कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोर्दीको दैलुङमा विद्यालय स्थापना

आश गुरुङ

लमजुङ — गाउँपालिकामै अन्यत्र विद्यालय मर्ज भइरहँदा दोर्दी गाउँपालिका ७, तल्लो दैलुङमा भने छुट्टै विद्यालय स्थापना गरिएको छ । वडाध्यक्ष रिसमाया गुरुङका अनुसार गाउँमा विद्यालय नभएपछि बालबालिकाले पढ्न पाएका थिएनन् ।


गाउँलेहरू बसाइँ सर्न थाले । ‘हुनेखानेले सहरबजारमा छोराछोरी पढाएका छन् । यहाँका बालबालिका यतिकै राख्न भएन । ठूला भएपछि त हिँडेर पनि जान्छन्‚’ उनले भनिन्, ‘गाउँकै स-साना विद्यार्थी पढाउन विद्यालय खोल्यौं ।’

विद्यालयलाई गाउँकै जलदेवी आमा समूहको भवनमा सञ्चालन गरिएको छ । विद्यालयको नाम जलदेवी प्रावि (आधारभूत) राखिएको छ । विद्यालयमा शिक्षक राजकुमारी गुरुङलाई खटाएको र उनको छोरा पनि उक्त विद्यालयमै भर्ना भएको शिक्षा शाखा प्रमुख भीमप्रसाद लामिछानेले बताए ।

उनका अनुसार अहिले ४ देखि ६ वर्षसम्मका ६ जना विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउन थालिएको छ । कूल १६ घरधुरी रहेकोमा २ जना छात्र र ४ जना छात्रा गरी ६ जना बालबालिका उक्त विद्यालयमा भर्ना भएका छन् । विद्यार्थी बढ्दै गएमा ५ कक्षासम्म पठनपाठन सञ्चालन गर्न पाइने अनुमति लिइएको छ ।

गाउँमा विद्यालय नहुँदा सानै उमेरका केटाकेटी छिमेकी गाउँ माझखर्कको महेन्द्रज्योति प्रावि, लम्सीबोटको जीवन आधारभूत विद्यालय, कीर्तिपुरको भगवान आधारभूत विद्यालयलगायत जानुपर्ने बाध्यता थियो । सबै विद्यालय पुग्न पैदल एकतर्फी २ घण्टा लाग्ने भएपछि गाउँमै विद्यालय स्थापना गरिएको वडाअध्यक्ष गुरुङले बताइन् । उनका अनुसार गाउँमा विद्यालय स्थापनासँगै विद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहून् भन्ने उद्देश्यका साथ विद्यालय स्थापना गरिएको बताए । ‘हामीले विद्यालय मर्ज गरेका छौं । भौगोलिक दुरीको हिसाबले विद्यालय राख्नैपर्ने अवस्था र सञ्चालन गर्नै पर्ने अवस्थामा हामीले राखेका छौं, खोलेका छौं‚’ उनले भने । मर्ज गरिएका विद्यालयको सबै सम्पत्ति नजिकैको विद्यालयमा गाभिएको छ । नयाँ खुलेका विद्यालयको संरचना गाउँपालिकाले बनाउने उनले बताए ।

दोर्दीमा हाल ४८ वटा विद्यालय छन् । यसमा माध्यमिक विद्यालय ८ वटा छन् । निम्न माध्यमिक विद्यालय ६ वटा छन् । अरु सबै प्राथामिक विद्यालय हुन् । यद्यपि अहिले कक्षा १ देखि ८ सम्मलाई आधारभूत विद्यालय भनिन्छ । आधारभूत विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोमा विद्यार्थीलाई गाउँ फर्काउने प्रयास गरिएको अध्यक्ष अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ ७, २०८० ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

१० लाख हेक्टर जमिन बाँझो छ : कृषिमन्त्री भुसाल

‘विदेशिने युवालाई यहीँ रोक्ने हो । हाम्रो रैथाने बालीलाई संरक्षण गर्दै उन्नत बिउ बनाउन कृषि अनुसन्धान केन्द्रले अनुसन्धान गरिरहेको छ ।’
वीरेन्द्र केसी

अर्घाखाँची — कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले पछिल्लो समय नेपालमा व्यक्तिको स्वामित्वमा रहेको १० लाख ३० हजार हेक्टर क्षेत्रफल जमिन बाँझो भएको तथ्यांक रहेको बताए । पहिला गाईबाख्रा चराउँदै आएको वन क्षेत्रमा अहिले झाडी बनेर बाँदर र वन्यजन्तुको बासस्थान हुनुमा जटिल समस्या उत्पन्न भएको उनले बताए ।

सन्धिखर्कमा पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसालले बाँझो रहेको एकतिहाइ जमिनलाई चक्लाबन्दी गरेर यान्त्रीकरण र औद्योगीकीकरण गरेर पढेलेखेका युवालाई कृषि उद्यममा जोड्ने र उत्पादन वृद्धि गर्ने नीति अनुसार सरकारले आउँदो बजेटमा सम्बोधन गर्ने बताए । भनेजति राजश्व उठ्न नसकेका कारण बजेटको आकार घटे पनि कृषि क्षेत्रमा बजेट धेरै नघट्ने उनले बताए ।

‘वन क्षेत्रमा पनि सघन कृषि वनको रुपमा उपयोग गरेर बाँदर र वन्यजन्तुले नोक्सान नगर्ने खेती गर्ने योजना छ,’ उनले भने, ‘विदेशिने युवालाई यहीँ रोक्ने हो । हाम्रो रैथाने बालीलाई संरक्षण गर्दै उन्नत बिउ बनाउन कृषि अनुसन्धान केन्द्रले अनुसन्धान गरिरहेको छ ।’

अमला मात्रै नेपालमा वर्षमा २ अर्बको भित्रिने तथ्यांक रहेको बताउँदै उनले पाखो खरबारीमा अमला खेती व्यापक गर्न युवालाई आग्रह गरे । ‘अब आफूलाई उत्पादनमा आफैं आत्मनिर्भर बन्नुपर्छ,’ उनले भने, ‘सामूहिक खेती प्रणाली अपनाएर उत्पादन वृद्धि गर्न सरकारले लागि परेको छ ।’ अर्को चुनावसम्म टिक्ने भएकाले वर्तमान सरकारले नै मुलुकलाई आर्थिक समृद्धिमा परिवर्तन गर्ने दाबी उनले गरे ।

प्रकाशित : जेष्ठ ७, २०८० ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×