कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

तनहुँ — तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा मध्यराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२:४५ बजेदेखि आगलागी सुरु भएको थियो । 

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्ण रूपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्ण रूपमा निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन-पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३:४५ बजेआसपास आगो निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन-पोखरा सडक योजना र तनहुँ जलविद्युत् आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

प्रकाशित : जेष्ठ ७, २०८१ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×