गुप्सीपाखाको एकीकृत बस्तीमा खानेपानी अभाव- गण्डकी - कान्तिपुर समाचार

गुप्सीपाखाको एकीकृत बस्तीमा खानेपानी अभाव

एक गाग्री पानी थाप्नकै लागि बिहान बित्न थालेपछि पुरानै बस्ती लाप्राक फर्कन थाले स्थानीय
हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखास्थित भूकम्पपीडितको एकीकृत बस्तीमा खानेपानी अभाव भएको छ । पानीको समस्या थपिएसँगै गुप्सीपाखा बस्तीमा सरेका स्थानीय पुरानै बस्ती लाप्राक फर्कन थालेका छन् ।


२ हजार ७ सय ५० मिटर उचाइको गुप्सीपाखामा ६ करोड खर्च गरेर चराचुरुंगी हिमाल फेदको भुल्मेचेत मुहानबाट पानी ल्याइएको छ । चिसो बढेसँगै पाइपभित्रै पानी जमेर फलामे पाइप फुटेपछि खानेपानी अभाव भएको हो । चिसो र खानेपानी समस्या बढ्दै गएपछि स्थानीय धनबहादुर गुरुङ चार जनाको परिवारसहित पुरानै बस्ती लाप्राक फर्किएका छन् । ‘जाडो बढ्यो पानी पनि आएन, घर रुँघेर किन दुःख खेप्नु ?’ उनले भने, ‘दुई महिना भयो, तलै बस्ती फर्किएका छौं ।’

गुप्सीपाखा बस्तीमै रहेका भने दुई घण्टा लगाएर रिन्जुलिङको धारामा खानेपानी लिन पुग्ने गरेका छन् । ‘रिन्जुलिङको एउटा धारामा बस्तीकै मान्छे पानी लिन जाँदा भीडभाड हुन्छ,’ उनले भने, ‘फेरि नजिक होइन, जाँदा ओरालो भए पनि आउँदा पानी बोकेर उकालो उक्लन झनै गाह्रो छ । एक गाग्री पानीकै लागि बिहान बित्छ ।’ केही स्थानीयले भने एक गाग्री पनि फारु गरेर चार दिनसम्म प्रयोग गर्ने उनले सुनाए ।

गत मंसिर अन्तिम साताबाट गुप्सीपाखामा पानी आउन ठप्प बनेको भुम्लेचेत खानेपानी व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले बताए । ३ हजार ७ सय ६० मिटर उचाइको भुम्लेचेत मुहान क्षेत्रको तापक्रम शून्य डिग्री सेल्सियसमा पुगेसँगै पानी पाइपभित्र जमेर फुटेको उनले बताए । ‘हिमालको फेदबाट पानी ल्याएका हौं, चिसोले जमेपछि फलामको पाइप फुट्दो रहेछ,’ उनले भने । भुम्लेचेत मुहानबाट १९ किलोमिटर पाइप बिछ्याएर गुप्सीपाखामा पानी पुर्‍याइएको छ । पाइप सुकेर बाँसको कप्टेराजस्तो बनेर फुट्ने गरेको उनको भनाइ छ ।

३ हजार ७ सय ६० मिटर उचाइदेखि ३ हजार ३ सय मिटरसम्म पानी जमेर पाइप फुट्ने समस्या थपिएको उनले सुनाए । ‘कालखर्क, स्याङवरा खर्क क्षेत्रमा धेरै पाइप फुटेका छन्, कति ठाउँ मर्मत गर्ने हेरिसाध्य छैन,’ उनले भने, ‘चिसोले अन्यत्र पनि पाइप फुट्ने चिन्ताले पिरोलेको छ ।’ गुप्सीपाखाबाट भुम्लेचेतको मुहान पुग्न स्थानीयलाई दुई दिन लाग्छ । ‘एक रात अधेरीखर्कमा बास बसेर भोलिपल्ट मात्र मुहानमा पुगिन्छ,’ अध्यक्ष गुरुङले भने, ‘अहिले मर्मत गर्न सम्भव छैन । अब चैत–वैशाखमा तापक्रम बढेपछि मात्र मर्मतमा लाग्ने योजना बनाएका छौं ।’ तर मर्मतका लागि पनि खानेपानी समितिसँग रकम अभाव छ । वडा कार्यालयले पुरानो बस्तीदेखि नयाँ बस्तीसम्मका लागि भनेर चालुवर्ष खानेपानी शीर्षकमा ५ लाख छुट्याएको छ । ‘गत वर्ष यही फुटेको पाइप मर्मत गर्न तीन लाख खर्च भएको थियो, यो वर्ष त्यही पैसा पनि छैन,’ उनले भने । प्राविधिकले सुझबुझ नपुर्‍याउँदा खानेपानी आयोजनाले बर्सेनि पिरोलेको स्थानीयको गुनासो छ ।

