कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

बाढीको क्षति अवलोकन गर्न उपप्रधानमन्त्री श्रेष्ठ मुस्ताङमा

कागबेनीमा मन्त्री श्रेष्ठले भने - 'तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणको व्यवस्था मिलाइन्छ'

काठमाडौँ — उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(कागबेनी) मा बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गर्दै तत्त्काल राहत र दीर्धकालीन पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाढीको क्षति अवलोकन गर्न उपप्रधानमन्त्री श्रेष्ठ मुस्ताङमा

अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवं व्यापारिक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्धस्थल, खानेपानी, सिँचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेको थियो ।

समयमै बाढीको सूचना पाएपछि यहाँ कुनै मानवीय क्षति भने भएको थिएन ।

क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनाविद्को अध्ययनमा आधारित निष्कर्षका आधारमा पुनर्निर्माण गरिने जानकारी दिए ।


उनले कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने पनि बताए । त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए ।


संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत् सामान्य तत्कालीन राहत पुगेपनि त्यो पर्याप्त, व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो । गृहमन्त्री श्रेष्ठले जनताको यस्तो दु:खबाट आफू पनि उत्तिकै दुःखित भएको र संघीय, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने बताए ।


माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले पार्टीका स्थानीय नेताकार्यकर्तासँग समेत मुस्ताङमा भेट गरे । तीन महिने 'जनतासँग माओवादी' अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतामा समेत उत्साह पैदा गरेको उनले बताए ।

प्रकाशित : भाद्र १९, २०८० १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?