कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पहिरोले बेंसीसहर–चामे सडक क्षतविक्षत

यात्रा कष्टकर
आश गुरुङ

लमजुङ — केही दिनदेखिको वर्षापछि बाढीपहिरो जाँदा हिमाली जिल्ला मनाङ पुग्ने बेंसीसहर–चामे सडक ठाउँठाउँमा क्षतविक्षत भएको छ । बाढीपहिरोले सडक भत्काउनुका साथै बगाउँदा सडक अवरुद्ध हुने गरेको छ । लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकमध्ये लमजुङ खण्डको ३५ किलोमिटरमा बढी समस्या देखिएको छ ।

पहिरोले बेंसीसहर–चामे सडक क्षतविक्षत

लमजुङ खण्डको बेंसीसहर नजिकै खरखरे, मर्स्याङ्दी गाउँपालिकाकाले च्याम्चे, रामबजार आसपासमा दैनिक पहिरो खस्ने गरेको छ । मनाङतर्फ सिरानताल–निगालोघारीमा पहिरो चल्ने गरेको छ । राष्ट्रिय वाणिज्य बैंक चामे शाखामा कार्यरत रञ्जित लामाले बाढीपहिरोले बेंसीसहरदेखि चामेसम्मको यात्रा निकै कठिन रहेको बताए ।

‘जता हेर्‍यो त्यतै पहिरो । पहिरोले हिँड्नै गाह्रो छ । बेंसीसहरदेखि ५ घण्टामा पुगिने चामे पहिरो नगएकै समय ७ घन्टा लाग्ने गरेको छ । पहिरो गए त कहिले हो भन्नै सकिँदैन,’ लामाले भने । उनले मनाङ खण्डमा भन्दा लमजुङ खण्डमा बढी समस्या रहेको बताए ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार सबैभन्दा बढी खरखरे पहिरोले समस्या बनाएको छ । रामबजार र च्याम्चेमा पहिरो पहिरो जाने गरेको छ । मनाङ खण्डको निगालोघारी–सिरानतालमा पनि पहिरो जाने गरेको छ । ‘पहिरो गएपछि हामीले खुलाउने गरेका छौं । पानी परेको समयमा पहिरो खुलाउन सकिँदैन । अरु समय हामीले खुलाउने गरेका छौं ।’ उनले पहिरोमा सडक खुलाउने गरिए पनि फेरि पानी परेपछि पहिरो जाने गरेको बताए । उनले शनिबार खरखरे र सिरानताल–निगालोघारीमा पहिरो गएको र खुलाउने प्रयास भइरहेको बताए । ‘पहिरो पन्छाउँदै गर्दा माथिबाट पहिरो खसिरहेको हुन्छ । जोखिम मोलेरै हामीले सडक खुलाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलका अनुसार वर्षाका कारण बाढीपहिरो हुँदा बेंसीसहरदेखि चामेसम्मको यात्रा कठिन हुने गरेको छ । ‘प्रायः लमजुङतर्फको पहिरोले बाटो अवरुद्ध हुने गरेको छ । मनाङतर्फ स–साना पहिरो हो, एक–आधा घन्टामा खुल्छ । मुख्य समस्या लमजुङको खरखरेको हो,’ उनले भनिन् ।

प्रकाशित : श्रावण २९, २०८० ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?