२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

भारतको चन्डीगढमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु

काशीराम डाँगी

रोल्पा — रोल्पाको त्रिवेणी-४ चालढुंगा निवासी नरेश वलीको भारतमा खोलाले बगाउँदा मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार ४७ वर्षीय वलीको मृत्यु असार २५ गते चन्डीगढमा भएको हो ।

भारतको चन्डीगढमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु

बिदाको दिनमा आफन्तसहित चन्डीगढस्थित अमरावाती नदी किनारमा घुमघाम गर्न पुगेका बेला उक्त नदीको ड्याम खोलिँदा एक्कासि आएको बाढीले उनलाई बगाएको थियो । स्रोतका अनुसार असार २५ गते बेलुकीको ५ बजेर ४० मिनेटतिर वलीलाई बगाएको थियो । साथमा घुम्न पुगेका साथीहरूले उनलाई बचाउने कोसिस गरेका थिए। नरेशका भाइ कविराज नदीमै हाम फालेर दाइलाई बचाउने प्रयास गरेका थिए । नरेशका पुराना साथी तुलाराम डाँगीले दुर्घटनाबाट पुरानो र भरपर्दो साथी गुमाएको बताए ।

भाइ कविराजका अनुसार आधा किलोमिटर भन्दा लामो दुरीमा पुग्दा पनि नरेशलाई भेट्टाउन सकिएन । उक्त घटनापछि स्थानीयसँगै भारतीय प्रहरीले समेत खोजी थालेको थियो । नरेशलाई नदीले २५ गते सोमबारका दिन बगाए पनि उनको शव दुई दिनपछि असार २७ गते बुधबारका दिन बेलुकी ६ बजे करिब ३५ किलोमिटर टाढाको मुबारकपुरमा फेला परेको थियो।

मृतक वलीको शवको पोस्टमार्टम भने असार २९ गते भारतको पन्चुला सेक्टर ६ स्थित अस्पतालमा गरिएको थियो । भारतमा रहेका आफन्तले चन्डीगढकै मनिमाजरा हाउजिङ बोर्ड नजिक रहेको घाटमा दाहसंस्कार गरेका थिए । मृतक वलीका ज्वाइँ भीम डाँगीका अनुसार शव नेपाल ल्याउन ज्यादै खर्च लाग्ने भएकाले त्यहीँ सदगद् गरिएको हो । उनको काजकिरिया भने नेपालस्थित घरमा गरिने पारिवारिक स्रोतले जनायो ।

वलीका परिवार दाङको तुलसीपुर-१६ स्थित फच्कुलामा पनि बसोबास गर्छन् । उनको मृत्युपछि बुबा रुपचन्द वलीसहितका अन्य सदस्य शोकाकुल अवस्थामा रहेका छन् ।

नरेश भारतमा २५ वर्षदेखि बस्दै आएका थिए । घरमा श्रीमतीसहित ३ छोरी र १ छोरा रहेका नरेशले चन्डीगढस्थित ज्वेलरी दुकानको गाडी चलाउने चालकको काम गर्थे ।

प्रकाशित : असार ३०, २०८० १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?