ह्वीलचियरमै बसेर एसईई

लमजुङमा २ हजार ७ सय ९२ जनाले १७ परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन्
आश गुरुङ

लमजुङ — एक जना निरीक्षकलाई सँगै राखेर सुन्दरबजार नगरपालिका–४ पाँचघरेका ईश्वर अधिकारीले जनविकास मावि बेंसीसहरमा एसईई दिएका छन् ।उक्त स्कुलकै परीक्षार्थी उनको केन्द्र भने जनविकास मावि चण्डीडाँडा हो ।

जनविकास बेंसीसहरका केन्द्राध्यक्ष जितबहादुर कोइरालाका अनुसार माथिल्लो जनविकास जान नसक्ने भएपछि उनलाई तल्लो जनविकासमै परीक्षा दिने व्यवस्था मिलाइएको हो । बजारबाट चण्डीडाँडाको विद्यालयमा पुग्न सवारी साधनमा करिब १५ मिनेट लाग्छ ।

दुवै खुट्टा नचल्ने उनले ह्वीलचियरमै बसेर परीक्षा दिएका हुन । परीक्षा केन्द्रसम्म उनी टेम्पोमा आएका थिए । ‘ईश्वर हिँड्डुल गर्द सक्दैनन् । दुवै खुट्टा नचल्ने भएपछि कसरी माथि जानु । तलैबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । उत्तरपुस्तिका भने माथि (जनविकास चण्डीडाँडा) लगिएको छ’ उनले भने । परीक्षाको तयारी राम्रो गरेको र ढुक्कले परीक्षा दिइरहेको परीक्षार्थी ईश्वरले बताए । बेंसीसहरकै भूपू सैनिक आवासीय मावि केन्द्रमा बेंसीसहर नगरपालिका–१० खासुरबेंसीको जनजागृति माविका परीक्षार्थी सविना तामाङले सहयोगी राखेर परीक्षा दिएकी छन् ।

कक्षा ९ का सोनिया तामाङको सहयोगमा सविनाले परीक्षा दिइरहेको जनजागृतिका प्रधानाध्यापक नन्दबहादुर घलेले बताए । सविनामा हात नचल्ने समस्या छ । ‘लेख्दालेख्दै हातदेखि ज्यान सबै भित्रभित्रै टोक्ने । लेख्नै नमिल्ने भएकाले सहयोगीको व्यवस्था गरेका छौं’ उनले भने । उनलाई केन्द्राध्यक्ष विनोद गुरुङले एक जना निरीक्षक राखेर छुट्टै कोठामा परीक्षा दिने व्यवस्था मिलाएका हुन् ।

बेंसीसहर–२ भकुण्डेको बालकल्याण मावि केन्द्रमा बेंसीसहर–३ बाहुनबेंसीका विजय घिमिरेले सहयोगीको भरमा परीक्षा दिइरहेका छन् । स्थानीय यशोब्रह्म माविका प्रधानाध्यापक सूर्यप्रसाद बरालका अनुसार दायाँ हात भाँचिएपछि विजयले कक्षा ९ मा पढ्ने विपिन बोहराको सहयोग लिएका छन् । उनलाई पनि परीक्षा दिन एक जना निरीक्षकसहित छुट्टै कोठाको व्यवस्था गरिएको केन्द्राध्यक्ष तीर्थराज न्यौपानेले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख वीरबहादुर गुरुङका अनुसार शुक्रबारको अनिवार्य अंग्रेजी विषयमा ७ छात्र र ८ छात्रा अनुपस्थित रहे । १ हजार ३ सय ६६ पुरुष र १ हजार ४ सय २६ महिला गरी २ हजार ७ सय ९२ जनाले परीक्षा दिएका छन् । २ परीक्षार्थीले ग्रेडवृद्धिको परीक्षा दिनेछन् । जिल्लामा १७ परीक्षा केन्द्र छन् ।

२ दृष्टिविहीन र ९ सुस्तश्रवण परीक्षामा

गोरखा – जिल्लामा २ दृष्टिविहीन र ९ सुस्तश्रवण विद्यार्थी एसईई परीक्षामा सहभागी छन् । सहिद स्मृति मावि बुंकोटको दृष्टिविहीन छात्राले हिमालय मावि घैरुङ र देवी जलकुमारी मावि थुमिकी दृष्टिविहीन छात्राले भीमोदय मावि आरुघाटबाट परीक्षा दिएका हुन् । त्यस्तै मनकामना बहिरा माविका ९ विद्यार्थी रत्नराज्य मावि विरेन्चोकबाट परीक्षा दिएका छन् ।

