कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहकारीबाट स्वरोजगार बन्दै महिला

महिला सहकारीबाट बिनाधितो ऋण, बाख्रा उपहार, तालिम, डालेघाँसको बीउ र प्राविधिक सहयोग

दाङ र अर्घाखाँची — कृष्णीकुमारी बुढा पाँच वर्षअघि लमही बजारमा बस्थिन् । कमाइ केही थिएन । श्रीमान् पदम बीसी कमाईको खोजीमा मलेसिया उडे । एक्ली उनले सिलाइकटाइ तालिम लिइन् र पनि गुजारा चलेन । माइती लमही–९ हर्दवा फर्किइन्, बाख्रापालन थालिन् । चारवटा बाख्राबाट सुरु गरेको व्यवसाय बढ्दै गएपछि गाउँमै रमाउन थालिन् । गत दसैंमा मात्रै २ लाख रुपैयाँका खसीबोका बेचिन् । बाख्राबाटै वार्षिक ४ लाखभन्दा बढी कमाउँछिन् । यही कमाईबाटै उनले ६ कट्ठा जग्गा जोडिसकिन् ।

सहकारीबाट स्वरोजगार बन्दै महिला

‘सुरुमा माइतीले दिएको एक कट्ठामा बाख्रा पाल्न सुरु गरेकी थिएँ । अहिले कमाएर जग्गा थपें,’ ३३ वर्षीया कृष्णीकुमारीले भनिन्, ‘बाख्राबाट राम्रो कमाइ हुन थालेपछि श्रीमान्लाई पनि फर्कन भनेकी छु । अब दुवै मिलेर बाख्रापालन गर्ने हो ।’ गाउँमै बसेर राम्रो कमाइ भइरहेको उनले बताइन् ।

कृष्णीजस्तै लमहीका धेरै महिला अहिले व्यावसायिक बाख्रापालनबाट लाखौं आम्दानी गरिरहेका छन् । हर्दवाकै गंगा घर्तीले यही दसैंमा खसीबोका बेचेरै ३ लाख रुपैयाँ कमाईन् । उनका अझै ४५ बाख्रा छन् । उनले वर्षमा ४ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । हर्दवाकै माइती चौधरीले ५० बाख्रा पालेकी छन् । दुई वर्षदेखि यसमा लागेकी उनले वार्षिक २ लाख ५० हजार रुपैयाँ कमाउँछिन् । यसैबाट उनले छोरीलाई जेटीए पढाएको बताइन् ।

लमही–९ बाङ्गेतालकी ४२ वर्षीया तिलाकुमारी रानाले पनि खसीबोका बेचेरै वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्छिन् । ‘अहिले त जुनी नै फेरिएजस्तो भएको छ । पहिले भैंसी पालेर खान मात्र ठिक्क हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले कमाइ छ, अरुलाई सापट दिन सक्ने भएकी छु ।’ नौ वर्षअघि ग्रामीण महिला उत्थान केन्द्रबाट उपहार पाएका दुई बाख्राबाट उनले व्यवसाय सुरु गरेकी हुन् । ‘त्यही बाख्राबाट बढाउँदै अहिले ६५ वटा पुगेका छन्,’ उनले भनिन्, ‘अझै बढाउने योजना छ ।’ महिला सहकारीबाट बिना धितो ऋण, बाख्रा उपहार र तालिम, डालेघाँसको बीउ, प्राविधिक सेवा दिन थालेपछि हौसला बढेको बाङ्गेतालकै राजकुमारी थारुले बताइन् ।

राम्रो आम्दानी भएपछि महिलाहरू बाख्रापालन व्यवसायमा आकर्षित भइरहेको लमही–९ रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडकी अध्यक्ष देवीमाया थापाले बताइन् । ‘सहकारीबाट व्यवसाय गर्न चाहने महिलालाई ऋण दिने, तालिम दिने, सरकारी अनुदानमा सहयोग गर्नेजस्ता काम गर्दै आएका छौं,’ उनले भनिन्, ‘धेरै महिलाको बैंकमा धितो राख्ने दर्ता जग्गा छैन । त्यस्तो बेला सहकारी नै जमानी बसेर बैंकबाट महिलालाई ऋण निकालिदिएका छौं ।’ सहकारीका १२ सय सदस्यमध्ये ५० बढीले बाख्रापालन गर्दै आएको उनले बताइन् ।

अर्घाखाँची सितगंगा–१४ कंरेचुँलीकी टुलकुमारी न्यौपानेलाई घरखर्च जोहो गर्न अहिले कुनै टन्टो छैन । चार बाख्राले जन्माएका पठापाठी हुर्काएर उनले छोराछोरीको पढाइ खर्च, घरखर्च गरेर केही रकम बैंकमा बचत गरेकी छन् । ‘बाख्रा पालेपछि रोजगारी खोज्दै कतै धाउनु पर्दैन,’ उनले भनिन्, ‘सबै खर्च कटाएर वर्षमा २ लाख रुपैयाँ बचत भएको छ ।’ वैदेशिक रोजगारमा जान लागेका श्रीमान्लाई रोकेर बाख्रापालन गरिरहेको उनले बताइन् ।

‘आधुनिक खोरमा बाख्रा र खसीबोकालाई चिसो हुँदैन, मिलाएरै दाना, घाँस, पानी खुवाइन्छ,’ किसान बसुन्धरा कार्कीले भनिन्, ‘राम्रोसँग रेखदेख गर्दा वर्षमा दुईपटक व्याउने र जुम्ल्याहा जन्माउने गर्छन् ।’ पछिल्लो समय गाउँमा खसीभन्दा बोकाको माग धेरै छ । बोकाको माग बढी भएकाले खसी बनाउन छाडेको उनले बताइन् । ‘व्यापारीले फोन गरेरै पठाइदिन भन्छन्,’ उनले भनिन्, ‘वर्षमा चार लाख रुपैयाँका बोका बिक्रीबाट आम्दानी भएपछि गाउँ छाडेर जाने सोच नै हराएको छ,’ उनले भनिन् ।

सरकारी तथा गैरसरकारी निकायले व्यावसायिक तरिकाले बाख्रा पाल्न सिकाएपछि गाउँका महिला उत्साहित छन् । उनीहरूले श्रीमान्लाई वैदेशिक रोजगारीबाट फिर्ता बोलाएर बाख्रा पाल्नतिर प्रेरित गरिरहेका छन् । सिमलपानी कृषि तथा पशुविकास महिला सहकारी संस्थामा ३ सय ५० र वडा १४ को गंगाजल कृषि तथा पशुविकास सहकारीमा ६ सय ५० महिला कृषक आबद्ध छन् । उनीहरू सबैका घरमा आधुनिक खोरमा बाख्रा, खसीबोका छन् । गंगाजलकी अध्यक्ष सीता दर्लामीले १० वटा बाख्रा पालेकी छन् । तीन वर्षमा उनले ६ लाख रुपैयाँभन्दा धेरै बचत गरेको बताइन् ।

‘अहिले बाख्रापालनमै मेरो मुख्य ध्यान छ,’ उनले भनिन्, ‘काम गर्ने तरिका फरक पारेपछि पैसा कमाउन गाउँ छाडेर कतै धाउनु पर्दैन । हामी महिला मिलेरै बाख्रा पालेका छौं ।’ सबैले बोका बेचेरै राम्रो आम्दानी गरेका छन् । महिला मिलेरै सहकारी गठन गरेर बाख्रापालनबाट गाउँको आर्थिक स्थितिमा परिवर्तन ल्याएको उनले बताइन् ।

प्रकाशित : मंसिर ७, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?