गुप्सीपाखा पुगेको पानी करिब ४ सय घरले जडान गरेका थिए । चिसोका कारण ६ करोडको खानेपानी आयोजनाको पानी भने यहाँका स्थानीयले वर्ष दिनभरि प्रयोग गर्न पाएका छैनन् । ‘वैशाखबाट कात्तिक १५ सम्म पानी आउँछ, त्यसपछि चिसोले पानी जम्छ,’ गुरुङले भने, ‘यो वर्ष मात्र होइन, बर्सेनि ७ महिना पानी खान पाउँछौं, पाँच महिना ठप्प ।’

खानेपानी सरसफाइ डिभिजन कार्यालय तथा केयर नेपालमार्फत स्वाँरा सघन गाउँ विकास केन्द्रले निर्माण गरेको आयोजना अघिल्लो वर्ष निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ । खानेपानी आयोजनाका निर्माण सामग्री ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरिएको थियो । बर्सेनि मर्मत गर्नुपर्ने बाध्यता थपिएपछि यहाँका स्थानीयले अर्को मुहानबाट पानी ल्याउन पहल थालेका छन् । बस्तीबाट ९ किलोमिटर दूरीमा रहेको त्यायतापुक खर्कबाट पानी ल्याउन डीपीआरसमेत भएको अध्यक्ष गुरुङले बताए ।

डिभिजन खानेपानी कार्यालयका प्राविधिक गत वर्ष डीपीआरका लागि लाप्राक पुगेका थिए । ‘डीपीआर भए पनि योजनाको काम अघि बढेको छैन,’ उनले भने, ‘यसको काम अघि बढाउनुपर्ने हाम्रो माग हो, यो हिमालभन्दा अलि वरै छ, भुम्लेचेत खानेपानीको पाइपमा त्यो पानी ल्याएर जोड्न सके बाह्रै महिना पानी बस्तीमा खस्छ ।’ नयाँ योजनाअन्तर्गत त्यायतापुक खर्कको पानी भुम्लेचेत योजनाको पाइप बिछ्याएको लाम्रो खर्कमा जोड्न सकिने उनले बताए । गुप्सीपाखामा ६०१ घर छन् ।

प्रकाशित : माघ १९, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

फेरिँदै पहाडका थारू समुदायको जनजीवन

पहिलेभन्दा अहिलेका थारुहरु आत्मनिर्भर बन्दै गएका छन् । उनीहरुको व्यवसाय, कृषि, शिक्षा र वैदेशिक रोजगारप्रतिको धारणामा परिवर्तन आएको छ ।
ज्योति कटुवाल

सुर्खेत — २०२२ सालअघि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा थारू समुदायमात्रै बस्थे । औल लाग्ने डरले अरू जातिका मानिस दिनभरि काम गरेर राति गोठीकाँडा फर्किन्थे भने थारूहरूले मात्रै उपत्यका कुर्थे । अहिले पनि नगरपालिकाभित्र झन्डै ३५ गाउँमा थारूहरूको बस्ती छ ।

कर्णालीमा थारू समुदायको बसोबास रहेको एक्लो जिल्ला सुर्खेत हो । विसं. १९७५ मा दासप्रथा सहन नसकेर पश्चिम दाङबाट सुर्खेत सरेको थारू अगुवा लीलाधर थारूले बताए । उनका अनुसार पहाडका थारूहरूमा पछिल्लो समय धेरै परिवर्तन भएको छ । खरले छाएका माटाका घर हुने उनीहरू पछिल्लो समय पक्की घरमा आकर्षित भएका छन् ।

‘अहिले थारू बस्तीमा परम्परागत घर देख्नै मुस्किल छ,’ लाटीकोइलीका नवीन महतराले भने, ‘अहिले थारू समुदायका धेरै युवाहरू विदेश गएका छन्, उनीहरूले कमाएको पैसाले पक्की घर बनाउने चलन बढ्यो ।’ उनका अनुसार अधिकांशले सुंगुर–बंगुर पाल्न छोडेका छन् । लगाउने रहनसहन पनि परिवर्तन हुँदै गएको उनले बताए । लगौटी र फरियामा देखिने थारूहरूले आधुनिक पहिरन लगाउँदा उनीहरूलाई छुट्याउनै मुस्किल भइसक्यो ।

युवापुस्ता आधुनिकतातिर लागेको वीरेन्द्रनगर–३ की रेक्कुमाया चौधरीले बताइन् । ‘नयाँ पुस्ताले गर्दा मौलिकता हराउँदै जाने हो कि भन्ने चिन्ता लाग्छ । तर पहिलाको दासत्व सम्झँदा त यो ठिकै पनि लाग्छ,’ उनले भनिन्, ‘सबै नेपाली भाषा मात्र बोल्न थाले, थारूका गीत चाडवाडमा मात्र सुनिन्छन् ।’

