कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमाले गण्डकीको चुनावी प्रक्रिया स्थगित, मनोनयन दर्ता बुधबार

दीपक परियार

पोखरा — उम्मेदवारको क्लस्टर मिलाउनुपर्ने भएपछि एमाले गण्डकीको चुनावी प्रक्रिया बुधबारलाई धकेलिएको छ । यसअघि दिउँसो ३ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेकोमा अब बुधबार ७ देखि ९ बजेसम्मको समय दिइएको छ । 

एमाले गण्डकीको चुनावी प्रक्रिया स्थगित, मनोनयन दर्ता बुधबार

प्रदेश समितिमा महिला, जनजाति, दलित, युवातर्फ क्लस्टरको सिट विभाजनमा गृहकार्य गर्नुपर्ने भएकोले मनोनयन दर्ता बुधबारलाई सारिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । तर, अधिवेशनमा सहभागी प्रतिनिधिले भने नेताहरुबीच सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया सरेको बताएका छन् ।

अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ म्याग्दीका नवराज शर्मालाई अध्यक्ष र लमजुङका धनञ्जय दवाडीलाई सचिवमा दोहोर्‍याउन चाहन्छन् । स्थायी समिति सदस्य खगराज अधिकारीले भने अध्यक्षमा लमजुङका मायानाथ अधिकारीलाई अघि सारेका छन् । केन्द्रीय सदस्य अधिकारी पदबाट राजीनामा दिएर प्रदेश अध्यक्षको उम्मेदवार हुन तयार छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्षमा लड्न मायानाथलाई सुझाएको बताइन्छ ।

एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको भूमिकाले पनि निर्वाचन प्रक्रियामा ढिलाई भएको अधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए । उनका अनुसार पहिला उनी रश्मी आचार्यलाई सचिवमा आफ्नो उम्मेदवारका रुपमा प्रस्तुत गरेर अधिकारी पक्षधर मायानाथलाई अध्यक्ष सघाउन चाहन्थिन् । हाल उनले गुरुङसँग पनि संवाद गरिरहेकी छन् ।

गुरुङपक्षबाट उपाध्यक्षको उम्मेदवार बन्न लागेका स्याङ्जाका मोहन रेग्मीलाई रोके उनी अध्यक्षमा नवराज शर्मालाई सघाउन तयार देखिएकी छन् । ‘आफ्नो जिल्लाको विवादलाई उहाँले प्रदेश समितिमा ल्याउनुभयो,’ ती प्रतिनिधिले भने, ‘स्याङ्जाकै मोहन रेग्मीलाई उपाध्यक्ष बन्न नदिने उहाँको एकमात्र अडान छ ।’ लुम्बिनीको अधिवेशन सकेर उनी गण्डकीमा आएकी हुन् । उनले आफूलाई पार्टीको आगामी महाधिवेशनमा उपमहासचिवको उम्मेदवारका रुपमा प्रस्तुत गरिरहेकी छन् ।

अधिवेशनमै सहभागी अर्का प्रतिनिधिले एमाले अध्यक्ष ओलीको निर्देशन कार्यकर्ताले नमान्ने देखेपछि अधिवेशन लम्बिएको बताउँछन् । ‘नेतृत्व चयनमा देशव्यापी पार्टी अध्यक्षको हस्तक्षेप तलका कार्यकर्ताले रुचाएका छैनन्,’ उनले भने, ‘गण्डकीमा पनि प्रतिनिधिले कुने गुटउपगुटलाई मान्न तयार छैनन् ।’

भावी अध्यक्षका रूपमा आफूलाई उभ्याउँदै आएका उपाध्यक्ष विष्णु पौडेलको साथ पृथ्वीसुब्बा र महासचिव शंकर पोखरेलको साथ खगराज अधिकारीलाई रहँदै आएको छ । अधिवेशनको उद्घाटन समारोहमा भने उपमहासचिव गुरुङले अझै १० वर्ष पार्टी र सरकारमा केपी ओलीको विकल्प नरहेको बताएका थिए ।

पोखरा सभागृहमा भएको बन्दसत्रमा मंगलबार प्रदेश अध्यक्ष नवराज शर्माद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनउपर छलफल चलेको थियो । गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी भएकोमा ८ समूह बनाएर प्रतिवेदनमाथि समूह नेताले सुझाव दिएका थिए ।

प्रकाशित : आश्विन १६, २०८० १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×