कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मनाङको तिमाङ खोला पावरहाउसमा काठेपुल निर्माण

तिमाङ छहराको पुल नबन्दा मनाङसँग सडक सम्पर्कविच्छेद कायमै
आश गुरुङ

लमजुङ — मनाङको चामे गाउँपालिका-१ तिमाङखोला पावरहाउसमा रहेको काठेपुल बगाएको ठाउँमा पुनः काठेपुल निर्माण गरेर सवारी आवतजावत गराइएको छ ।

मनाङको तिमाङ खोला पावरहाउसमा काठेपुल निर्माण

तिमाङ खोलामा २०७८ असारमा आएको बाढीले बेलिब्रिज बगाएपछि बनाएको काठेपुल गत असार १७ गते राति आएको बाढीले पुनः बगाएको थियो । डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाले साढे ७ मिटर लम्बाई र ४ मिटर चौडाईको काठेपुल बनाएको छ । आयोजनाका सव ईन्जिनियर सुमन अधिकारीले सल्लालगायत काठ प्रयोग गरी काठेपुल निर्माण गरिएको छ । ‘हामीले करिब १०–११ मिटरका काठ प्रयोग गरेका छौं । पानी बग्न मिल्ने साढे ७ मिटरको ठाउँ निर्माण गरी काठे पुल बनाएका छौं,' उनले भने ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेका अनुसार शुक्रबारदेखि काठे पुल सञ्चालनमा आएको छ । तर, तिमाङ छहरामा पुल नबन्दा भने समस्या छ । ‘पुल नहुँदा मानिसलाई समेत हिँड्न गाह्रो थियो । नयाँ काठको पुल बनेपछि जिप, ट्रयाक्टर, मोटरसाइकल चलेको छ’ उनले भने ।

उनका अनुसार बेंसीसहरबाट नासों गाउँपालिका ९, दानक्युसम्म जिप सञ्चालन भइरहेको छ । पुल बनेपछि चामेबाट तल्लो क्षेत्र दानक्युको कैचु डाँडासम्म मोटर चल्न थालेको छ । ‘दानक्युबाट उकालो २०–२५ मिनेट हिँडेपछि कैचु डाँडा आइपुग्छ । तल झर्न कम समय लाग्छ, यो पुरानो बाटो हो’ उनले भने, ‘कैचु डाँडाबाट माथिल्लो क्षेत्र आउन अब समस्या छैन ।’

तिमाङ छहरामा भने पुल बनेको छैन । सडक आयोजनाका सबईन्जिनियर अधिकारीले तिमाङ छहराको लागि बेलिब्रिज माग गरिएको छ । अस्थायी रुपमा फलामको बिम राखेर पुल बनाउने तयारी गरिएको छ । फलामे बिम राख्नको लागि अड्याउने संरचना निर्माण गरिनुपर्छ । तर, छहरामा आएको बाढीले खोतलेर लगेपछि जग बसाउने ठाउँ नै नरहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए ।

‘हामीले आज (शुक्रबार) सुरक्षा निकायका सवै टोली पुगेर हेर्‍यौं । काठेपुल राख्न मिल्दैन । छहरामा पानी ठूलो आइरहेको छ । सवै खोतलेर लगेको छ । बेलिब्रिजका लागि कुरा भइरहेको छ, तत्काल हुने कुरा भएन । सडक आयोजनाका प्राविधिकहरुलाई भनेका छौं । केही दिनमा के गर्ने भनेर विकल्पहरु आउन सक्छन्,' उनले भने । तिमाङ छहराकै सानो छहरामा ग्रेग्रान थुप्रिए पनि क्षति भनेर ठूला हुन नपाएको र सफा गरिसकिएको सडक कार्यालयले जनाएको छ ।

नेपाली सेनाले २०६९ मा मनाङ सदरमुकाम चामेसम्मको ट्रयाक खोल्दा यी क्षेत्रमा काठेपुल राखिएको थियो । काठेपुल विस्थापित गर्दै ठूलो छहरा र सानो छहरामा स्ल्याव कल्भर्ट पुल निर्माण गरिएको थियो । दुई वर्षअघि निर्माण गरिएको स्ल्याव कल्भर्ट पुल असार १७ गते राति र १८ गते आएको बाढीले बगाएको हो ।

प्रकाशित : श्रावण ४, २०८१ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×