कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दृष्टिविहीन शिक्षिक शोभा पौडेलले तोडिन् अनशन

प्रतीक्षा काफ्ले

कास्की — दृष्टिविहीन शिक्षिक शोभा पौडेलले मंगलबार अनशन तोडेकी छन् । मंगलबार साँझ प्रदेश शिक्षा निर्देशनालयको पहलमा भएको छलफलमा तीन बुँदे सहमति जनाउँदै उनले अनशन तोडेकी हुन् ।  

दृष्टिविहीन शिक्षिक शोभा पौडेलले तोडिन् अनशन

पहुँचयुक्त र पायक विद्यालयमा पदस्थापना र हाजिर गराई स्थायी रोजगारको सुनिश्चित गर्ने मागसहित पौडेल पोखरा महानगरपालिका–१ बगरस्थित शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीको परिसरमा आमरण अनशन बसेकी हुन् । प्रदेश शिक्षा निर्देशक अम्बिका अचार्यले उनको माग सम्बोधन गर्ने गरी पटक-पटक वार्ता बसेपछि सहमति जुटेको बताए ।

दृष्टिविहीन शोभा पौडेल १५ वर्षदेखि शिक्षण पेसामा आबद्ध छन् । हाल उनी राष्ट्रिय मावि पोखरामा नेपाली पढाउँछिन् । शिक्षा सेवा आयोगद्वारा उनको लमजुङको दोर्दी गाउँपालिकाको बालकल्याण माविमा सरुवा भयो । अपांगता कोटामा निमावि नेपाली विषयमा नाम निकालेकी ३८ वर्षीया शोभालाई त्यो गाउँमा गएर पढाउन कठिन थियो । पायक पर्ने विद्यालयको माग गर्दै उनले सरुवा भए पनि बालकल्याण गएर हाजिर गरिनन् । त्यसपछि उनी अनशन बसिन् । उनलाई पहिला सरुवा भएको विद्यालयमा गएर हाजिर गर्ने सहमति गराइएको छ ।

त्यसपछि पोखरा महानगरमा रहेको ध्रुव माविमा ल्याउने र दुवै विद्यालयबीच सहमति जुटाएपछि शिक्षा विकास समन्वय इकाईले शिक्षा विभागमा पत्र पठाएर तीन महिनाभित्र ठाउँ खाली भएको विद्यालयमा ल्याउने (सरुवा गर्ने) र अनसन तोड्ने तीन बुँदे सहमति भएको शिक्षा निर्देशक आचार्यले बताए । शिक्षण पेसामै आबद्ध उनका पति पनि दृष्टिविहीन छन् । पति पनि मावि तहका स्थायी शिक्षक हुन् । पतिले शिक्षक सेवा आयोगमा नाम निकालेपछि उनी पनि नाम निकाल्न सफल भएकी हुन् ।

प्रकाशित : आश्विन १६, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×