कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पर्यटकले भरियो मुस्ताङ

घनश्याम खड्का

म्याग्दी — हिमालपारिको मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । दसैंपछि मुस्ताङका सबै होटेल, रेस्टुरेन्ट तथा होमस्टेसमेत तन्नेरी पुस्ताका नेपाली पर्यटकले भरिभराउ भएका छन् । 

पर्यटकले भरियो मुस्ताङ

पर्यटकको आगमन बढेसँगै बेनी–जोमसोम सडकमा ट्राफिक चाप पनि अधिक परेको छ । दैनिक १२ सय सवारी साधन मुस्तारू प्रवेश गर्ने र उत्तिकै संख्यामा बाहिरिँदा निर्माणाधीन सडक छिचोल्नै मुस्किल हुने गरेको छ । खासगरी बेनी–घाँसासम्मको पहिरोग्रस्त क्षेत्रको सडकमा यात्रुले बढी सास्ती खेप्नु परेको छ ।

मुस्ताङ प्रवेश गर्ने सीमावर्ती घाँसा प्रहरी चौकीको अभिलेखअनुसार दसैंपछिका चार दिन दैनिक १२ सयभन्दा बढी सवारी साधनमा नेपाली पर्यटक मुस्ताङ प्रवेश गरिरहेका छन् । घाँसा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रताप मल्लका अनुसार पछिल्ला तीन चार दिनदेखि दैनिक ६ सयबढी मोटरसाइकल, ५ सयको संख्यामा जिप, भ्यान, कार तथा एक सयभन्दा बढी बस र ट्रक मुस्ताङ प्रवेश गर्ने गरेको अभिलेख छ ।

‘हामीले दैनिक रेकर्ड राख्छौं । रेकर्डअनुसार दैनिक मोटरसाइकल, स्कुटर, जिप, भ्यान, बससमेत सबै गरी १२ सयभन्दा बढी सवारी साधन मुस्ताङ प्रवेश गरिरहेका छन् । गाडी र मोटरसाइकलमा अन्दाजी दैनिक ७ देखि ८ हजार नेपाली तथा विदेशी पर्यटक आउने अनुमान गरेका छौं । यो संख्यामा स्थानीय होलान, दसैं मनाएर फर्केका कर्मचारी पनि होलान्’ असई मल्लले भने ।

दसैं–तिहारको लामो बिदा मनाउन छिमेका, म्याग्दी, बागलुङ, पर्वत मात्र होइन, पोखरा, काठमाडौं, बुटवल, हेटौंडा, विराटनगरलगायत देशका विभिन्न ठाउँबाट मुस्ताङ तथा मुक्तिनाथ आउनेको संख्या बढेको हो ।

दसैं अघिदेखि नै मुस्ताङ आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो । दसैंलगत्तै देखि घुइँचो नै लागेको छ । अनुकूल मौषम र लामो बिदा परेकोले सहरका कर्मचारी, युवा/युवती, व्यवसायी, सञ्चारकर्मी सपरिवार मुस्ताङ भ्रमणमा अधिक आएका छन् । त्यसैगरी चिसो बढी नसकेकोले विभिन्न कलेजका विद्यार्थी पनि शैक्षिक भ्रमणमा आएका छन् ।

त्यसैगरी असोज–कात्तिक नेपालको पहाडी/हिमाली क्षेत्रको पदयात्रा सिजन भएकोले राउन्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तव्य थोरङ्ला पासमुनिको मुक्तिनाथ, जोमसोममा बाह्य पर्यटकको पनि उत्तिकै घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका अनुसार अहिले दैनिक दुई सयभन्दा बढी बाह्य पर्यटक मुक्तिनाथमा ‘इन्ट्री’ गरेका छन् ।

‘जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्रका होटल दिउँसो १२ बजे नै भरिभराउ हुँदा अबेर पुगेका पर्यटकले बासको समस्या खेप्न बाध्य छन्,’ मुक्तिनाथका होटल व्यवसायी छुप्तेन गुरुङले भने, ‘मोटरबाटोको सोझो पहुँच र सिजनेबल व्यवसाय जोमसोममाथिका होटल क्षमताले पाहुना थेग्न नसक्ने र तल्लो क्षेत्रका लेते, कोवाङ्गसमेतका होटलमा पर्यटन नहुने भएको छ ।’

दसैंमा पनि सदरमुकाम बेनीमा समेत बेनी–जोमसोम–मुक्तिनाथ सडकमा पर्ने बस्तीका होटेल भरिभराउ छन् । बेनी, तातोपानी, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथमा आन्तरिक पर्यटकले बास पाउन मुस्किल भएको छ ।

मुक्तिनाथ, जोमसोम, मार्फा, टुक्चेलगायत बेनी–जोमसोम सडक किनाराका बेनी,तातोपानी, दानाका साना ठूला सबै होटल भरिभराउ छन । ‘जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्रका मात्र होइन उपल्लो मुस्ताङका छोसेर, लोमन्थाङ, चराङ, छुक्साङसम्मकै होटेल भरिभराउ हुन थालेका छन्,’ छुक्साङका होटल व्यवसायी नरेश गुरुङले भने, ‘अधिकांश मोटरसाइकल र साना गाडीमा रिजर्भ आएका पाहुनाले होटल भरिएका हुन् ।’

मुस्ताङमा मुक्तिनाथ, कागबेनीसमेतका हिन्दु तथा बौद्ध धर्मालम्बीको धार्मिक यात्राबाहेक नेपाल–चीन सीमास्तम्भ रहेको कोरोला नाका, माटोको सहर लोमन्थाङ, चराङ, छोसेर गुफा, तल्लो मुस्ताङको मार्फा, टुक्चे, टिटी, सकेकुङ, ढुम्बा ताल तथा हिमाली सुख्खा हावापानी हेर्न पर्यटक आउने गरेका छन् ।

प्रकाशित : कार्तिक १४, २०८० १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×