कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना अस्पताल बनाउँदै पालिका

रुकुम पूर्व र गुल्मी — गत वर्ष रुकुम पूर्वको भूमे गाउँपालिका–२ स्थित काँक्रीमा बनाइएको अस्थायी क्वारेन्टाइन स्थललाई अहिले कोरोना अस्पतालमा रूपान्तरित गरिएको छ । उक्त अस्पतालमा एक जना एमबीबीएस चिकित्सक कार्यरत छन् । ५० बेडमध्ये केहीमा अक्सिजन जडान गरिएको छ । गाउँपालिकामा बुधबारसम्म एक जनामा मात्रै संक्रमण पुष्टि भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमै उपचार भइरहेको छ ।

गाउँ कार्यपालिकाको गत वैशाख १६ गतेको बैठकले यसअघि रहेको ५० बेडको क्वारेन्टाइनलाई अस्थायी कोभिड अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको थियो । जसअनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । गाउँपालिकाका अन्य स्वास्थ्यचौकीमा रहेका अक्सिजन सिलिन्डर जम्मा गरेर अहिले कोभिड अस्पतालमा ल्याइएको हो ।

‘गाउँपालिकाका पाँचवटा स्वास्थ्यचौकीमा रहेका अक्सिजन सिलिन्डरमध्ये चारवटा अक्सिजन कोभिड अस्पतालमा ल्याई जडान गरेका छौं,’ अध्यक्ष बुढाले भने । अहिलेसम्म अस्पतालमा कसैलाई राख्न नपरे पनि भोलिका दिनमा अवस्था भयावह हुन सक्नेतर्फ सतर्क रहेको गाउँपालिकाले बताएको छ । कोरोना भए, नभएको परीक्षणमा भने सहजता नभएको गाउँपालिकाले जनाएको छ । जिल्लामा आएका दुई सय एन्टिजेन जिल्लामै राखेपछि परीक्षणमा समस्या भएको अध्यक्ष बुढाले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा हरेक पालिकामा ५०/५० वटा किट दिने र त्यसैबाट परीक्षण गर्ने निर्णय भए पनि जिल्लाले किट स्थानीय तहमा नपठाउँदा परीक्षणमा असहजता आएको अध्यक्ष बुढाले बताए । संक्रमितको संख्या बढ्दै गएपछि गुल्मीका स्थानीय तहले अक्सिजनजडित आइसोलेसन निर्माणलाई तीव्रता दिएका छन् । स्कुल भवन, स्वास्थ्यचौकी र अन्य भवनमा १२ स्थानीय तहमध्ये कतै कोभिड अस्थायी अस्पताल र धेरैले आइसोलेसन बनाउँदै छन् ।

इस्मा गाउँपालिकाले वडा–४ मा पाँच वेडको अक्सिजन सिलिन्डरसहितको अस्थायी कोभिड अस्पताल र २० बेडको आइसोलेसन बनाएको छ । अस्पतालमा १० वटा अक्सिजनका सिलिन्डर छन् । मुसीकोट नगरपालिकाले १६ बेडको आइसोलेसन निर्माण गरेको छ । अक्सिजनजडित आइसोलेसन बनाइएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । वडास्तरमा धमाधम निर्माण गरिँदैछ । पालिकाभित्र ५९ जना संक्रमित होम आइसोलेसनमा छन् । गुल्मी दरबार गाउँपालिकाले स्वास्थ्यचौकी भवनमा पाँच बेडको अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गुल्मी भित्रिने पाल्पाको सीमा रिडीमा हेल्थ डेस्क स्थापना गरिएको छ । गुल्मी भित्रिनेको थर्मल गनले ज्वरो नापिन्छ । यहाँ १० बेडको आइसोलेसन छ । एउटा अक्सिजन सिलिन्डर छ ।

सदरमुकामको रेसुंगा नगरपालिकाले स्थानीय स्कुलमा २० बेडको आइसोलेसन बनाएको छ । निजी क्षेत्रको रेसुंगा अस्पतालमा पनि आइसोलेसन बेड बनाउने तयारी गरेको छ । सबै स्वास्थ्यचौकीमा आइसोलेसन बेड वार्ड राख्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । अहिले १ सय ५० जना होम आइसोलेसनमा छन् । धुर्कोट गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित जनप्रतिनिधिको मोबाइल टोली निर्माण गरेको छ । सबै वडामा सिअहेब, अहेब, हेल्थ असिस्टेन्टसहितको टोलीलाई धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत जनक पाठकले संयोजन गरेका छन् ।

बरबोटमा पाँच बेडको कोभिड अस्थायी अस्पताल निर्माण गरिएको छ । ५० बेडको गुल्मी अस्पतालमा आईसीयू सुविधा छैन । अक्सिजन सिलिन्डरसहितको ६ वटा बेड रहेका छन् । आईसीयू सुविधा नभएकाले जटिल बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रमुख डा. उत्तम पाच्यले बताए ।

प्रकाशित : वैशाख २५, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?