एसईईका लागि १२ संस्थागत र १ सय २२ सामुदायिक विद्यालयका विद्यार्थीका लागि २३ परीक्षा केन्द्र छन् । यस वर्षको एसईई दिने तीन हजार ८ सय ४४ परीक्षार्थीमध्ये पहिलो दिन २३ जना अनुपस्थित रहेको जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख सुवास आचार्यले जानकारी दिए । ग्रेड वृद्धि परीक्षामा १४ जना, प्राविधिकतर्फका ८२ र साधारण ३ हजार ७ सय ४८ परीक्षार्थीले एसईई दिँदै छन् । पहिलो दिनको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको प्रमुख आचार्यले बताए ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

एसईईका केन्द्राध्यक्ष निष्कासित

बारामा ५ जनालाई कारबाही, पर्सामा २ सय ९२ परीक्षार्थी अनुपस्थित, परीक्षा केन्द्रमा खटिएका प्रहरीको मृत्यु
मधेस ब्युरो

जनकपुर — शुक्रबारदेखि सुरु भएको एसईईको प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा बाराका एक परीक्षा केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र दुई निरीक्षकलाई निष्कासन गरिएको छ । आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाहा माध्यमिक विद्यालय केन्द्रबाट कारबाही गरिएको हो ।

पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएलगत्तै बाहिरिएपछि केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जना कारबाहीमा परेका हुन् । साथै एक परीक्षार्थी निष्कासनमा परेका छन् ।

केन्द्राध्यक्ष दिनेश साहको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको भन्दै त्यसको अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारीसहित परीक्षा समन्वय समिति टोलीले कारबाही गरेको हो । समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष साह, सहायक केन्द्राध्यक्षद्वय पदम चौधरी र विजय चौधरीलाई परीक्षा अवधिभरको जिम्मेवारीबाट हटाइएको छ ।

पर्सामा भने २ सय ९२ जना नियमित परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख फत्तबहादुर श्रेष्ठका अनुसार नियमिततर्फ ८ हजार ५ सय ९०, ग्रेड वृद्धितर्फ ३ सय ९० र प्राविधिक धारतर्फ १ सय ८५ परीक्षार्थी छन् । मधेश प्रदेशमा ७९ हजार ९४ जना परीक्षार्थीका लागि २ सय ७९ परीक्षा केन्द्र व्यवस्था गरिएको छ । त्यसका निम्ति ७ हजार ५ सय ७९ जना कर्मचारी खटाइएको छ ।

एसईईमा सप्तरीबाट ९ हजार ५ सय २७, सिरहाबाट १० हजार १ सय ५०, धनुषाबाट १२ हजार १ सय ४६ सहभागी छन् । यस्तै, महोत्तरीबाट ९ हजार ८४, सर्लाहीबाट १० हजार ९ सय १६, रौतहटबाट ८ हजार ९ सय ५७, बाराबाट ९ हजार १ सय ७९ र पर्साबाट ९ हजार १ सय ६५ जना परीक्षार्थी रहेको प्रदेशको शिक्षा मन्त्रालयले जनाएको छ ।

महोत्तरीको बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता मावि धमौरा परीक्षा केन्द्रमा खटिएका असई ललनकुमार राय पटेलको मृत्यु भएको छ । सुरक्षामा खटिएका पटेलको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी दिलीप गिरीले जानकारी दिए । मृतक पटेल रौतहटको गौर–२ का बासिन्दा थिए ।

वीरगन्ज कारागारका १५ कैदीबन्दीले एसईई दिएका छन् । त्रिजुद्ध मावि केन्द्रको उपकेन्द्रका रूपमा कारागारमा परीक्षा सञ्चालन गरिएको छ । जेलर दिनेश सोनारले कैदीबन्दीलाई शान्त वातावरणमा अध्ययनको व्यवस्था रहेको र शान्त वातावरणमा परीक्षा सुरु भएको बताए ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×