कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बाटो नहुँदा स्वास्थ्यचौकी अलपत्र

प्रकाश बराल

बागलुङ — स्वास्थ्यचौकी भवन बनेको तीन वर्ष पुगिसक्यो । आकर्षक दुईतले पक्की भवनमा अहिले ताला लगाइएको छ । वरिपरि झार उम्रिएको छ । बाहिरबाट हेर्दा यो झाडीभित्रको जीर्ण घरजस्तो देखिन्छ ।

बाटो नहुँदा स्वास्थ्यचौकी अलपत्र

काठेखोला गाउँपालिका–२ को भीमापोखरा स्वास्थ्य चौकीको यो भवन झन्डै ३ करोड रुपैयाँ लागतमा बनेको हो । तर, यो भवन अलपत्र परिरहेको छ । यहाँबाट दिनुपर्ने सेवा भने नजिकैको पुरानो ३ कोठे भवनबाट प्रवाह भइरहेको छ ।

बर्थिङ सेन्टरसमेत रहेको भीमापोखरामा प्रसूति कक्ष, बिरामी जाँच, स्वास्थ्यकर्मीको आवाससहित प्रशासन कक्ष र कोल्डचेन कोठा बनाउन पुग्ने गरी भवन बनाइएको हो । भवन बनिसकेर पनि यहाँ जाने सडक नभएपछि अलपत्र परेको हो । ‘हामीले पूर्वतर्फको बाटोमा जोड्ने गरी भवन बनाएका हौं, तर अहिले घरहरू जोखिममा पर्ने भएर सडक जोडिएको छैन,’ काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सोम शर्माले भने, ‘पश्चिमतर्फको सडक खुलाउने सहमति भइनसकेकाले ढिला भएको हो ।’ तत्काल सरोकारवालाको छलफल राखेर बाटो खुलाउने उनले बताए ।

स्वास्थ्य चौकीका प्रमुख आशिष सापकोटाले भवन बनिसकेपछि सरुवा भएर आएकाले पूर्वसर्तहरू के–कस्तो भएका छन् भन्ने बुझ्न नसकेको बताए । ‘भवन बने पनि त्यहाँ सर्नका लागि बाटो छैन, त्यसैले उपचार सेवामा समस्या छ,’ सापकोटाले भने, ‘राजनीतिक रुपमा सहमति नभएसम्म यो बाटो खुल्न गाह्रो छ ।’ पूर्वसहमति भएको तर्फको सडक नखुलाइएको र पछि नजिक परेपछि जग्गा माग्दा नपाएको उनले बताए । बनेको भवन जीर्ण भएको तर पुरानो भवनमा बसेर काम गर्न अप्ठ्यारो भएको उनको अनुभव छ । भवनभित्र आवास भए पनि उनी डेरामा बस्ने गरेका छन् । यहाँ पानी चुहिएकाले सामान सुरक्षित राख्नसमेत कठिन छ ।

यहाँ सुरक्षित सुत्केरी सेवा र त्यसका लागि दक्ष प्रसूतिकर्मीको दरबन्दी भए पनि गोप्य कोठा, उपचारपछि राख्ने कोठा तथा सरसफाइका लागि भित्रै हुनुपर्ने शौचालयको अभाव छ । स्थानीयले ४ रोपनी जमिन दिएपछि भवन बनाउने अवसर पाए पनि प्रयोगमा ल्याउन समस्या भएको वडाध्यक्ष विद्यापति शर्माले बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष राजु थापाले स्थानीयका घरमा असर नपर्ने गरी बाटो खोलेर स्वास्थ्य चौकी सञ्चालन गर्न छलफल चलाएको भन्दै सडक बनाउँदा जोखिम भएमा पालिकाले तटबन्धन गरेर भए पनि स्वास्थ्य संस्थामा पुग्ने सडक खुलाउन पहल गर्ने बताए ।

प्रकाशित : आश्विन १, २०८० १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×