कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

उज्यालो पोखरा घोषणा

प्रमुख कार्यकारी अधिकृत घिसिङ भन्छन् - ट्याक्सीलाई विद्युतीय सवारीमा रुपान्तरण गरौं 
पोखराका २३  मुख्य चोकमा हाइ मास्ट लाइट र ६० किलोमिटर सडकमा २ हजार ७ स्मार्ट बत्ती जडान
दीपक परियार

पोखरा — उज्यालो पोखरा अभियानको पहिलो चरणअन्तर्गत पोखरा महानगरपालिकाले २३ मुख्य चोकमा हाइ मास्ट लाइट र ६० किलोमिटर सडकमा २ हजार ७ वटा स्मार्ट बत्ती जडान गरेको छ । उक्त बत्तीको आइतबार नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

उज्यालो पोखरा घोषणा

नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा १४ करोड ६५ लाख रुपैयाँमा ती बत्ती जडान गरिएका हुन् । १६ मिटर अग्लो एक हाइ मास्ट लाइटमा २–२ सय वाट पावरका ८ वटा बत्ती छन् । स्मार्ट सडक बत्ती १ सय २० र ९० वाटका छन् । मास्ट लाइटको सुरक्षामा ३५ लाख रुपैयाँ खर्च भएको छ । ४ सय ३९ नयाँ पोल थपिएका छन् ।

प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका प्रमुख प्रमोद रिजालका अनुसार सडक बत्ती स्वचालित प्रविधिमा आधारित छ । सडक बत्तीका पोलमा इन्टरनेट सहितको सिम प्याड राखिएका छन् । जसले गर्दा स्वचालितरुपमा सूर्यास्तसँगै बत्ती बल्ने र सूर्योदयसँगै निभ्ने हुन्छ । समयअनुसार बत्तीको चहकिलोपना स्वचालित रूपमा घटबढ हुन्छ । बत्ती बाल्ने, निभाउने र चहकिलोपना घटबढ गराउने काम मोबाइलबाट समेत गर्न मिल्छ । बत्तीको आयु ५० हजार घण्टा अर्थात झण्डै ११ वर्ष रहेको छ ।

बत्तीमा समस्या आए प्राधिकरणको सर्भरमा सोझै थाहा हुने छ । निर्माण पूरा भएको ५ वर्षसम्म ठेकेदार कम्पनी टपसन इनर्जी प्रालिले नै मर्मतसम्भार गर्ने छ । ‘ललितपुर, धनगढीपछि पोखरामा यस्तो बत्ती जडान गरिएको हो,’ रिजालले भने, ‘यसले सडक सुरक्षासँगै दुर्घटना न्यूनीकरण, पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिमा सहयोग पुग्छ ।’

पोखरा महानगर प्रमुख धनराज आचार्यले स्मार्ट बत्ती यति धेरै संख्यामा पहिलोपल्ट पोखरामा जडान भएको दाबी गरे । उनले अहिले मुख्य सहरी क्षेत्रमा सडक बत्ती जडान गरिए पनि दोस्रो चरणमा समग्र पोखराको सडक उज्यालो हुने गरी बत्ती जडान गर्ने सुनाए ।

पहिले जडान गरिएको २ हजार भन्दा बढी सोलार बत्तीका प्यानल एक ठाउँमा राखेर विद्युत उत्पादन गर्ने र प्राधिकरणलाई बिक्री गर्ने योजना रहेको उनले उल्लेख गरे । उद्घाटन कार्यक्रममा उनले पोखरामा बारम्बार झ्याप्प झ्याप्प बत्ती जाने र लोड नधान्नुको कारणबारे विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग जिज्ञासा राखेका थिए ।

‘विरौटामा नयाँ सवस्टेसन बनाउन स्थानीयले सिर्जना गरेको अवरोध हटिसकेको छ,’ उनले भने, ‘नयाँ ट्रान्सफर्मर राख्न पनि महानगरले सहजीकरण गर्छ । लगातार बत्ती गइरहनुभएन ।’

जवाफमा घिसिङले पोखरामा एउटा मात्रै सबस्टेसन हुँदा बत्ती गइरहने समस्या देखिएको बताए । ‘अहिले कुँडहरको मात्रै सबस्टेसनले धानिरहेको छ,’ उनले भने, ‘१०–१२ वटा फिडर एउटै पोल जडान छ । एउटा लाइनमा समस्या आउनेबित्तिकै सबै फिडरको लाइन काटेर मर्मत गर्नुपर्ने बाध्यता छ ।’ नयाँ ट्रान्समिटर राख्न खोज्दा आफ्नो घरअगाडि पर्ने भएपछि पोखराका स्थानीयले समेत अवरोध गर्ने गरेको उनले सुनाए ।

प्राधिकरणले सन् २०५० सम्म मुलुकभित्रको विद्युत् भारको हिसाब गरेर योजना निर्माण गरिरहेको उनले बताए । ‘त्यतिबेलासम्म हुने विद्युत् भारवहन गर्न कति सबस्टेसन, कति फिडर, कति ट्रान्समिटर चाहिन्छ भन्ने अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘त्यसमा लगानी गर्ने गरी छिट्टै परियोजना सार्वजनिक गर्छौं ।’

उनले पोखरामा गुड्ने ट्याक्सी र माइक्रोबसलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न महानगर प्रमुख आचार्यलाई सुझाव दिए । विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउन प्राधिकरणले काम गरिरहेको बताउँदै उनले विद्युतीय सवारी १५–२० प्रतिशत सस्तो पर्ने बताए ।

पोखरा महानगरपालिकाले फोहोरबाट बिजुली उत्पादन गरे प्राधिकरणले किन्ने प्रतिबद्धता पनि उनले गरे ।

प्रकाशित : भाद्र १७, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×