कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अवैध हतियार र आखेटोपहारसहित तीन जना पक्राउ

प्रकाश बराल

बागलुङ — ढोरपाटन सिकार आरक्षले अवैध हतियार, आखेटोपहारसहित तीन जनालाई पक्राउ गरेको छ । आरक्षमा अवैध सिकार गर्दै हिँडेका म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जाखानीका ५२ वर्षीय प्रेमबहादुर छन्त्याल, ५० वर्षीय पहलमान छन्त्याल र २८ वर्षीय सुमन छन्त्याललाई पक्राउ गरिएको हो ।

अवैध हतियार र आखेटोपहारसहित तीन जना पक्राउ

आरक्षका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रराज कँडेलको नेतृत्वमा नेपाली सेनाको देवी बक्स गुल्मका सुरक्षाकर्मी समेतले बार्से ब्लकमा गरेको सर्च अभियानमा मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।

उनीहरुको साथबाट १ थान भरुवा बन्दुक, १ थान कार्तुस बन्दुक, खुकुरी, हँसिया, चक्कु, धार लगाउने रेती, १ थान बाइनाकुलर, डोरी १ सय ८१ थान, १ सय २ वटा पासो, ३ वटा झोला, ३ सेट बन्दोबस्तीका सामानसमेत बरामद गरिएको छ ।

गस्ती टोलीले बार्से ब्लकमा मृत १ वटा रेडपान्डा, बार्सेकै थारखोलामा २४ इन्च लामो नाउरको सिंगसमेत भेटिएको थियो ।

अवैध चोरी सिकार गरेकोले आरक्षले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही सुरु गरेको जनाएको छ । उनीहरुमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुर गरेको आरोप समेत छ । आरक्षले दोषी देखिएमा उनीहरुमाथि अवैध चोरी सिकारमा जनही १ वर्ष कैद र ५० हजार जरिवाना गराउने छ । त्यसपछि जिल्ला प्रहरी कार्यालयले हात हतियार तथा खरखजानासम्बन्धी थप मुद्दा चलाउने छ । उक्त मुद्दा जिल्ला अदालत पठाइने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

ढोरपाटनका अधिकांश ब्लकमा कर्मचारी र सुरक्षाकर्मी अभाव छ । त्यसैले निरन्तर चोरी सिकार भइरहेको भेटिएको छ ।

यसअघि गत असारमा पनि आरक्षले ८ अवैध हतियार बरामद गरेको थियो ।

प्रकाशित : मंसिर ७, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×