कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

गण्डकीमा दुई नक्कली परीक्षार्थी पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश लोक सेवा आयोगले लिएको वनरक्षक (वनपाले) परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–९ का अनुराग गिरी र मालिकाबोता–८ का पदम बुढा रहेका छन् ।

गण्डकीमा दुई नक्कली परीक्षार्थी पक्राउ

दुवै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले बताए । नागरिकता प्रमाणपत्र नम्बर ६०–८९७, रोल नम्बर १०४० का वास्तविक परीक्षार्थी चन्दननाथका विनोद गिरीको नाममा अनुराग गिरी र नागरिकता प्रमाणपत्र नम्बर ६०–३५३, रोल नम्बर ११७१ का वास्तविक उम्मेदवार मालिकाबोटाका खेमराज रावतको नाममा पदम बुढाले परीक्षा दिन आएको अध्यक्ष नेपालले बताए ।

आयोगले जेठ २८ देखि असार २३ गतेसम्म पहिलो चरणमा शारीरिक तन्दुरुस्ती परीक्षण संचालन गरेको छ । सोहीअन्तर्गत शारीरिक परीक्षण र दौड भइरहेको छ । वन रक्षकको लागि दौड, पौडी र रुख चढ्ने प्रतिस्पर्धामा पास भएपछि मात्र लिखित परीक्षामा सहभागी हुन सकिन्छ । ‘विनोद र खेमराज शारीरिकरुपमा अशक्त हुन सक्छन् । त्यसैले परीक्षाको लागि भाइहरु सहभागी भए ।’ नक्कली परीक्षार्थीले आफूहरु दाइको नाममा परीक्षा दिन आएको स्वीकार गरेको आयोगले जनाएको छ ।

नागरिकतामा टाँसिएको फोटो उक्काएर नक्कली परीक्षार्थीले आफ्नो फोटो टाँसेका थिए । ‘हामीले आँखा, हात खुट्टा र नङसमेत गहिराईबाट हेरेका थियौ,’ आयोगका अध्यक्ष नेपालले भने, ‘रेखा विशेषज्ञ (औंठा छाप)ले पत्ता लगाउनुभएको हो ।’ वनरक्षकको एक सय दरबन्दीका लागि १३ हजार जनाले आवेदन दिएका छन् । आगामी असार २३ गतेपछि मात्र आयोगले लिखित परीक्षाको लागि सूचना प्रकाशन गर्ने जनाएको छ ।

गण्डकी प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४६ मा आयोगले प्रकाशन गरेको विज्ञापनबमोजिम परीक्षामा कुनै व्यक्तिले पेस गरेको विवरण झुट्टा वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त, परीक्षा, अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्द गर्न सक्ने व्यवस्था गरेको छ । सोही ऐनको ऐनको दफा ३० मा कुनै उम्मेदवारले कुनै परीक्षा केन्द्रमा अनियमित काम कारबाही गरेमा वा आयोगले तोकेको सर्त उल्लंघन गरेमा आयोगले त्यस्तो उम्मेदवारको परीक्षा रद्द गरी त्यसपछि हुने कुनै पनि विज्ञापनबमोजिम परीक्षामा आयोगले तोकेको अवधिसम्म निजलाई उम्मेदवार हुन नपाउने गरी निलम्बन गर्न सक्ने व्यवस्था गरेको छ ।

गण्डकी प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३० बमोजिम नक्कली उम्मेदवार खडा गरी परीक्षा दिन लगाउने विनोद गिरी र खेमराज रावतको परीक्षा रद्द गरी आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा ५ वर्षसम्म रोक लगाइएको छ । अध्यक्ष नेपालका अनुसार नक्कली परीक्षार्थीलाई भने प्रहरीले नै कारबाही गर्नेछ ।




प्रकाशित : जेष्ठ ३०, २०८० १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×