कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कालीगण्डकी करिडोरको बागलुङ खण्ड दुईसातामा खुल्यो

प्रकाश बराल

बागलुङ — दुई साता अघिदेखि पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोरको एक्लेसालमा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ ।

कालीगण्डकी करिडोरको बागलुङ खण्ड दुईसातामा खुल्यो

बर्सातपछि खसेको पहिरोलेअसार १४ गतेदेखिनै सडक अवरुद्ध थियो । एकतर्फी खुलाउने प्रयास भइरहेको बेला असार २४ गतेको बर्सात पछि यो सडक ठप्पै थियो । शुक्रबार बिहानदेखि उक्त सडकमा जिपहरु आउजाउ गर्न सक्ने भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

यो खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा मालढुंगादेखि कुश्मीसेरा जाने सडकको दुईवटा घुम्ती भने अझै बन्न सकेको छैन । यो खण्डमा सडक अझै गुड्न नसकेको हो । करिडोरको अन्य खण्डमा पनि दर्जन पहिरो छन् । तत्कालका लागि बागलुङको बलेवा तर्फका सवारी मात्र सञ्चालनमा आएको हो । करिडोरको सबै खण्डमा सवारी सञ्चालनमा ल्याउन भने तत्काल सम्भव नभएको प्रहरीले बताएको छ ।

करिडोर कार्यालय, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले करिडोर खुलाउने प्रयास गरेका थिए । लामो समयदेखि करिडोर अवरुद्ध हुँदा सदरमुकाम आउने दक्षिण बागलुङका एकसय बढी सवारी बलेवातर्फ रोकिएका थिए । किसानले दूध र तरकारी ढुवानी गर्न नपाएर सास्ती खेपेका थिए ।

कतिपय किसानले दूध जमाएर दही बनाएका थिए भने तरकारी पनि बजार पठाउन नपाएर नोक्सानी व्यहोरेको जैमिनी नगरपालिका-१ का अध्यक्ष विष्णु आचार्यले बताए । बिरामीले सदरमुकाम आउन नपाएर दुःख पाएका थिए । कतिपयले कालीगण्डकीको झोलुंगेपुल तरेर कुश्मा हुँदै पोखरासम्म जान बाध्य थिए ।

शुक्रबार अत्यावश्यक सामाग्री बोकेका पिकअप जिपहरु सदरमुकाम आएको मिलन डेरीका प्रोपाइटर खगेन्द्र शर्माले जानकारी दिए ।

प्रकाशित : श्रावण ४, २०८१ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×