कालिकामा चैते दसैंको घुइँचो

कान्तिपुर संवाददाता

बागलुङ — चैते दसैं बागलुङे मेलैमा, लाइदेऊ माया भेटभाको बेलैमा
उपरोक्त चर्चित लोकगीत जस्तै बागलुङ कालीका मन्दिरमा चैते दसैंको रौनक सुरु भइसकेको छ । चैते दसैंको अवसर पारेर कालिका मन्दिरमा सयौं भक्तजनको भीड लाग्न थालेको छ । शनिबार मात्रै हजारौं भक्तजनको भीड लाग्यो ।


चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म यहाँ स्वतःस्फूर्त मेला लाग्छ । कालीका भगवती गुठी व्यवस्थापन समितिले भक्तजनलाई सहजै पूजा गर्ने वातावरणका लागि मन्दिरका ३ ढोका खोलेर तीन लाइनमा पूजाको व्यवस्थापन गरेको अध्यक्ष कुमार खड्काले बताए ।

मेलामा खासगरी नाङला, डाला, ठेका तथा घरेलु हतियार बिक्री गरिन्छ । चैते दसैंमा सयौं पञ्चवलि आउने गर्छन् । यो पटकको नवमीसम्ममा कम्तीमा २० लाख भक्तजन आउन सक्ने गरी व्यवस्थापनको तयारी भएको खड्काले बताए । चैते दसैंका अवसर पारेर गुठीले खुला भलिबल र लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरेको छ । शनिबारदेखि नै सयौं भक्तजन, व्यवसायीसमेतले यहाँको बाङेचउर मैदानसम्म व्यवसाय, खेल तथा विभिन्न गतिविधि गरेर मेला भरेका छन् । झन्डै ६ सय वर्ष पुरानो मन्दिर दुई दशकअघि जीर्णोद्धार गरिएको थियो । यसअघिको छानाबाट पानी चुहिएपछि फेरि नयाँ ढंगले निर्माण गरिएको खड्काले बताए ।

पोखरा–बागलुङ सडकदेखि ७ सय मिटर पैदल हिँडेपछि जंगलभित्र कालिका मन्दिर अवस्थित छ । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग १५९१ सालमा विवाह गर्दादेखि कालिका मन्दिर बनाइएको इतिहास छ । राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई पनि साथैमा ल्याएकाले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । राजकुमारी कालिका देवीको भक्त भएकाले उनले कालिकाको प्रत्यक्ष दर्शन पनि पाउने गरेको जनश्रुति रहेको संस्कृतिविद् प्राज्ञ प्रेमछोटा बताउँछन् । कालिका देवीलाई माझकी काली, देवी माइस्थानलगायत नामले चिनिँदै हालको बागलुङ कालिकाको नाममा रूपान्तरण भएको हो ।

प्रकाशित : चैत्र १२, २०७९ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

कराते महासंघको नेतृत्वमा लामा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापकमध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ । महाधिवेशनले कुशल खेल प्रशासकको परिचय स्थापित गरेका लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको छ ।

राखेपले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारणसभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघ, तदर्थ समिति गठन गरेको थियो । लामाअघिको तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिनाभित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न नसकेपछि राखेपले करातेका पूर्वखेलाडी लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको हो ।

त्यसबेला लामाले अध्यक्षको पत्र ग्रहण गरेपछि राखेपले दिएको समय सीमा भित्रै विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन् । दावा गुरुङले महासचिव, ध्वजमान मोक्तान र बलराम मित्रले सचिव तथा किशोरप्रसाद भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाए ।

रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन भए ।

प्रकाशित : चैत्र १२, २०७९ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×