कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पोखरामा रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने निर्णय पुनर्विचार गर्न माग

पोखरामा रात्रीकालीन व्यवसाय सञ्चालन हुँदा शान्ति सुरक्षामा खलल पुगेको भन्दै व्यवसायीहरुले उक्त निर्णय पुनर्विचार गरी आवश्यक परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
दीपक परियार

पोखरा — असार १५ गते बिहान ७ बजे लेकसाइडको स्ट्रिट नम्बर १६ मा रहेको क्लब सिक्सटिन अघि होहल्ला भयो । प्रहरी पुग्दा क्लबका ‘बाउन्सर’ले एकजना युवालाई निर्घात कुटपिट गरिरहेका थिए । प्रहरीले केही बाउन्सरलाई नियन्त्रणमा लियो । कुटाइ खाएका पोखराका आयुष थापाकी आमा हिरा थापाले कुटपिट गर्ने बाउन्सर रिजन गौचन र विवेक गुरुङविरुद्ध असार १७ मा जाहेरी दिइन् ।

पोखरामा रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने निर्णय पुनर्विचार गर्न माग

दुई बाउन्सरविरुद्ध गाली गलौज, हातपात, कुटपिटसहित अभद्र व्यवहारमा मुद्दा चल्यो । असार २७ मा ‘पोखराका पर्यटन व्यवसायीहरु’को तर्फबाट भन्दै वडा प्रहरी कार्यालय बैदामका डीएसपी राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो ।

डीएसपी श्रेष्ठले लेकसाइडका व्यवसायीसँग रकम असुली गरेको र रकम नदिनेलाई अप्ठेरोमा पारेको आरोप उक्त निवेदनमा थियो । अख्तियारमा उजुरी परेको साताभित्रै डीएसपी श्रेष्ठको बैदामबाट सरुवा भयो । प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरुको सरुवा एक वर्षमा गर्नुपर्ने व्यवस्था भए पनि उनको ९ महिनामै सरुवा भएको हो ।

उनी २०८० असोजमा बैदाम हाजिर भएका थिए । साउन ३ मा क्लब सिक्सटिनका बाउन्सर धरौटीमा रिहा भएका छन् । श्रेष्ठको साउन ४ मा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा भयो । यता, पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले भने सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले श्रेष्ठविरुद्ध कतै उजुरी नगरेको बताएका छन् ।

पोखरामा क्रियाशिल १५ वटा पर्यटनसँग सम्बन्धित संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पर्यटन व्यवसायीसँग घुस मागिएको भनेर पर्यटन व्यवसायीको तर्फबाट आवेदन परेको भन्ने विषयले गम्भीर बनाएको बताएका छन् ।

‘हालसम्म यस्तो प्रकारको अनियमितताको विषयमा पोखरा पर्यटन परिषद् वा यसमा आवद्ध कुनै पनि संस्थाले, कुनै पनि व्यवसायीले गुनासो नगेरेको कुरा प्रष्ट पार्नै चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्तिले आफ्नो स्वार्थका लागि अमूर्त स्रोतको आधारमा दिएको निवेदनलाई नै आधार मानी कारवाही गर्दा भविष्यमा इमान्दारिताका साथ काम गर्ने व्यक्तिको मनोबल नगिरोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ ।’

उक्त व्यहोराको ज्ञापन पत्र व्यवसायीले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दुर्गा सिंह र कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापालाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतले भने व्यक्तिगत रिसइबि साँधेर क्लब सिक्सटिनका सञ्चालक रमेश कार्कीले अख्तियारमा उजुरी दिएको दाबी गरे ।

‘त्यहाँ क्लबकै कारण धेरै होहल्ला भयो, दिनदिनै झैझगडा भयो, पर्यटक, स्थानीय र अरु व्यवसायीलाई पनि बाधा पुग्यो भनेर पटकपटक प्रहरीकोमा निवदेन आएको छ,’ उनले भने, ‘प्रहरीले आफ्नो कर्तव्य पूरा गर्दा निराधार आरोप लगाइयो ।’ २०८० चैत ४ मा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दा लेकसाइडलाई २४ घण्टा खुला राख्ने समेत घोषणा भएको थियो ।

रात्रीकालीन् व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई ४२ बुँदे शर्त अनिवार्य पालना गर्नुपर्ने बताइएको थियो । पोखरा २४ घण्टा खुले पनि वातावरण भने शान्ति हुन नसकेको पर्यटन व्यवसायीले बताएका छन् । डान्स बार, डिस्को, क्लब लगायत ध्वनीजन्य व्यवसाय मापदण्ड बिना रातभर खुला हुँदा लेकसाइडको शान्ति सुरक्षामा खलल पुगेको व्यवसायीको भनाइ छ ।

कोलाहलपूर्ण अवस्थाको सुधारका लागि २४ सैँ घण्टा खोल्ने निर्णयमाथि नै पुनर्विचार गर्नुपर्ने व्यवसायीको धारणा छ । पर्यटन व्यवसायीका १४ वटा संस्थाले लेकसाइडमा शान्ति सुरक्षा कायम गर्न रात्रिकालीन् व्यवसाय खुला गर्ने समयमा आवश्यक परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कसैलाई दखल नदिइ शान्त रुपमा पर्यटकलाई भोजनको व्यवस्था गर्ने गरी रेस्टुरेन्ट खोल्न दिन माग गरेको भए पनि वातावरण धमिल्याउने गरी रातभरि व्यवसाय खोल्ने माग व्यवसायीको नरहेको बताउँछन् । ‘परिस्थिति हामीले सोचेअनुसार अनुशासित हुन सकेन,’ ज्ञापनपत्र बुझाउँदै उनले भने, ‘रातभरि विभिन्न प्रकारका संगीत बजाएर पर्यटक एवं स्थानीय नागरिकले सुत्न, आराम गर्न, पढ्न र सुरक्षित रुपले आफ्नै निवासमा बस्न पनि नपाउने अवस्था सिर्जना भएको छ ।’

उक्त मापदण्डको बुँदा ८(ग) मा लाइभ म्युजिक, पब, डान्स बार, डिस्को, दोहोरी लगायतमा प्रयोग हुने उपकरण ‘साउन्डप्रुफ’ (ध्वनीप्रतिरोधी) हुने उपाय अवलम्बन गरी ध्वनी प्रदूषण तथा होहल्ला नहुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मापदण्ड पूरा नगरी सञ्चालन गरिएको रात्रिकालीन् व्यवसायको अनुगमन गरिने बताए । ‘शान्त र सुरक्षित वातावरण सिर्जना गरी सबैखाले व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्ने दायित्त्व प्रशासनको हो,’ उनले भने, ‘हामी यस विषयमा गम्भीर छौं ।’

प्रकाशित : श्रावण ७, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×