कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसलाई आफन्तले नै बेचे

उनले बिहान १० देखि साँझ ७ बजेसम्म यौन केन्द्रमा काम गर्नुपर्थ्यो । साँझ डेरामा फर्केपछि पुनः पतिले आफ्ना सम्पर्कका मान्छेसित पठाउँथे ।

नेपालगन्ज/बुटवल — उनी भर्खर १५ वर्षमा टेकेकी छन् । ५ कक्षा पढेर विद्यालय छोडेकी हुन् । घरकै भाउजूले के कुरामा उनलाई गाली गरिन्, मन दुख्यो । गाउँकै काकी नाता पर्ने कमला बोहराको घरमा पुगेर रुन थालिन् ।

जसलाई आफन्तले नै बेचे

काकीले किशोरीलाई एक जना राम्रो केटा देखेको भन्दै विवाह गरेर घरजम गर्न सुझाइन् । किशोरी तत्काल विवाह गर्न राजी पनि भइन् । खजुरा गाउँपालिका–६, सिमलघारीमा साउनको पहिलो साता भएको घटना हो यो ।

काकी बोहराले किशोरीलाई कञ्चनपुर जिल्लाको दोधारा–चाँदनीका २२ वर्षीय विष्णु बादीसँग मोबाइलमा कुरा गराइदिइन् । विष्णुले आफू राम्रै परिवार भएको भन्दै दिदी लक्ष्मी बादीलाई लिन पठाउने जवाफ दिए । ‘कुरा भएको भोलिपल्टै मलाई बिहे गर्ने भनेको केटाले लिन आफ्नो दिदी पठायो । म कमला आन्टीको सम्पर्कमा थिएँ । उहाँले आजै भागेर जानुपर्छ भन्नुभो,’ ती किशोरीले भनिन्, ‘अन्टीले मलाई चोकसम्म पुर्‍याउनुभो । लक्ष्मीले मलाई भगाएर कोहलपुरसम्म पुर्‍याइन् ।’

उनका अनुसार लक्ष्मीले कोहलपुरको सुन्दर बस्तीको एक घरमा रातभरि राखिन् । उनले जुन घरमा राखेकी थिइन्, त्यो घर विष्णुको भएको भन्दै फकाइन् । ‘हामी बसेको घर र जग्गा मेरै भाइको हो । अब तिमी यहीं बस्ने हो भन्दै फकाए,’ किशोरीले भनिन्, ‘प्रलोभनमा फसें । अनि, बिहानै मलाई दोधारा–चाँदनीको एक गाउँ पुर्‍याइयो । त्यहाँ केटाको घर देखेपछि यिनीहरूले मलाई फसाए भन्ने लाग्यो ।’ किशोरीलाई एक रात त्यही गाउँमा राखियो । केटाले भोलिपल्ट भारत घुम्न जाने प्रस्ताव गरेको उनले बताइन् । उता घरबाट भागेर आएको कुरा दाइभाउजूलाई थाहा भइसकेको थियो । ‘दाइ र भाउजूले तिमी कहाँ छौ, लोकेसन देऊ भन्दै फोन गरिरहनुभएको थियो । यता केटा र उसको दिदीले आफन्तकहाँ घुम्न आको भनेर जवाफ फर्काउन लगाउँथे,’ किशोरीले सुनाइन्, ‘म फसिसकेकी छु भनेर पूर्ण विश्वास लागिसकेको थियो । त्यसैले म घर जान्छु भन्दै जिद्दी गर्न थालें ।’

यता किशोरीका दाइले बहिनी हराएको उजुरी बाँके प्रहरीमा दर्ता गराएपछि खोजी कार्य सुरु भयो । शान्ति पुनःस्थापना केन्द्र नेपालगन्जले दोधारा–चाँदनीस्थित प्रहरी चौकीमा सम्पर्क गरेर घटनाबारे जानकारी गराएको थियो । स्थानीय प्रहरीले खोजी गरी ती किशोरी र लक्ष्मीलाई प्रहरी चौकी हाजिर गरायो । किशोरीले आफूलाई विष्णु बादी, कमला बोहरा र लक्ष्मी वादीले प्रलोभनमा पारेर ल्याएको बयान दिएपछि उनको उद्धार गरिएको हो । घटनामा संलग्न भएको आरोपमा कमला र लक्ष्मी पक्राउ परेका छन् । बिहे गर्छु भन्ने विष्णु सम्पर्कविहीन छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानले नाबालिकालाई बिहे गर्ने/गराउने भन्दै घरबाट भगाउनेहरूविरुद्ध जाहेरी दर्ता भई अनुसन्धान भइरहेको बताए । उनले अदालतबाट म्याद थप गराएर मुद्दाको प्रक्रिया अगाडि बढेको जनाए । शान्ति पुनःस्थापना केन्द्र नेपालगन्जका सुपरभाइजर डोलमाया गुरुङले किशोरीलाई बिक्री गर्ने उद्देश्यसहित खजुराबाट महेन्द्रनगरसम्म पुर्‍याएको घटनाले पुष्टि गरेको जनाइन् ।

