कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

चक्रीय अन्नपूर्ण पदमार्गको मर्स्याङ्दीमा चेक पोष्ट स्थापना

आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानी बगैंचामा पर्यटक र वन पैदावारको ‘चेक पोष्ट’ स्थापना गरिएको छ ।

चक्रीय अन्नपूर्ण पदमार्गको मर्स्याङ्दीमा चेक पोष्ट स्थापना

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय भुजुङले पर्यटक चेक पोष्ट र वन पैदावार चेक पोष्ट स्थापना गरेको हो । यसअघि बेंसीसहरमा सञ्चालन हुँदै आएको पर्यटक प्रवेश शुल्क काउन्टर पनि उक्त ठाउँमा स्थानान्तरण गरिएको छ । बगैंचाको पर्यटक चेक पोष्ट कोरोना संक्रमणका समय एक्यापले कर्मचारी कटौती गरेसँगै हटाएको थियो । अहिले चेक पोष्ट पुनर्स्थापनासँगै पर्यटक प्रवेश शुल्क काउन्टर र वन पैदावार चेक पोष्ट पनि उक्त ठाउँमा स्थापना गरिएको छ ।

एक्याप इलाका संरक्षण कार्यालय भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले कार्यालयबाट पर्यटक अनुमति पत्र जारी, पर्यटक प्रवेशपत्र जाँच साथै पर्यटकलाई सूचनालगायत सेवा दिइनेछ । चक्रीय अन्नपूर्ण पदमार्गमा जाने र पदमार्गबाट बाहिरिने पर्यटकको तथ्यांक अब सिम्पानीस्थित कार्यालयबाट लिन सकिने उनले बताए । उनले तत्कालका लागि बेंसीसहरस्थित पर्यटक प्रवेश शुल्क काउन्टरका २ जना कर्मचारी राखिएको र पछि थप गरिने बताए । उनका अनुसार हाल मासिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी कार्यालय स्थापना गरिएको छ ।

चेक पोष्ट र पर्यटक प्रवेश काउन्टरको बुधबार उद्घाटन गर्दै मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पर्यटक साथै वन पैदावार चेक पोष्ट स्थायी रुपमा हुन आवश्यक रहेको बताए । ‘संरक्षित क्षेत्रका वन्यजन्तु, पन्छी, जनावर तथा वन पैदावारको चोरी निकासी हुन सक्छ । यसतर्फ सर्वपक्षीय चासो हुनुपर्छ । बरु यसमा हामी समन्वय सहयोग गर्छौं’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सेवालाई उत्कृष्ट बनाउन सकिए सेवाग्राही खुसी हुने बताए । ‘एक्यापसँग राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तिहरु जोडिएका छन् । चक्रीय अन्नपूर्ण पदमार्गमा ती व्यक्तिहरु घुम्न आउन सक्छन् । हामीले सकारात्मक सन्देश दिन सकिए नेपालको थप प्रचारप्रसारमा सहयोग पुग्नेछ,’ उनले भने । उनले सूचना सुरक्षाका लागि आवश्यक रहेकाले मानवीय सुरक्षा साथै प्राकृतिक स्रोत तथा साधनको संरक्षणमा थप सहयोग पुग्ने बताए ।

मर्स्याङ्दी गाउँपालिका-३ का वडाध्यक्ष दूधमान तामाङले स्थानीय तह र एक्याप दुवै मिलेर पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए । मर्स्याङ्दी गाउँपालिका-९ का वडाध्यक्ष हरिश्चन्द्र थापाले सवै मिलेर पर्यटनमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।

चेकपोष्ट प्रमुख बालकृष्ण घलेले बुधबारदेखि कार्यालय सञ्चालन गर्दै पर्यटकको रेकर्ड राख्न थालिएको बताए ।

प्रकाशित : कार्तिक १५, २०८० २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×