मदारबाबा मेलामा चहलपहल सुरु- गण्डकी - कान्तिपुर समाचार

मदारबाबा मेलामा चहलपहल सुरु

नारायण शर्मा

पूर्वी नवलपरासी — दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दुई दिनअघिदेखि चहलपहल सुरु भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने यहाँको मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू ओइरिएका छन् । 

दाउन्ने डाँडाको टाकुरामा रहेको मुस्लिम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मदारबाबा मेलामा हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको उत्तिकै घुइँचो लाग्छ । भोलिबाट १० दिनसम्म सञ्चालन हुने मेलामा बजार राख्नेहरूको दुई दिनअघिदेखि नै भीडभाड लागेको छ । मदारबाबा जाने कच्ची बाटोको दुवैतर्फ पसल थाप्नेहरू दुई दिनअघिदेखि यहाँ आएका छन् । बाटामा छाप्रा र अस्थायी टहरा बनाएर फूल, प्रसाद, ध्वजापताका खाद्यान्न पसल र होटल राखेका छन् ।

लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकाको महलबारीमा रहेको मस्जिदबाट करिब ४, ५ घण्टा ठाडो उकालो हिँडेपछि मदारबाबा थान (मुस्लिम धर्मावलम्बीको पूजा गर्ने स्थान) मा पुगिन्छ । यहाँ नेपाल भारतका हजारौँ तीर्थालुहरू आउने गर्छन् । दाउन्ने डाँडाको टाकुरामा सयौं वर्षअघि मुस्लिम धर्मावलम्बीका गुरूले तपस्या गरेको स्थल छ । त्यही स्थललाई मदार बाबाका नामले प्रसिद्धी पाएको छ । त्यहाँ मुस्लिम पराम्पराअनुसार आउँदो फागुन ५ गतेसम्म पूजाआजा गर्ने चलन छ । त्यहाँ पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासले भारत–नेपालका हजारौँ तीर्थालु र भक्तजनहरू मन्दिर (मदारबावाको तपस्यास्थल) मा आउने गर्छन् ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मेला व्यवस्थित गर्न त्यहाँ सुरक्षाको राम्रो व्यवस्था गरिएको जानकारी दिए । मन्दिर रहेको स्थान गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा पर्दछ भने प्रवेशस्थल लुम्बिनी प्रदेशको महलबारीबाट सुरु हुन्छ । दुवैतर्फका सुरक्षा निकायलाई खटाएर त्यहाँ एकीकृत सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ लम्सालले बताए ।

मदारबाबा मेला व्यवस्थापन समितिका पूर्वअध्यक्ष जमाल उद्धिन अन्सारीले १० दिनको यो मेलामा ७ लाखभन्दा बढी श्रद्धालुहरू आउने बताउँछन् । हरेक दिन एक लाखको हाराहारीमा श्रद्धालुहरू आउने उनको दाबी छ । भारतको पनि निकै टाढाबाट यहाँ श्रद्धालु आउने उनले सुनाए । जंगलैजंगल र धुलाम्मे बाटो भएर भक्तजनहरू मदारबाबा थानमा पुग्ने गर्छन् । दाउन्ने पहाडको डाँडामा मदारबाबा थान रहेको छ । मुस्लिम मन्दिर रहे पनि हिन्दु र अन्य धर्मावलम्बीहरूको उत्तिकै आर्कषण रहेको उनको भनाइ छ । महलबारी बजारबाट करिब ६ किलोमिटर ठाडो उकालो हिँडेपछि मदारबाबा थानमा पुगिन्छ । त्यहाँ जंगलैजंगल र धुलाम्मे बाटो हुँदै भक्तहरू पैदल जाने गर्छन् । स्थानीय भीम न्यौपानेले बिहीबारबाट मेला सुरु हुने भए पनि दुई दिनअघि नै स्थानीयहरू आएर पसल राखिसकेको बताए ।

प्रकाशित : माघ २५, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्

वैकल्पिक राजनीतिको वकालत गर्नेहरूमा पनि सत्तालिप्साको प्रवृत्तिमात्रै देखियो : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले वैकल्पिक राजनीतिको वकालत गर्नेहरूमा पुरानै सत्तालिप्साको प्रवृत्ति देखिएको बताएका छन् । उनले एउटा व्यक्तिलाई बलियो बनाउने र हुन चाहने प्रवृत्तिले लोकतन्त्र र अहिलेको व्यवस्थामाथि सधैं खतरा हुने बताए ।

बुधबार काठमाडौंमा भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले नयाँ व्यवस्थापछिको दोस्रो निर्वाचनबाट पनि जनताले स्थायी सरकार र आर्थिक संमृद्धि मार्ग पहिल्याउन नपाउनु दुःखद भएको बताए ।