पत्नीलाई बिक्री

पैसाको प्रलोभनमा परेर अर्घाखाँचीका एक युवकले आफ्नै पत्नीलाई यौनधन्दाका लागि बेचेको खुलेको छ । अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ का २५ वर्षीय युवकले आफ्नी पत्नीलाई भारतको दिल्लीस्थित एक यौन केन्द्रमा २ लाख ५० हजार भारतीय रुपैयाँमा बेचेका हुन् । प्रहरीले उद्धार गरेपछि घटना बाहिर आएको हो । २१ वर्षीया युवतीकी एक वर्षीया छोरीसमेत छिन् । पीडितका अनुसार उनले बिहान १० देखि साँझ ७ बजेसम्म यौन केन्द्रमा काम गर्नुपर्थ्यो । साँझ डेरामा फर्केपछि पुनः पतिले आफ्ना सम्पर्कका मान्छेसित पठाउँथे । त्यसका लागि घरदेखि रेस्टुरेन्टसम्म पुग्नु पर्थ्यो । युवकमाथि रूपन्देही जिल्ला अदालतमा साउन १२ मा बेचबिखनविरुद्धको मुद्दा दर्ता भएको छ ।

रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले आरोपित युवालाई पक्राउ गरिएको बताए । पीडित युवती भने माइतीको संरक्षणमा छिन् । उनको शरीरभरि कुटपिटका दाग छन् । मानसिक रूपमा समेत उनी विक्षिप्त छन् । पीडित युवतीका अनुसार पतिले एक वर्षदेखि नै पतिपत्नी सँगै दिल्ली जाने र धेरै कमाउने कुरा गरिरहन्थे । तर, उनले मानेकी थिइनन् । गत वैशाखमा छोरी बोकेर हिँडेपछि उनी पतिसँगै दिल्ली पुगेकी थिइन् । कृष्णनगरको सीमा कटेपछि पतिले मोबाइल खोसेर सबै नम्बर डिलिट गरिदिए । नेपालमा कसैसित सम्पर्क गर्न दिएनन् । दिल्ली गएपछि आफूले बेचेको कुरा सुनाए । खुरुखुरु भनेको माने डेरामा आउन र छोरीसित भेट्न दिने, नत्र आउनै नमिल्ने गरी बेचिदिने भनेर धम्काए । त्यसपछि युवती जसोजसो भन्यो त्यसै गर्न थालिन् ।

दिनरातको यौन शोषण र यातना युवतीलाई बेहोर्नुपर्थ्यो । पछि एक जनामार्फत फोन गर्न लगाएर युवतीले बुबालाई आफ्नो अवस्थाबारे जानकारी दिएकी थिइन् । रूपन्देही प्रहरीका अनुसार युवतीका बाबुले असार २५ मा छोरी दिल्लीमा यातना पाएर अलपत्र परेको उजुरी गरेका थिए । तत्पश्चात् प्रहरीले आफन्तसहित बाबुलाई दिल्ली पठाएको थियो । आफन्तले दिल्ली प्रहरी र महिला आयोगको सहयोगमा साउन २ मा उनको डेराबाटै उद्धार गरेका थिए । युवतीलाई केही दिन भारतीय आश्रममा राखेर मात्रै नेपाल ल्याइएको प्रहरी उपरीक्षक थापाले बताए । प्रहरी अनुसन्धान अनुसार आरोपित युवा पहिल्यैदेखि मानव बेचबिखन र अवैध ओसारपसारमा संलग्न थिए । उनीविरुद्ध युवतीलाई प्रलोभनमा पारेर भारत लैजाने र बेच्ने गरेका उजुरी छन् ।

प्रकाशित : श्रावण २०, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?