विपद् प्रतिकार्य तालिम सञ्चालन

सम्झना रसाइली

तनहुँ — व्यास–१० मादी नदी किनारमा सोमबार सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ ।  गण्डकी प्रदेश सरकार, नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर र व्यास–५ चापाघाटको कालीभञ्जन गण (ई) को संयुक्त आयोजनामा विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’को नमुना प्रदर्शनी गरिएको थियो । 

विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित प्रतिकार्य तालिम तथा विपद नमुना अभ्यास प्रर्दशनी गरिएको व्यास–५ चापाघाटस्थित कालीभञ्जन गण (ई) का गणपति प्रमुख सेनानी रामज्योति बोहोराले बताए । उनका अनुसार तालिममा व्यास नगरपालिकाका विभिन्न वडाबाट २८ र म्याग्दे गाउँपालिकाका विभिन्न वडावाट ८ गरी ३६ जनालाई सहभागी गराइएको थियो ।

वर्षायाममा जिल्लामा हुनसक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय अवलम्बन गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम र प्रदर्शन गरिएको हुँदा तालिमले विपद्का बेला उद्धार तथा विपद्को पूर्वतयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्ने गणपति बोहोराले बताए ।

विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ कार्यक्रममा सेनाका संयुक्त टोलीले भूकम्प र आगलागीसँगै, पहिरो, बाढी, डुबानमा परेको बस्ती र स्थानीयलाई उद्धार प्रक्रियाको प्रदर्शनी प्रस्तुत गरिएको थियो । यस प्रदर्शनीमा नेपाली सेनाको एक गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी तथा व्यास नगरपालिकाका नगर प्रहरी, एम्बुलेन्स तथा दमकलको प्रयोग गरिएको थियो ।

कार्यक्रमको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताए । उनले भने, ‘विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्त्वपूर्ण छ । त्यसमध्ये पनि नेपाली सेनाले खेल्दै आएको भूमिका उच्च प्रशंसनीय रहेको छ ।’

वि.सं. २०७२ सालको भूकम्प होस् वा विमान दुर्घटनामा नेपाली सेनाको प्रदर्शन उच्च प्रशंसनीय रहेको र विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव नहुने हुँदा यसका लागि सामूहिक प्रयास आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

‘विपद् व्यवस्थापनमा प्रदेश सरकारले समन्वयात्मक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएको र विपद्लाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यस वर्ष सुरक्षाकर्मीको क्षमता अभिवृद्धि तथा सामुदायिक प्रतिकार्यका लागि सहयोग गरेको, विद्यालय स्तरको पाठ्यक्रममा पनि विपद् न्यूनीकरणलाई समावेश गर्ने विषयमा छलफल अगाडि बढाइएको छ ।’

यस्तै, नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति एवं उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जीउधन सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । ‘गण्डकी प्रदेशमा विगत तीन वर्षमा बाढीपहिरो, आगलागी, हिमपहिराबाट २१८ जनाको मृत्यु भएको तथ्याङ्क छ’, उनले भने, ‘विपद्बाट गण्डकी प्रदेश जोखिमको सूचीमा छ ।’

तनहुँ जिल्ला विपद्को सूचीको अग्रस्थानमा रहेकाले नमुना अभ्यासले विपद् जोखिम न्यूनीकरणका लागि सहयोग पुग्ने व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘तनहुँ जस्तो भू–बनोट भएको क्षेत्रमा विपद्का घटना न्यूनीकरणका लागि जटिलता रहेकाले सबैको सामूहिक प्रयासको खाँचो रहेको छ ।’

बर्सेनि वर्षातको समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पुर्‍याउने गरेकाले यस प्रकृतिको तालिम प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनले भने, ‘बर्सातको समयमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण तथा बाढीबाट हुने क्षतिको तत्काल उद्धार गर्नका लागि समयमा नै सरोकारवाला निकायसँग समन्वय गरी जोखिमयुक्त इलाकाको पहिचान, उद्धार तथा बाढीमा फसेका व्यक्तिको उद्धार गर्न सिकाई हुने छ ।’

गण्डकी प्रदेशका गोरखा, मुस्ताङ र मनाङमा हिमपहिरो र पहाडी र तराई छोएका जिल्लामा बाढी पहिराको जोखिम रहनुका साथै प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट पनि यी जिल्लाहरु प्रभावित हुँदै आएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०८० १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

चलेन चोभार सुक्खा बन्दरगाह, वीरगन्जमा थन्किएका सवारीसाधन सार्ने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा आएको १ वर्ष वितिसक्दा पनि यसको उपयोग भने करिब शून्यजस्तै छ । दैनिक २–३ वटा सवारीसाधनले मात्रै यो सुक्खा बन्दरगाह उपयोग गर्ने गरेका छन् । यसको क्षमताको तुलनामा यो नगन्य हो । यस बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले सरोकारवालाहरुसँग छलफल गर्दै आएको छ ।

बन्दरगाह चल्न नसकेपछि विरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी र सुक्खा बन्दरगाहमा थन्किएका सवारीसाधनलाई चोभारमा ल्याएर राख्ने तयारी भएको छ । आइतबार मात्रै समितिले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालसँग यस विषयमा छलफल गरेको छ । सो छलफलका क्रममा समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि निजी क्षेत्रको साथ चाहिएको बताए ।

सो क्रममा गजुरेलले वीरगन्जमा थन्किएका १ हजार ९ सय ५० वटा नयाँ जीप र भ्यानलाई चोभार सुक्खा बन्दरगाहमा ल्याउने सम्बन्धमा कानुनी व्यवस्था भइसकेको जानकारी दिए । साथै उनले आयातित ती सवारीसाधनलाई वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहसम्म गुडाएर ल्याउने व्यवस्थाका लागि नाडासँग आग्रह गरे । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले नयाँ गाडीहरुको आयातको लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास हुने गरी नयाँ एलसी खोलिएको र सोही बमोजिम नयाँ गाडीहरु चोभारमै जाँचपास हुने दाबी गरे । नाडाले सबै व्यवसायीलाई चोभार सुक्खा बन्दरगाहबाट सवारी जाँचपास गराउन अनुरोध गर्ने थापाले जानकारी गराए ।

नेपालको भारततर्फ व्यापारलाई सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले हाल विराटनगरमा १, वीरगञ्जमा २, भैरहवामा १ र काकडभित्तामा १ गरी ५ वटा सुक्खा बन्दरगाह सञ्चालनमा छन् । त्यस्तै चीनतर्फको व्यापार सहजीकरणका लागि सिन्धुपाल्चोकको तातोपानीमा एउटा सुक्खा बन्दरगाह सञ्चालन भइरहेको छ । ती बन्दरगाहमा जाँचपास हुन नसकेका सवारीलाई चोभार सुक्खा बन्दरगाहमार्फत प्रक्रिया पूरा गराई काठमाडौं उपत्यका भित्र्याउने उद्देश्यले यो बन्दरगाह संचालनमा आएको हो । यो बन्दरगाह चल्न नसकेपछि संचालक समितिले यसअघि उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल फ्रेट फरवार्डस् एसोसिएसन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लगायत सरोकारवालासँग नियमित छलफल गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ८, २०८० १९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×