‘संविधान जारी भएपछि दोस्रो पटक निर्वाचन भइसकेको छ । कतै यो व्यवस्था माथि नै खतरा त होइन ? भन्ने प्रश्नहरू उठिरहेका छन्,’ उनले भने, ‘तर कसैले नचाहँदैमा, अरुचि राख्दैम यो यतिकै भत्किएर जाने होइन । हामी देख्दैछौँ, अहिले फेरि शालिकहरू ब्युँताउने अभ्यास भइरहेको छ । तर, यो समय शालिक ब्युँताउने होइन, देश र जनताको आर्थिक समृद्धिको विषयमा काम गर्नुपर्ने बेला हो ।’

नेता पौडेलले वैकल्पिक राजनीति गर्छु भनेर आएको नेतृत्वबाट समेत लोकतान्त्रिक मूल्य मान्यताको अभ्यास हुन नसकेको देख्दा भने चिन्ता लागेको बताए । ‘अहिलेको निर्वाचनले वैकल्पिक राजनीतिको वकालत गर्नेहरूलाई बलियो जनमत दिएको छ । सबैलाई उहाँहरूलाई ठूलो आशा थियो । तर, उहाँहरूमा पनि एकदमै थोरै समयमा सत्तालिप्सा देखियो, स्वार्थहरू टकराएको देखियो,’ उनले भने, ‘हामी हाम्रो पार्टीलाई सुदृढ गर्ने र व्यवस्थित गर्ने कुरामा लागेका थियौँ, उहाँहरूसँग सहकार्य गर्न हामी पनि आशावादी थियौँ । तर त्यो एकदमै निराशामा परिणत हुने स्थिति भयो ।’

उनले आफू पहिलो पटक सांसद भएर संसद् प्रवेश गर्दै गर्दा संसद् हो कि चुनावी सभा आफूलाई छुट्याउन नसकेको बताए । ‘म त पहिलो पटक संसद् प्रवेश गरेको हुँ । तर संसद् हो कि चुनावी सभा हो ? छुट्याउन गाह्रो भइरहेको छ । सबैको नजरकेन्द्रित भएको सदनमा झुटो बोल्न, गफ लगाउन डर लाग्नु पर्ने हो ? तर त्यस्तो भइरहेको छैन,’ उनले भने, ‘कुनै पनि मर्यादा कायम नराख्ने, एकले अर्कालाई गालीमात्रै गर्ने प्रवृत्ति छर्लंग छ । तर्क र तथ्य होइन, दम्भ देखाउनेहरूमात्रै छन् । यहीचरित्र मात्रै देखाएर अघि बढ्ने हो भने अनि चाहिँ यो व्यवस्थामाथि खतरा उत्पन्न हुन्छ ।’

नेता पौडेलले केपी ओली प्रवृत्तिबाट अहिलेको व्यवस्था र देशलाई जोखिम रहेको बताए । ‘पूर्वप्रधानमन्त्री केपी शर्माले फेरि पनि संसद्मा धेरै ठूलो अहंकर देखाइरहनुभएको छ, उहाँले यो देशमा कामै गर्न नपाउनुभएको होइन । उहाँले साढे तीन वर्ष देश चलाउने मौका पाउनुभएको हो । तर हामीलाई थाहै छ, यो अवधिमै अहिलेसम्मकै धेरै भ्रष्टाचार भयो,’ पौडेलले भने, ‘कुनै पनि आर्थिक अनियमितताका मुद्दामा छानबिन नै भएन । उहाँले कुनै छानबिन गर्नै चाहनुभएन । दुई तिहाईको शक्तिशाली सरकार, देशलाई केही पनि दिन नसकेर विवादै–विवादमा फसाएर बिदा भयो । त्यो सरकारलाई हामीले ढालेको होइन, उहाँको अहंकारले ढालेको हो ।’

उनले नेपालमा अस्थिरताको सबैभन्दा ठूलो कारक केपी ओली प्रवृत्ति भएको बताए । ‘जुन अहंकार उहाँसँग छ, त्यस्तो खालको अहंकार संस्कारमा रुपान्तरण भयो भने हामीले नेपालको लोकतन्त्रलाई विकसित गर्न सक्दैनौँ, यो नै नेपालको अस्थिरताको सबैभन्दा ठूलो कारक तत्व हो,’ उनले भने, ‘बारम्बार मौका पाएर पनि गर्न नसक्ने, अनि गफ मात्रै दिएर जतिसुकै काम गर्छु भनेपनि नागरिकमा कुनै आशा छाउँदैन । हामीले चाहेको सुशासन हो, भ्रष्टाचारको अन्त्य हो । तर, त्यो कसरी कायम गर्ने भन्ने विधि बनाउन कोही पनि तयार छैन । त्यसकाबारेमा छलफल नै गर्नु नपरे हुन्थ्यो भन्ने गरी मनोविज्ञान विकास भएको छ ।’

प्रकाशित : माघ २५, २०७९ १२:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×