कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

तीन वर्षपछि ‘लिगलिगे दौड’

हरिराम उप्रेती

गोरखा — तीन वर्षयता रोकिएको लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाउने भएको छ । ११ औं संस्करणको ‘लिगलिगे दौड’ कात्तिक १ गते हुने आयोजक लिगलिगकोट विकास अभियानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । कोभिड महामारीका कारण रोकिएको लिगलिगे दौड २०७७ यता भएको छैन ।

यस वर्ष खुला, स्थानीय तथा विद्यार्थीको गरी तीन विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ । खुलातर्फ स्वदेशी तथा विदेशी खेलाडीले समेत सहभागिता जनाउन पाउने लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले बताए ।

पालुङटार नगरपालिका–५ स्थित चेपे दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दूरीमा हुने खुलातर्फ पहिलो हुने प्रतियोगीलाई एक लाख नगद पुरस्कारको व्यवस्था गरिएको रानाले बताए । दोस्रो हुनेलाई ५० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौंलाई १० हजार नगद पुरस्कार दिइनेछ । खुलातर्फको दौडमा विजेतालाई २०८० को सद्भावना ‘लिगलिगे वाङ’ घोषणा गरिनेछ ।

स्थानीयतर्फ भने साविकको आँपपीपल, पालुङटार, खोप्लाङ, छोप्राक र हर्मी गाविसमा स्थायी बसोबास भएका पुरुष मात्र सहभागी हुन पाउनेछन् । खुला र स्थानीतर्फको दौडको दूरी समान छ । स्थानीयतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौं हुनेले तीन हजार पुरस्कार पाउनेछन् । विद्यार्थीतर्फको विधामा पहिलोले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ७ हजार, चौथोलाई ५ हजार र पाँचौंलाई तीन हजार नगदको व्यवस्था गरिएको छ ।

विद्यार्थीतर्फको प्रतियोगितामा १८ वर्ष उमेर नकटेका छात्रले सहभागिता जनाउन पाउनेछन् । सहभागीलाई विद्यालयको सिफारिसपत्र पेस गर्न अनिवार्य गरिएको छ । विद्यार्थीले तीन किलोमिटर दौड पूरा गर्नुपर्ने थापाले बताए । विद्यार्थीका लागि पालुङटार नगरपालिका–३ मैवलबाट तीन कालिका मन्दिरसम्म दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले असोज २५ गतेसम्म अनलाइन फाराम भर्न सक्ने पनि थापाले बताए ।

दौडिएर राजा हुने इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमबाट उजागर गरी पर्वतीय पर्यटन विकास गर्ने उद्देश्यले लिगलिगे दौड आयोजना गरिएको रानाले बताए । ऐतिहासिक लिगलिगे दौड जितेर शाहवंशीय राजाका संस्थापक द्रव्य शाह लिगलिगकोटको राजा बनेका थिए । १६१६ मा द्रव्य शाहले लिगलिगकोट जितेपछि राजा छान्ने ‘लिगलिगे दौड’ अन्त्य भएको थियो । उत्त दौड प्रतियोगितालाई जीवन्त राख्दै २०६७ सालदेखि सांस्कृतिक खेल उत्सवका रूपमा दौड प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रकाशित : आश्विन १५, २०८० ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×