कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

बागलुङको नारायणस्थान स्वास्थ्यचौकी पोषणमैत्री घोषित

प्रकाश बराल

बागलुङ — तोकिएका १६ सूचक र ११ निर्देशन पालना गरेर बागलुङको नारायणस्थान स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्थामा घोषित भएको छ । मंगलबार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उक्त संस्थालाई पोषणमैत्री घोषणा गरे । 

बागलुङको नारायणस्थान स्वास्थ्यचौकी पोषणमैत्री घोषित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सबै सूचक र निर्देशन पालना गर्ने यो संस्था पहिलो भएको छ । यो संस्थाले वडा भरका नागरिकको तथ्यांक समेत डिजिटल बनाएको छ ।

तोकिएका १६ सूचक मध्ये एकजना पोषण फोकलपर्सन तोकिएको, कम्तीमा एकजना पोषण मैत्री तालिमप्राप्त स्वास्थ्यकर्मी रहेको, सबै सेवाग्राहीकालागि पहुँचयुक्त शुद्ध खानेपानीको व्यवस्था, पहुँचयुक्त सफा शौचालय, साबुनपानीले हातधुने व्यवस्थापन भएको हुनुपर्नेछ ।

त्यसबाहेक बालबालिकाको उमेर अनुसार तौल लिने मेसिन, उचाइ, लम्बाइ लगायतका सूचक मापन गर्ने मेसिन मुआक टेप उपलब्ध भएको हुनुपर्ने छ । पोषणकालागि आवश्यक भिटामिन ए, जुकाको औषधि, जिंक ट्याब्लेट, बालभिटा प्याकेट, आइरन, बहिरंग उपचार सेवा र कम्तिमा एक महिनाकालागि उपचार र औषधि रहेको हुनुपर्नेछ ।

व्यवस्थापनतर्फ मासिक कम्तिमा एकएकवटा बैठक बसेको हुनुपर्नेछ । पोषण सम्बन्धी सामाग्री आम सेवाग्राहीले देख्ने गरी प्रर्दशन गर्नुपर्ने, बाल स्वास्थ्य कार्ड लागू भएको, दुइ वर्षसम्मका बालबालिकाको पोषण रजिष्टर, गाउँघर क्लिनिक र त्यसको पनि रजिष्टर राखेको हुनुपर्ने प्रावधान नारायणस्थान स्वास्थ्य चौकीले पुरा गरेको हो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि आफ्नो फाइल समेत स्पष्ट राख्ने गरेका छन् । नगरपालिकाले उनीहरुलाई फाइल व्यवस्थापनकालागि एकएकवटा साना सोकेस समेत दिएको छ ।

गुणस्तर मापनकालागि स्वास्थ्य संस्थामा नियमिच चेकलिष्टको व्यवस्था भएको छ । पोषण कर्नर बनाएर प्रर्दशनी गरिएको छ । उक्त संस्थाको सेवाक्षेत्रका गर्भवतीहरुले ८ पटक स्वास्थ्य परीक्षण गराएका छन् । सुत्केरीपछि पनि ३ पटक स्वास्थ्य संस्थामा पुग्ने गरेको स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्माले बताए । गर्भवतीले गर्भ अवधिभर १ सय ८० आइरन चक्की खाएको, ९० प्रतिशत बढीले स्थानीय स्वास्थ्य संस्थामै सुत्केरी भएको समेत रेकर्ड छ । बाँकी १० प्रतिशत पनि सुविधासम्पन्न अस्पतालमा गएको देखिएको हो ।

जसका कारण कम तौलका शिशु जन्मने दर शून्यप्राय भएको छ । सबै बालबालिकाले समयमा पूर्ण खोप समेत पाएकोले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । त्यसकालागि शाखाले तोकिएका सूचक बारे अध्ययन अनुगमन गरेर सबै सूचक रुजु समेत गरेपछि मात्र घोषणाको अवस्थामा पुगेको खनालले जानकारी दिए ।

प्रकाशित : मंसिर १९, २०८० १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×