गैरसमुदायसँगको हेलमेलले युवापुस्ताले आफ्ना भाषा बिर्सिंदै गएको र रुचि नदेखाएको उनको भनाइ छ । तर पहिलेभन्दा अहिलेका थारूहरू आत्मनिर्भर बन्दै गएकाले उनी खुसी छिन् । उनका अनुसार थारूहरूमा चेतना बढ्दै गएपछि व्यवसाय, कृषि, शिक्षा र वैदेशिक रोजगारलगायतमा सकारात्मक परिवर्तन आएको छ । ७७ वर्षीया कुकुराम थारूले बाल्यकाल र अहिलेको अवस्था देख्दा आफैं चकित भएको बताए ।

‘हाम्रा पालामा काम गरेर पेटभरि खान पाउने अवस्था थिएन, अहिलेका हाम्रा केटाकेटी एक दिनमा काम गरेर हप्तादिन पुग्ने खर्च जुटाउन सक्ने भएका छन्,’ उनले भने, ‘मन लागेको खाएका छन्, मन लागेको गरेका छन् ।’ उनले झन्डै ४० वर्ष सुर्खेतकै जमिन्दारको जग्गामा खेती गरे । तर अहिलेसम्म आफ्नो नाममा एक टुक्रा जमिन पनि नभएकोमा उनी गुनासो गर्छन् ।

‘हाम्रा बुबा र आजाहरू (जिजुबाजे) ले दाङबाट हलिया प्रथा सहन नसकेनन् र हामी सुर्खेत आयौं, तर सुर्खेतमा पनि सोही प्रथाले छोडेन,’ उनले भने, ‘जति दुःख पायौं, हामीले जात र प्रथाकै आधारमा पायौं ।’ तर उनले आफ्नो नाममा नभए पनि चार वटै छोराको नाममा जग्गाजमिन भएकाले त्यसैबाट सन्तुष्टि मिलेको बताए ।

उनका दुई छोरा वैदेशिक रोजगारीमा छन् भने दुई छोराले वीरेन्द्रनगर बजारमा मजदुरी गर्छन् । सुर्खेतको २ नम्बर वडादेखि १२ नम्बर वडासम्म थारू समुदायको बसोबास छ । सुर्खेतको चारकुने, सुब्बाकुना, बिउराघारी, कोलडाँडा, नयाँबस्ती, फलाटे, जयपुर जोगीगाउँ, खोलीगाउँ, मसुरीखेत, तिलपुर पर्सेनी, कालीमाटी र बुदबुदीमा अहिले थारू बस्तीहरू छन् । ०६२/६३ सालको राजनीतिक परिवर्तनपछि शिक्षा र रोजगारमा आफूहरूको आकर्षण बढेको थारू समुदायबाटै स्नातकोत्तर उत्तीर्ण मानबहादुर चौधरीले बताए ।

‘अहिले थारूहरू जनसंख्याको हिसाबले अल्पसंख्यामा परे पनि पहिलोको तुलनामा प्रशासनिक पहुँच बढेको छ,’ उनले भने, ‘कुनै लोकसेवा खुल्यो भने हाम्रा परिवारका १/२ जनाले नाम निकालेकै छन् ।’ उनका अनुसार थारू समुदायमा ०३४ सालसम्म एलएलसी उत्तीर्ण गर्नेहरूको संख्या शून्य नै थियो । उनले यसबारे सोधपत्रसमेत तयार पारेका छन् ।

उनको अनुसन्धानअनुसार सुर्खेतमा ४ सय १८ एसएलसी र ५७ जनाले स्नातक तह उत्तीर्ण गरेका छन् । ‘अहिले बेरोजगार भए पनि मजदुरी गरेर हाम्रा युवाहरूले पैसा कमाउँछन्,’ उनले भने, ‘थारू बस्तीका झन्डै ४० प्रतिशत युवाहरू वैदेशिक रोजगारीमा गएका छन् ।’

थारू समुदायका ५ हजार ३ सय जना साक्षर भएको वीरेन्द्रनगर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको तथ्यांक छ । ५६ वर्षीय बाधु थारूले एक दशकयता समुदायमा झन्डै ९० प्रतिशत परिवर्तन देखिएको बताए । ‘कुनै बेला चुहिने छानाको घरमा एउटै कोठाभित्रै कोचाकोच गरेर २४ जनाको परिवारसम्म बस्थ्यौं,’ उनले भने, ‘अहिले त मेरै सिमेन्टवाला घर छ ।’

छोराछोरी पनि आफैं सक्षम भएकोमा खुसी लागेको उनले बताए । उनका दुई छोरा वैदेशिक रोजगारीमा छन् भने दुई छोराले निजी कम्पनीमा जागिर गर्छन् । कालोपत्रे सडक नभए पनि धेरै सुविधा भएको उनले बताए । उनका अनुसार अहिले घरआँगनमै २४ घण्टा गाडी दौडिन्छ । खानेपानीको सुविधा घरघरमै छ भने स्वास्थ्यचौकी र वडा कार्यालय पुग्न ५ मिनेट पनि लाग्दैन । छोराछोरीले १५ मिनेट दूरीको विद्यालयमा पढ्न पाएको उनले बताए ।

प्रकाशित : माघ १९, २०७९ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×