२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

स्वास्थ्य बिमा : कतै बिरामीको चाप, कतै प्रभावहीन

समयमै रोग पहिचान गरेर उपचार गर्न सहज भएको तर कर्मचारीले सहज व्यवहार नगरेको गुनासो

गुल्मी, रोल्पा — लगातार पेट दुखिरहँदा पनि गुल्मीदरबार गाउँपालिका–४ की ६३ वर्षीया पुतली सुनार उपचार गर्ने रकम नहुँदा रोग लुकाएर बसेकी थिइन् । स्वास्थ्य बिमा गरेकाको निःशुल्क उपचार हुने थाहा पाएपछि जिल्ला अस्पताल पुगिन् । त्यहाँ जाँच गराउँदा पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो ।

स्वास्थ्य बिमा : कतै बिरामीको चाप, कतै प्रभावहीन

निःशुल्क अपरेसनबाट पत्थरी निकालेपछि उनको परिवार अहिले खुसी छ । ‘पत्थरीको अप्रेसन गर्न कति धेरै पैसा लाग्थ्यो तर बिमा गरेकाले अप्रेसनको खर्च लागेन,’ जिल्ला अस्पतालमा भेटिएकी पुतलीकी बुहारी लक्ष्मीले भनिन्, ‘त्यसैले अहिले त हामी सबै नियमित उपचार गर्न अस्पताल आउँछौं ।’

अर्घाखाँचीको मालारानी–२ की ८२ वर्षीया रूपाकला भुसाल मधुमेह (सुगर) को जाँच गर्न नियमित अस्पताल पुग्छिन् । सरकारले बिमा गरिदिएर आफूहरूको सेवा गरेको र उपचारमा सहज भएको उनको भनाइ छ । ‘सरकारले बिमाको कागज बनाइदिएपछि सुगर जाँचका लागि पैसा लाग्दैन । त्यसैले सधैं अस्पतालमा आउँछु,’ उनले भनिन्, ‘पहिला पहिला भा हाम्लाई कसले उपचार गर्थे र ? छोराबुहारीले कहिले मर्लान् यिनी बूढाबूढी भन्थे । तर, सरकारले निशुःल्क उपचार गरेको छ । सेवा गरेको छ हाम्रो ।’

पुतली र रूपाकलाजस्तै स्वास्थ्य बिमाका कारण समयमै रोग पहिचान गरेर उपचार गर्ने र नियमित स्वास्थ्य जाँच गर्नेको संख्या गुल्मीमा बढ्दो छ । स्वास्थ्य जाँच र उपचार निःशुल्क हुने भएपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामै बिमाबापत बिरामीले ८० लाख ५७ हजार ५ सय १८ रुपैयाँ बराबरको स्वास्थ्य जाँच र उपचार निःशुल्क पाएको गुल्मी जिल्ला अस्पतालका अध्यक्ष गोपालप्रसाद पाण्डेले जानकारी दिए । ‘त्यसमध्ये नाम दर्ता, एक्सरे, ल्याब टेस्ट, यूएसजी, ईसीजीबापत ४३ लाख ८० हजार ७० रुपैयाँ छुट भएको छ,’ उनले भने, ‘बिरामीले लगेको औषधि खरिदमा ३६ लाख ७७ हजार ४ सय ४८ पनि बिमाबापत छुट पाएका छन् ।’

बुढेसकालमा उपचारका लागि भनेर रकम संकलन गर्ने चलन छैन । यस्तो अवस्थामा स्वास्थ्य बिमाले उपचारमा निकै ठूलो सहयोग गरेको रेसुंगा नगरपालिका–८ निवासी ५८ वर्षीया उमकला श्रीसले बताइन् । ‘बूढो भइएला भनेर वैंशमा पैसा सँगालिएन र अहिले बिरामी हुँदा उपचारमा समस्या भएको छ । तर, धन्न पोहोर कात्तिकमा बिमा गरियो र सजिलो भएको छ,’ उनले भनिन्, ‘मलाई त जँचाउन हप्ताको सात सय लाग्छ, दबाइलाई पनि उत्ति । अहिले बिमा गरेपछि त धेरै स्वुिधा भएको छ ।’

बिमाले रोग लागेर उपचारमा मात्र होइन, आफ्नो स्वास्थ्य परीक्षण गरेर ढुक्क हुन समेत पाइएको बिमा गर्नेहरूको भनाइ छ । एक व्यक्तिलाई मात्र होइन, बिमाले गर्दा परिवारकै उपचारमा निकै सुविधा भएको रेसुंगा ८ कै पुष्पा श्रीसले बताइन् । ‘अहिले नै श्रीमान्को हात फ्याक्चर भएर अप्रेसन गर्न १८ हजार सहुलियत भयो, मैले पनि अस्ति ४५ सय बराबरको होलबडी चेकजाँच गरें,’ उनले भनिन्, ‘जम्मा ३५ सय तिरेर बिमा गरेका हामी परिवारका सबैले चेकजाँच गरिरहेका छौं ।

