कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिरोमा परिवार गुमाएका बालकलाई कक्षा १२ सम्म निःशुल्क पढाइने

आश गुरुङ

लमजुङ — पहिरोमा परेर परिवार गुमाएका लमजुङको क्व्होलासोंथार गाउँपालिका ३, बगुमका ११ वर्षीय निरज गुरुङलाई बेंसीसहरस्थित युनिभर्सल एकेडेमीले १२ कक्षासम्म नि:शुल्क पढाउने भएको छ ।

पहिरोमा परिवार गुमाएका बालकलाई कक्षा १२ सम्म निःशुल्क पढाइने

गाउँकै घलेउत्तरकन्या मावि कक्षा ६ मा पढ्दै गरेका निरजलाई एकेडेमीले कक्षा ५ मा भर्ना गरेको छ । एकेडेमीका सञ्चालक सदस्य एवं पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले १२ कक्षासम्मको पढाइ निःशुल्क गरिने बताए ।

असार ११ गते रातिको पहिरोले निरजका आमा ३७ वर्षीया पञ्चकुमारी गुरुङ, बहिनी ५ वर्षीया निष्मा गुरुङ र हजुरबुवा ७० वर्षीय रुद्रमान गुरुङको मृत्यु भएको थियो। निरज भने बर्खे बिदा भएपछि छिमेकी गाउँ घाम्राङबाट फर्केका काका नाता पर्ने अमर गुरुङसँग सुत्न गएका कारण जोगिए । हजुरआमा लिलाकुमारी नजिकै घनपोखराको फ्रेंजोस्थित छोरीज्वाइँको घर गएका कारणले जोगिए । निरजका बुवा कुमबहादुरको ४ वर्षअघि करेन्ट लागेर निधन भएको थियो ।

युनिभर्सले एकेडेमीका प्रिन्सीपल विमल अधिकारीले निरजलाई कक्षा १२ सम्म पढाउने र उनका लागि कुनै शुल्क नलिने बताए । ‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब, जेहेन्दार तथा असहाय १० प्रतिशतलाई छात्रावृत्ति प्रदान गर्ने हो । निरजलाई हामी कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा पढाउँछौं,’ उनले भने ।

एकेडेमी सञ्चालक समिति अध्यक्ष ओमबहादुर घिमिरेले कक्षा १० सम्म निःशुल्क पढाइने र कक्षा १२ सम्म उनको रोजाइको विषय एकेडेमीमा भएको अवस्थामा कक्षा १२ सम्म निःशुल्क पढाइने बताए ।

एकेडेमी सञ्चालक सदस्य घलेका अनुसार निरजलाई छात्रावासमा राखेर पढाउने व्यवस्था गरिएको छ । यसका लागि ५० प्रतिशत छुटमा राखेर पढाउने सहमति छात्रावास सञ्चालकहरुसँग गरिएको छ । ५० प्रतिशत छात्रवास शुल्क निरजका नाममा जम्मा हुने रकमको ब्याजबाट बुझाइने उनले बताए ।

कृषक जागरण वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका घलेले निरजलाई सहकारीका तर्फबाट स्टेशनरी खर्चबापत वार्षिक १० हजार रुपैयाँ दिइने बताए । बेंसीसहरकै विद्यार्थी पुस्तक पसलले निरजलाई निःशुल्क किताबको व्यवस्थापन गरेको पसल सञ्चालक ताराराज घलेले बताए ।

क्व्होलासोंथार ३ का वडाअध्यक्ष आसबिर गुरुङले गाउँपालिकाको तर्फबाट किरियासहित तत्काल खर्चका लागि ७१ हजार ९ सय ४० रुपैयाँ पहिरोपीडितलाई सहयोग गरिएको बताए । वडा कार्यालयले १० हजार रुपैयाँ, रेडक्रसले भाँडाकुाडा र लत्तकपडा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पहिरो पीडित घरपरिवारलाई १५–१५ हजार रुपैयाँ, पोंचुकों तमू समाज पोखराले १५ हजार, तिजे उत्तरकन्या कृषि सहकारीले १३ हजार सहयोग गरेको आदर्श युवा क्लब बगुमका अध्यक्ष जुना घलेले बताए ।

पीडितलाई उत्तरकन्या रिल्दी घले समाज रामपुर चितवनले १ लाख ८० हजार रुपैयाँ, पीडित बालकका कान्छाबुवा हेमजङ गुरुङका साथी हेमन्त सारुमगरको नेतृत्वमा १ लाख १६ हजार रुपैयाँ २५ रुपैयाँमध्ये ५० हजार रुपैयाँ बालकलाई र ६६ हजार २५ रुपैयाँ बालकका हजुरआमा लिलाकुमारीलाई प्रदान गरिएको छ । पीडित परिवारलाई संघीय सरकारका तर्फबाट ७ लाख रुपैयाँ राहत प्रदान गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०८१ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×