कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोरोना उपचार गर्न मेडिकल टिम माग

आर्थिक अभाव भएकाले तत्काल १५ करोड रूपैयाँ सहयोग गर्न डीसीसीएमसीको आग्रह

नेपालगन्ज/बर्दिया — बाँकेको नेपालगन्जमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सहयोगका लागि संघीय सरकारलाई गुहारेको छ । संक्रमितहरूको संख्या बढ्दै गएकाले उपचारमा जनशक्ति अभाव भएपछि मेडिकल टिमसहित चिकित्सक पठाउन माग गरिएको हो ।

कोरोना उपचार गर्न मेडिकल टिम माग

भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा कार्यरत जनशक्तिबाट मात्र कोरोनाका बिरामीको उपचार सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । अक्सिजन सपोर्ट एवं उपचारका लागि अस्पताललाई आर्थिक अभाव झेल्नुपरेको हो । त्यसका लागि संघीय सरकारसँग १० करोड र प्रदेश सरकारसँग ५ करोड आर्थिक सहयोग माग गरिएको छ ।

डीसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गेलालको अध्यक्षतामा बसेको बैठकले जनशक्ति उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको हो । बिरामीको संख्या थपिएपछि अस्पतालमा बेड अभावका कारण भेरी र शिक्षण अस्पताल नेपालगन्जमा थप दुई/दुई सय बेड थप्न अनुरोध गर्ने निर्णय गरिएको छ । स्वास्थ्यकर्मीलगायत जनशक्ति अभाव भएका कारण हाल कोरोना वार्ड स्थापना गरेका दुई अस्पतालले संक्रमितलाई उपचार दिन सक्ने अवस्था छैन । ‘बेड थपेर मात्र समस्या समाधान हुँदैन । अक्सिजनलगायत आवश्यक पर्छन्,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल विभाग प्रमुख फिजिसियन डा. राजन पाण्डेले भने, ‘मुख्य कुरा जनशक्ति हो । हामीलाई जनशक्ति अभाव भइरहेको छ ।’

कोरोनाको संक्रमण नियन्त्रणका लागि अक्सिजन सपोर्टसहितको आइसोलेसन सेन्टर स्थापना, अस्पतालहरूमा अक्सिजनसहितको बेड थप्न, आईसीयू र भेन्टिलेटरको संख्या बढाउन स्रोतहरूको अभाव भएकाले केन्द्र र प्रदेश सरकारसँग आर्थिक सहयोग माग गरिएको बताइएको छ ।

कोरोनाका बिरामीको उपचार गरिरहेका भेरी अस्पताल र शिक्षण अस्पताल नेपालगन्जलाई आवश्यक पर्ने मेडिकल उपकरण र भेन्टिलेटर लागि सहयोग गर्न सरकारसँग माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार कोरोना नियन्त्रणका लागि तत्काल खर्च गर्न सक्ने गरी नेपालगन्ज उपमहानगरपालिकाले तीन लाख, कोहलपुर नगरपालिकाले दुई लाख र अन्य ६ गाउँपालिकाले एक/एक लाख विपद् व्यवस्थापन समितिको खातामा रकम जम्मा गर्ने बताएका छन् । उक्त रकमबाट एम्बुलेन्स, शववाहन मर्मत, आवश्यक पर्ने इन्धन, स्वाब संकलनदेखि शव व्यवस्थापनसम्म आवश्यक पर्ने पीपीईलगायत सुरक्षा सामग्री खरिद गर्न सकिनेछ । जिल्ला अस्पताल बर्दियामा पनि जनशक्तिको अभावले बिरामीको उपचारमा भ्याइ–नभ्याई भएको छ । सदरमुकामस्थित ५० शय्याको जिल्ला अस्पतालमा ५९ जनाको दरबन्दी भए पनि ३१ जनाबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । १४ जना स्थायी चिकित्सकको दरबन्दीमा तीन जना कार्यरत रहेको अस्पतालले जनाएको छ । तीमध्ये एक जना विशेषज्ञ चिकित्सक मेडिकल सुपरिन्टेन्डेन्ट सुभाष पाण्डेय हुन् । करारमा सात जना चिकित्सक भए पनि पर्याप्त नभएको मेसु पाण्डेयले गुनासो पोखे ।

जिल्ला अस्पतालमा दैनिक करिब तीन सय बिरामी बहिरंग सेवामा उपचारका लागि आउने गरेका छन् । अस्पतालमा जनशक्तिसँगै अहिले अक्सिजन सिलिण्डर पनि पर्याप्त छैनन् । इमर्जेन्सी र भर्ना हुँदै आएका बिरामीका लागि अब १७ वटा सिलिण्डर रहेका छन् । नेपालगन्जबाट आपूर्ति हुने सिलिन्डर पनि अभाव हुँदै गएको छ । यस अवस्थामा बर्दियामा यसको असर पर्ने चिकित्सकले बताए ।

प्रकाशित : वैशाख १२, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?