कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

निर्माणाधीन बुर्तिवाङ बसपार्क साढे तीन वर्षदेखि अलपत्र

प्रकाश बराल

बागलुङ — बागलुङ सदरमुकामदेखि ९० किमी पश्चिममा रहेको बुर्तिवाङ बजार ढोरपाटन नगरपालिकाको मुकाम समेत हो । यहाँ दैनिक राजधानी काठमाडौ, पोखरा, बुटवल र सदरमुकामबाट सयौं यात्रु आवतजावत गर्छन् । मध्यपहाडी लोकमार्गको बाटो भएर पनि बुर्तिवाङमा दर्जनौं सवारी आइपुग्छन् ।

निर्माणाधीन बुर्तिवाङ बसपार्क साढे तीन वर्षदेखि अलपत्र

तर यहाँ निर्माण गर्न लागिएको बसपार्क भने साढे तीन वर्षदेखि अलपत्र छ । नजिकैको भुजीखोलाले कटान गर्ने स्थानमा बसपार्क निर्माण थाले पनि वर्षौदेखि काम पूरा नभएको हो ।

ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका तथा बडिगाड गाउँपालिकाको समेत यो व्यपारिक केन्द्र हो । गुल्मी, प्युठान, रोल्पा र रुकुमबाट पनि धेरै मानिस बुर्तिवाङमै किनमेल गर्न आउँछन् । सदरमुकाम भन्दा बढी चहलपहल हुन्छ । तर बसपार्क व्यवस्थित नहुँदा सडक दुर्घटनाको जोखिम बढी छ । वडा १ को भुजीखोला किनारमा बनाउन लागेको बसपार्कमा जग्गा बिबाद टुंगो लागेको छैन ।

७ करोडको डिपिआर बनाएर काम थालेको बसपार्कमा अहिलेसम्म २ करोड ४८ लाख खर्च भएको छ । बहुबर्षे ठेक्कामा नपरेपछि आयोजनाले सालबसाली रुपमा काम गराउँदा बसपार्क पनि कहिले बनिसक्ने यकिन नभएको हो ।

सडक साँघुरा हुँदा सवारीको जामले हैरानी खेप्नुपर्छ । पुराना बजारमा एकतर्फी सवारी मात्रै गुड्छन् । बसपार्क निर्माण थालेको तीन वर्ष भैसक्दा पनि पूरा भएको छैन । सडकमै गाडी पार्किङ गर्दा आवागमन अप्ठ्यारो छ ।

‘सडक ढाकिने गरी सवारी राखिन्छन्, जति गरे पनि हटाउन सकिएको छैन,’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले भने, ‘नयाँ बसपार्क बनिसक्यो भने केही कम गर्न सकिन्छ ।’

अधिकांश साँघुरा सडक भएकोले एकतर्फी बनाउन खोजे पनि स्थानीयबाट साथ पाउन कठिन भएको उनले बताए । यहाँ ट्राफिक प्रहरी समेत २ जना मात्रै व्यवस्थापन छ । साधन छैन । कुनै घटना भैहालेमा पनि तत्काल पुग्न कठिन भएको उनले बताए । बजारको बीचमा रहेको साँघुरो खेलमैदानमा बसपार्क छ । उत्तरगंगा माबिको तत्कालिन मैदानलाई बसपार्कको रुपमा प्रयोग गरिएको हो । हाल यो बसपार्कमा दर्जन गाडी पनि पार्क गर्न पुग्दैन ।

भुजीखोला किनारमा निर्माणाधीन नयाँ बसपार्क अलपत्र जस्तै छ । ६ रोपनीमा बन्दै गरेको बसपार्कले लोकमार्गमा गुड्ने लामो दुरीका सवारीसहितको क्षमता थेग्न नसक्ने स्थानीय छविलाल पाण्डेले बताए । आयोजनाले भने जग्गा व्यवस्थापन गर्न नसक्दा केही खरिद गरिएको र केही सार्वजनकि जग्गा मिलाएर बसपार्क बनाएको हो । लोकमार्गकै छेवैमा भएपनि पर्याप्त क्षेत्रफल भने छैन । बसपार्कको जग्गामा केही बिबाद समेत छ ।

‘बर्षेनी बजेट पनि थोरै आउँछ, बिबादै बिबादका बीच काम गर्नु परेको छ,’ आयोजनाका निमित्त प्रमुख रामकृष्ण गिरिले भने, ‘न पर्याप्त जमिन पायौं, न समुदायको सहयोग र साथ पायौं ।’ स्थानीय जितकुमारी माझीले आफ्नो जग्गामा बसपार्क परेको भन्दै पटक पटक अबरोध गर्ने र संरचना भत्काउने समेत गरेर हैरानी खेपेको गिरिले गुनासो गरे । सहरी आयोजना बनाउने भनेपनि सोचेझै कामगर्न नसकेको उनले बताए ।

बुर्तिवाङलाई नेपाल सरकारले २०७१ सालमै नमूना सहरमा सूचिकृत गरेको थियो । पछिल्लो ८ बर्षदेखि ‘बुर्तिवाङ नमूना सहरी बिकास आयोजना’ गठन गरेर कार्यालय समेत स्थापित छ । तर मुख्य सहरदेखि ५ किमी पश्चिम वडा २ को कुतथाप्ला भन्ने डाँडामा कार्यालय भवन छ । वडा ३ को भवरेटा भन्ने गाउँमा लगेर सिटीहल बनाइएको छ । कार्यालयदेखि सिटिहल पुग्न २० मिनेट बढी समय गाडीमै लाग्छ । वारिपारिको डाँडामा बनेतका ती संरचना प्रयोगमा ल्याउन कठिन हुने स्थानीय मनकुमारी खत्रीले बताइन् ।

नेपाल सरकारले मध्यपहाडी लोकमार्गको नजिकमा पर्ने पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुरकोट, धादिङको बैरेनी, तनहुँको डुम्रे भन्सार र बागलुङको बुर्तिवाङलाई नमूना सहर बनाउन लागिएको हो ।

त्यस्तै रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई नमूना सहर बनाउने लक्ष्य राखेको छ । ती सहरमा न्यूनतम पनि आधुनिक बसपार्क, सभाहल, फोहोर व्यवस्थापन, एकीकृत सेवा प्रवाह, जग्गा व्यवस्थापन, बजार संरक्षण, खेल मैदान निर्माण र हरियाली पार्क बनाउने जस्ता सूचक समावेश छन् ।

‘लोकमार्ग आसपासका यी सहरमा कम्तीमा १ लाख जनसंख्या बस्न सक्ने गरी व्यवस्थापन गर्ने लक्ष्य छ,’ गिरिले भने, ‘बुर्तिवाङमा भने भौगोलिक कठिनाइले काम अगाडि बढाउन नसकिएको हो ।’ इलाका प्रशासन, मालपोत, नापी लगायतका सेवा समेत दिने गरी बनाइएको आयोजनाको चारतले भवनमा अहिले सम्म कुनै पनि कार्यालय सरेको छैन ।

आर्थिक बर्ष २०७२/०७३ देखि आयोजनाका लागि नियमित बजेट बिनियोजन भएको छ । बजेट भने पर्‍र्याप्त नभएको गिरि बताउँछन् । पहिलो बर्ष ४ करोड ४७ लाख रुपैयाँ बजेट आएकोमा कर्मचारी व्यवस्थापन समेत नहुँदा २ करोड ८३ लाख मात्रै खर्च भएको थियो । आठबर्षमा यहाँ ७२ करोड १० लाख बजेट बिनियोजन भएकोमा ५८ करोड ३२ लाख मात्रै खर्च भएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×