एकै रातमा गाउँभरि चोरी- गण्डकी - कान्तिपुर समाचार

एकै रातमा गाउँभरि चोरी

वडा कार्यालय, बैंक, सहकारी, पसल र व्यक्तिगत घरमा लुटपाट
लालप्रसाद शर्मा

पोखरा — स्याङ्जाको आँधिखोला गाउँपालिका १ को प्रसिद्ध ग्रामीण पर्यटकीय गाउँ सिरुबारीसहित विभिन्न गाउँमा गएराति श्रृंखलाबद्ध रुपमा चोरी भएको छ । वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको हो । वडाका माझकटेरी राजस्वाँरा, पञ्चमूल, सिरुबारी र धारु गाउँमा चोरी भएको वडाध्यक्ष पवनकाजी अधिकारीले बताए । 

अधिकारीका अनुसार वडा नम्बर १ को कार्यालय फोरेर चोरी भएको छ । त्यहाँ झन्डै २ लाख रुपैयाँजति राजस्व रकम रहेको थियो । यसैगरी वडा कार्यालयसँगै रहेको एनआईसी एसियाको शाखारहित बैंकिङ सेवाबाट पनि केही रकम चोरी भएको छ । ग्रामीण पर्यटकीय गाउँमा रहेको ऐतिहासिक गुम्बा पनि तोडफोड गरी दानपेटिकालगायत महत्त्वपूर्ण सामान चोरी भएको अनुमान गरिएको छ । पञ्चमूल दीगो कृषि सहकारी संस्था, बगाले डिपार्टमेन्टल स्टोर्स, विभिन्न ७ वटा पसल र २ घरमा पनि ठूलो मात्रामा धनसम्पत्ति लुटपाट भएको अधिकारीले बताए ।

उनका अनुसार सिरुबारीका क्याप्टेन पूर्णबहादुर गुरुङको घरबाट ठूलो मात्रामा सुनचाँदी चोरी भएको छ । डिपार्टमेन्टल स्टोर्सबाट सीसीटीभी क्यामेरा, हार्डडिस्क र मनिटर नै सबै लगिएको छ ।

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका छन् । अनुसन्धानका लागि जिल्ला प्रहरी र पालिकास्थित प्रहरी कार्यालयबाट अहिले प्रहरी खटिइसकेका छन् । ‘एकै रातमा यति धेरै स्थानमा चोरी हुँदा स्थानीय त्रसित छन्‚’ अधिकारीले भने, ‘पर्यटकीय गाउँ सिरुबारीबारे नकारात्मक सन्देश जान सक्ने भन्दै चिन्तित भएका छौँ ।’

अधिकारीले के कति धनमाल, नगद वा अन्य महत्त्वपूर्ण सामग्री चोरिएको भन्ने यकिन भएको छैन । रातैभरि चोरी हुँदा पनि स्थानीयले केही भेउ पाउन सकेनन् ।

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीवबहादुर बस्नेतले अहिले घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाइएको बताए । ‘चोरी भएको भन्ने छ‚’ उनले भने, ‘सबै विवरण आइसकेको छैन । टोलीले अनुसन्धान गरिसकेपछि धेरै कुरा आउला ।’

प्रकाशित : माघ १७, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्

डेनमार्कमा सबैभन्दा कम र सोमालियामा सबैभन्दा बढी भ्रष्टाचार

सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा
कान्तिपुर संवाददाता

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ सार्वजनिक गरेको छ । यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।

यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउने र ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ ।

नेपाल ११० औं स्थानमा

सीपीआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक(११० औं स्थान) दिइएको छ । सीपीआई २०२१ मा नेपालको अंक ३३ (११७ औं स्थान) रहेको थियो । नेपालको अंकमा केही सुधार भएतापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।

सीपीआई २०२२ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२५ औं), मालदिभ्सले ४० अंक (८५ औं), भारतले ४० अंक (८५ औं), श्रीलंकाले ३६ अंक (१०१ औं), नेपालले ३४ अंक (११० औं), पाकिस्तानले २७ अंक (१४० औं), बंगलादेशले २५ अंक (१४७ औं) र अफगानिस्तानले २४ अंक (१५० औं) प्राप्त गरेका छन् । चीनले ४५ अंक (६५ औं) प्राप्त गरेको छ ।

सन् २०२२ मा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीइएमसहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई सीपीआई २०२२ को आधार मानिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।

सन् २०२२ को सूचकाङ्कमा नेपालको स्थान औसत भन्दा तल रहेको अर्थात भ्रष्टाचार गम्भीर समस्याकै रुपमा रहेको देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सीपीआई २०२२ सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध विश्वभर नै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिकमा वितृष्णा र मुलुक द्वन्द्वमा रुपान्तरण हुने उल्लेख गरेको छ ।

एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई नै बेवास्ता गरिएको उसले भनेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनले सरकारहरुलाई भ्रष्टाचार विरोधी प्रतिबद्धतालाई प्राथमिकता दिन, सूचनाको हक कायम राख्न तथा नीजी प्रभाव कम गर्दै भ्रष्टाचार र त्यसबाट उत्पन्न हुने द्वन्दबाट मुक्त हुन आग्रह गरेको छ ।

प्रकाशित : माघ १७, २०७९ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×