२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सिँचाइ डिभिजन कास्कीको नयाँ भवन उद्घाटन

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीको भवनको उद्घाटन गरिएको छ । बुधबार ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले भवनको उद्घाटन गरेकी हुन् ।

सिँचाइ डिभिजन कास्कीको नयाँ भवन उद्घाटन

५ करोड ९९ लाख ७६ हजार ९ सय ७८ रूपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ३ करोड ५० लाख १५ हजार ६ सय ४३ रूपैयाँमा ठेक्का लिएको थियो । ३ हजार २ सय ६ वर्गफिट जग्गामा बनेको यस भवनको २२ वटा कोठा रहेको डिभिजन कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए । आचार्यले डिभिजन कार्यालयको ७ रोपनी ८ आना जग्गा रहेको बताए । यो भवनको २०७८ असार २१ गते सम्झौता भई हालै सम्पन्न भएको हो ।

पूर्वाधार विकास कार्यालय कास्कीले निर्माणको रेखदेख गरेको थियो । संघीय सिँचाइ मन्त्रालयअन्तर्गत तत्कालीन सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाले कास्की र स्याङ्जा जिल्ला कार्य क्षेत्र हुने गरी सेवा प्रवाह गर्दै आएको थियो । आव २०७२/७३ मा कास्की जिल्ला हेर्ने गरी छुट्टै सिँचाइ कार्यालयको स्थापना भएको थियो ।

संघीयता कार्यान्वयनसँगै उक्त कार्यालय प्रदेश सरकार मातहतमा आएको थियो । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसमेत एकीकृत भई तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत २०७५ भदौ २८ मा पोखरा–१३ माझाबाटनस्थित स्थापना गरिएको थियो । २०७८ जेठ ५ मा भौतिक मन्त्रालय टुक्रिएर ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत यो कार्यालय रह्यो । कार्यालयले सिँचाइ, नदी नियन्त्रण, बाढीपहिरो रोकथाम, ढल-बाढी व्यवस्थापन, फेवाताल, बेगनास तालको सञ्चालन तथा मर्मत ऊर्जा विस्तारलगायत कार्यक्रम गर्दै आएको प्रमुख आचार्यले जानकारी दिए ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले प्रदेशका ११ जिल्लाका सिँचाइ डिभिजन कार्यालयमध्ये कास्कीले ९० प्रतिशत भौतिक प्रगति गरेर उत्कृष्ट रहेको बताए ।

प्रकाशित : श्रावण १०, २०८० १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?