जिल्ला अस्पतालका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा १५ हजार ९ सय ७५ जनाले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । जसमध्ये जन्मेदेखि ९ वर्षसम्मका १ हजार २ सय ७१, १० देखि १९ वर्षका १३ सय २८, २० देखि ५९ सम्मका ९ हजार ८ सय ९३ र ६० भन्दा माथिका ३ हजार ४ सय ८३ जना रहेको अस्पतालका सूचना अधिकारी डा. सुरज पोखरेलले बताए । उनका अनुसार स्वास्थ्य बिमाको सुविधा लिनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । स्वास्थ्य बिमाका कारण पछिल्लो समयमा अस्पतालमा जाँच र उपचार सेवा लिन आउनेको चाप पनि अत्यधिक छ ।

रोल्पामा प्रभावकारी भएन

स्वास्थ्य बिमा बोर्डले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम रोल्पामा प्रभावकारी बन्न सकेको छैन । सरकारले स्वास्थ्य बिमा गर्न सबैलाई प्रेरित र आकर्षित गरे पनि रोल्पामा बिमाप्रति जनचासो न्यून देखिएको हो ।

जिल्लामा कार्यरत स्वास्थ्य बिमा बोर्डका कर्मचारी सक्रिय बन्न नसक्दा तथा स्वास्थ्य संस्थाले सहज व्यवहार नगर्दा स्वास्थ्य बिमाप्रति आकर्षण नबढेको बताइन्छ । स्वास्थ्य बिमा बोर्डका कर्मचारीले घरै पुगेर स्वास्थ्य बिमा बनाउन पहल गर्नुपर्ने सरकारी निर्णय छ । तर, रोल्पामा पहिलोपटक विमितमध्ये थोरैले मात्रै परिचयपत्र नवीकरण गरेका छन् । स्वास्थ्य बिमा बोर्ड जिल्ला संयोजक सागर पौडेलले पहिलोपटक ७ हजार घरधुरीले बिमाको परिचयपत्र बनाएकामा त्यसको आधाभन्दा कमले मात्रै नवीकरण गरेको बताए । ‘स्वास्थ्य बिमा बोर्डको निर्देशन अनुसार हरेक वडामा रहेका कर्मचारीलाई सहयोग गर्न जनप्रतिनिधिसँग आग्रह गरिएको छ । तर, खास सहयोग पाइएको छैन,’ उनले भने ।

जिल्लामा करिब ४४ हजार घरधुरी छन् । तथ्यांक अनुसार ३८ हजार घरधुरीमा बिमा अभियान पुग्न सकेको छैन । स्वास्थ्य बिमा बोर्डका अनुसार हरेक ७ जनाको परिवारलाई ३ हजार ५ सयमा एक वर्षका लागि विमित गर्न सकिन्छ । प्रत्येक ७ जनालाई तोकिएको स्वास्थ्य संस्थाबाट वर्षमा १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गर्न सकिने प्रावधान रहेको बिमा बोर्डका जिल्ला संयोजक पौडेलले बताए । तर, जनप्रतिनिधिको सहयोग नभएका कारण स्वयंसेवी तरिकाले खटिएका बिमाकर्तालाई प्रभावकारी परिचालिन गर्न नसकिएको उनले बताए ।

जिल्ला अस्पताल रोल्पाका सूचना अधिकारी कुलबहादुर डाँगीले जिल्लामा विमितहरूको पहिलो सेवा बिन्दु रोल्पा अस्पताल भएकाले बिरामीलाई स्वास्थ्य बिमा गराउन प्रेरित गरिएको बताए । ‘हामीले बिरामीलाई बिमा गराउन र स्वास्थ्य बिमा कार्यक्रमबाट लाभ लिन आग्रह गर्ने गरेका छौं,’ उनले भने । सकेसम्म विमितलाई सेवा प्रवाह गर्न सहज वातावरण निर्माण गर्न जोड दिइएको उनले बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर बुढाले अघिल्लो आर्थिक वर्षमा स्वास्थ्य बिमाबाट ६० लाख रकम पाउन बाँकी रहेको बताए । विमितका लागि प्रथम तथा एक मात्र सेवा बिन्दु जिल्ला अस्पताल भएकाले दुर्गम र अन्य गाउँपालिकाबाट बिरामी आउन असहज हुने भएकाले स्वास्थ्य बिमाप्रति आकर्षण कम भएको हुन सक्ने अस्पतालका सूचना अधिकारी डाँगीले बताए ।

प्रकाशित : कार्तिक १३, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?