कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बेनी–दरबाङ सडकको घुमाउनेमा २५ वर्षदेखि निरन्तर पहिरो, रोकथाम गर्ने कि विकल्प खोज्ने ?

घनश्याम खड्का

म्याग्दी — म्याग्दीको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकासमेत बाग्लुङको पश्चिम बुर्तिवाङ तथा ढोरपाटनहुँदै रुकुम जोड्ने सडक हो, बेनी–दरबाङ–मुना सडक । 

बेनी–दरबाङ सडकको घुमाउनेमा २५ वर्षदेखि निरन्तर पहिरो, रोकथाम गर्ने कि विकल्प खोज्ने ?

बेनी–दरबाङ–मुना सडकको सदरमुकाम बेनीदेखि १० किलोमिटर पश्चिम तातोपानी–बाबियाचौर सडक खण्डको घुमाउने भीरमा झरेको पहिरोले ८ दिनदेखि यातायात अवरुद्ध छ । घुमाउने भीरमा विगत २५ वर्षदेखि एकै स्थानमा पहिरो निरन्तर छ । पहिरो सडक खनेसँगै सुरु भएको हो । तर पहिरो रोकथाम गर्ने वा विकल्प खोज्ने प्रयास भने अहिलेसम्म कसैले गरेको छैन ।

‘म्याग्दीको पश्चिम भेग जोड्ने मुख्य सडक बेनी–दरबाङ सडकको घुमाउनेमा ७–८ दिनदेखि पहिरोले यातायात अवरुद्ध छ । वर्षाको कारण पहिरो निरन्तर रहेकोले अझै केही समय सडक खोल्न सक्ने सम्भावना पनि छैन,’ पूर्वाधार काार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर अर्जुन शर्माले भने, ‘यो पहिरो रोकथाम वा विकल्पको बारेमा फेसबुक र भाषणमा चर्चा हुने बाहेक कुनै निकायमा लेखापढी भएको छैन ।’

शर्माले थपे, ‘यो सडक हेर्ने जिल्लाको निकाय हामी नै हौं । विगतदेखि अहिलेसम्म यो पहिरो रोकथाम गर्ने कुनै अध्ययन भएको पनि भेटिँदैन । म्याग्दी खोलामा एउटा १८–२० मिटर लामो ट्रष्टब्रिज हुने हो भने वैकल्पिक बाटो तयार हुन्छ । त्यैपनि जिल्लाका सरोकारवालाले चासो राखेका छैनन् ।’

तत्कालीन जिल्ला विकास समितिले ०५६ साल मंसिरदेखि जिविसको २० लाख र पश्चिम भेगका २० गाविसको १–१ लाख बजेट जुटाएर बेनी–दरबाङ २४ किलोमिटर सडक खन्न सुरु गरेको हो । सुरु वर्ष फापरखेतसम्म १० किलोमिटर सडक निर्माण भएको थियो । बेनी–दरबाङ सडक खन्न सुरु गर्दा सदरमुकाम बेनीमा मोटर आइपुगेको थिएन ।

म्याग्दीकै जिल्ला विकास समितिको बजेटले पर्वत जिल्लाको मालढुंगादेखि सीमावर्ती मल्लाजबेनीसम्म ट्र्याक खोलेपछि सोही सडक खन्न ल्याएको डोजर कालीगण्डकी तारेर म्याग्दी ल्याइ बेनी–दरबाङ सडक खन्न सुरु गरिएको थियो । फापरखेतबाट भने तत्कालीन स्थानीय विकास मन्त्रालय अन्तर्गतको कृषि तथा स्थानीयस्तरका सडक आयोजना अन्तर्गत मालढुंगा–बेनी–दरबाङ सडक आयोजना, त्यसपछि डिर्लिप समेतका आयोजना जोडिन आएका हुन् ।

‘बेनी–दरबाङ सडक २५ वर्षअघि ०५५ सालमा सर्भेगरी ०५६ देखि मेरै नेतृत्वमा खन्न सुरु भएको हो । र फापरखेतको घुमाउने पहिरो पनि त्यही वर्षबाट चल्न थालेको हो । सुरु सुरुमा थोरै मात्रामा खस्ने भएकोले डोजर/स्काभेटरले पन्छ्याएर सडक सुचारु गरिन्थ्यो, अहिले पहिरो फैलिएकोले समस्या भएको छ,’ तत्कालीन जिल्ला विकास समिति म्याग्दीका सभापति रहेका नवराज शर्माले भने, ‘यो पहिरो व्यवस्थापन गर्ने धेरै प्रयत्न गरियो, सकिएन । अब भने वैकल्पिक बाटो नै प्रयोग गर्नु पर्ने अवस्था आएको छ । प्रयासहरू थालिएका छन्।’

जिल्लाको पश्चिम भेगको लाइफलाइन भनी चर्चा गरिएको घुमाउने पहिरो बेनी नगरपालिका-४ तातोपानीको फापरखेत र मंगला गाउँपालिका-२ सिमलचौर सिमामा पर्छ । करिब १ सय ५० मिटर दुरीमा फैलिएको यो सुख्खा पहिरो हो । माथी गेगर नै गेगर भएको भीर छ भने तल म्याग्दीनदी । पहिरोग्रस्त भिरालो पाखो गेग्रानयुक्त भएकोले सामान्य वर्षाहुँदा पनि गेग्रान बगाएर तल सडकमा थुपार्ने गरेको छ ।


अहिले बेनीबाट फापरखेत हुँदै म्याग्दी नदीमाथिको पक्की पुल तरेर पारी मंगला गाउँपालिका- ४ को पखेर बस्तीसम्म पुगिन्छ । पखेरमा यात्रु ओर्लेर करिब ५ सय मिटर पैदल दुरी हिँडेर म्याग्दीखोलाको अर्को झोलुङ्गे तरेर सिमलचौर पुगेर अर्को गाडी चढ्नु पर्ने बाध्यता छ । पखेर र सिमलचौर बिचमा म्याग्दी नदीमााथि अर्को मोटर पुल निर्माण गर्ने हो भने करिब ५ सय मिटर थप दुरीमा घुमाउने भीरको वैकल्पिक सडक तयार हुन्छ ।

‘घुमाउनेको पहिरोमा अहिलेसम्म करोडौं रकम बग्यो । कुनै उपलब्ध भएन । अब यो पहिरोको विकल्प खोज्ने समय आएको छ । हामीले पहल र प्रयत्न सुरु गरेका छौं । वैकल्पिक सडकका लागी जग्गासमेत व्यवस्थापन गरेका छौं । दुर्भाग्य यस्तै छ, आवश्यकताले नभइ पहुँचवालाको दयामायाँले बजेट पर्ने हुँदा हामीले सास्ती र गाली खाएका छौं,’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘लेखापढी अगाडि बढाउने कार्यालयहरू पनि उस्तै छन्, जति भने पनि नसुन्ने, नटेर्ने । हिउँदमा सुत्ने, बर्खा लागे चिच्याउने भएको छ ।’

प्रकाशित : श्रावण ४, २०८१ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×