह गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले स्व.नेलशन मण्डेलाको ३० वर्षे जेल बसाइलाई प्रेरणाको रुपमा लिँदै प्रत्येक बन्दीले जेलजीवन पछिको जीवनलाई समाज रुपान्तरण कार्यमा लगाउने गरी सकारात्मक सोंच र चिन्तनमा रहन आग्रह गरे ।

‘परिस्थिति परिबन्द र नियतिले अहिले चार दिवारभित्र जेलजीवन बिताउनु परेका तपाईंहरुको जेल पछिको जीवन समाज सुधारका लागि अझ बढी जिम्मेवार रहने छ,’ अर्यालले भने, ‘त्यसैले सबैले जेल भित्रको बसाइलाई सिर्जनशील र सकारात्मक उर्जावान बनाउनुस् ।’

कर्मचारी मिलन केन्द्र रुपन्देहीका अध्यक्ष तथा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले राष्ट्रिय पर्वको अनुभूति बन्दीहरुले पनि गर्न पाउनु पर्छ र राष्ट्रिय पर्वहरुमा उनीहरुमा नरमाइलो सहनुभूति हुन नपाओस् भन्ने उद्देश्यले भोजन सहितको शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए ।

राष्ट्रिय पर्वको बेलामा बन्दीहरुलाई एक्लोपन हुन नदिनका लागि बेला बेलामा बन्दीहरुसँग संयुक्त रुपमा पर्व मनाउने यस खालको कार्यक्रम नेपालका अन्य कारागारमध्ये भैरहवा कारागारमा हुने गरेको दाबी कार्यक्रम आयोजकको छ । गएको दीपावली पर्वमा पनि भैरहवा कारागारका बन्दीसँग भोजन सहितको देउसी-भैलो कार्यक्रम आयोजना गरिएको थियो ।

शुभकामना आदानप्रदान गर्दै इजाज अली नामका बन्दीले यस खालको कार्यक्रमबाट बन्दीहरुलाई हिनताबोध हटेर मनोवैज्ञानिक ढंगले आत्मबल आउने गरेको बताए ।

भैरहवा कारागारका बन्दीहरुमा सकारात्मक चिन्तका लागि दैनिक मंगलधुन, योगा र जीवन विज्ञानको प्रशिक्षण दिने गरिएको छ ।

प्रकाशित : वैशाख १, २०८१ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?