कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विद्यार्थीले राजनीति बुझ्न छाडेपछि युवा पलायन बढ्यो : केसी

बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विद्यार्थीले राजनीति बुझ्न छाडेपछि देशमा युवा पलायन बढेको बताएका छन् । विद्यार्थीले राजनीति बुझ्ने र गर्दा देशमा संभावनाको खोजी हुने उनको भनाइ छ । 

विद्यार्थीले राजनीति बुझ्न छाडेपछि युवा पलायन बढ्यो : केसी

धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औं वार्षिकोत्सव उद्घाटन गर्न आएका केसीले नेपालमा केही पछि हुँदैन भन्दै राजनीतिमाथि वितृष्णा बढाउने र विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’बाट देशको भविष्य अन्योल भएको टिप्पणीसमेत गरे ।

केसीले नेपालको राष्ट्रियतामात्र नभई संस्कृति र शिक्षा प्रणालीमा समेत आक्रमण भइरहेको आरोप लगाए । ‘नेपालमा केही पनि छैन भनेर युवालाई भ्रमित पार्दै क्याम्पसका कोठा खाली बनाएर विदेशी भाषाका कक्षाहरु भरिएको छ,’ केसीले भने, ‘जब युवाले यो षड्यन्त्र बुझ्छन् तबमात्र विदेश भासिन छाडेर नेपालमा केही गर्छन् ।’ उनले आफ्नै छोराछोरी समेत विदेशमा बसेर नेपालमा केही छैन भन्ने अभिव्यक्ति दिएको गुनासोसमेत गरे ।

नेपालमा केही हुँदैन भन्दै युवा पलायन भइरहेपछि भारतीय श्रमिकले नेपाली बजार भरिएको उनले उल्लेख गरे । यसरी भारतीय श्रमिक भरिंदा नेपालको अस्तित्वमा संकट आउने तर्फ नेतृत्वले सोच्न नसकेको उनको टिप्पणी थियो । उनले नेपालको शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यकतासमेत औंल्याए । देशलाई सय वर्षसम्म पछि पार्ने हो भने शिक्षा प्रणालीमा गलत नीति भित्र्याउनु पर्छ भन्ने नेल्सन मण्डेलाको भनाइ सही भएको उनले बताए । ‘गलत शिक्षा नीतिले नेपालका क्याम्पस र विद्यालय खाली भएर एयरपोर्टमा भीड बढेको हो,’ उनले भने, ‘विद्यार्थीले राजनीति गर्नु हुँदैन भनेर भनिँदा यस्तो भयो ।’

विद्यार्थीकालमै निरंकुशताको विरोध गरेर लोकतन्त्रको स्थापना गर्न खोजेको उनले स्मरण गरे । उनले विश्वविद्यालयमा वैज्ञानिक शिक्षा भित्र्याउने, देशमा औद्योगिकीकरण गर्ने शिक्षा प्रणाली लागू गर्न सरकार र राजनीतिक नेतृत्व असफल भएको समेत उनले टिप्पणी गरेका छन् ।

अर्को प्रसंगमा केसीले सहकारी क्षेत्रको लुटेराहरु राजनीतिक नेता र उनीहरुले चलाएकै संस्था बढी भएको आरोप लगाए ।

२०१९ सालमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा अहिले स्नातकतर्फ बीबीए, बीबीएस, बीएसस्सी, बिए र बिएड संकाय संचालनमा छ । स्नातकोत्तरमा पनि व्यवस्थापन, शिक्षा र मानवीकिका विषय पढाइ हुन्छ ।

क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायका अनुसार गुणस्तर प्रत्यायान सुनिश्चित गरेर क्याम्पसले सुरु गरेका नयाँ संकायबाट उत्कृष्ट नतिजा आएको बताए । बीबीएमा धौलागिरिका विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुनुको साथै नेपालमै उत्कृष्ट नतिजा समेत ल्याउन सफल भएको छ । हाल क्याम्पसमा २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : फाल्गुन ८, २०८० १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×