कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

किशोरले चोरे बस

पोखराको पृथ्वीचोकबाट बस चोरी गरेर चितवन लैजाने क्रममा १७ वर्षीय किशोर पक्राउ
दीपक परियार

पोखरा — पोखराको पृथ्वीचोक बसपार्कबाट शुक्रबार राति ग १ ख ९६३८ नम्बरको बस हरायो । पार्किङ गरेर राखेको बस हराएको सूचना बस धनीले प्रहरीलाई पुर्‍याए । कास्की प्रहरीले आफू मातहतका कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतलाई जानकारी गराई खोजतलास गर्‍यो । खोजतलासको क्रममा चितवनबाट १७ वर्षीय किशोर बससहित पक्राउ परे ।

किशोरले चोरे बस

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सवारी जाँच गर्ने क्रममा शनिबार चितवन प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । उनी आफैले बस चलाएर कास्की, तनहुँ हुँदै चितवन पुर्‍याएका थिए । पक्राउ पर्ने बालक तनहुँको म्याग्दे गाउँपालिका–३ का हुन् । किशोरलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

पोखरामा दुईवटा स्कुटर चोरी गर्ने अर्का १७ वर्षीय किशोर समेत पक्राउ परेका छन् । मंसिर १९ मा पोखरा–३ नदीपुरमा पार्किङ गरेर राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर हराएको थियो । उक्त दिन पोखरा–१ बगरबाट ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा शनिबार बागलुङ घर भइ पोखरा–१६ दीप बस्ने १७ वर्षीय किशोरलाई स्कुटरसहित पक्राउ गरेको छ । ग १४ प २०३४ नम्बरको स्कुटरसहित पक्राउ परेका उनलाई सोधपूछका क्रममा अर्को स्कुटरसमेत उनैले चोरी गरेको पत्ता लागेको थियो । उनलाई कास्की अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता विकले बताए । प्रवक्ता विकका अनुसार ती किशोर यसअघि तीनपल्टसम्म चोरी मुद्दामा पक्राउ परेर सजाय काटिसकेका छन् ।



प्रकाशित : मंसिर २४, २०८० १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×