कुष्ठरोगीको संख्या बढ्दै- गण्डकी - कान्तिपुर समाचार

कुष्ठरोगीको संख्या बढ्दै

प्रकाश बराल

बागलुङ — रोग नियन्त्रण भएको भनिएको १३ वर्षपछि बागलुङमा कुष्ठरोगी देखिन थालेका छन् । नेपाल सरकारले गत २०६६ सालमै कुष्ठरोग निवारण गरेपछि दशकसम्म यो रोगको परीक्षण भएको थिएन । दुई वर्षअघि ३ जना र गत वर्ष ६ जना गरी ९ जना सक्रिय संक्रमित रहेकोमा चालु वर्षको पहिलो ५ महिनामै थप ७ जना बिरामी थपिएर बागलुङमा संक्रमितको संख्या १६ पुगेको क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । 


गत वर्षको १२ महिनामा बागलुङमा ६ जनामा यो रोग भेटिएको थियो । थप भएका संक्रमितमा बडिगाड गाउँपालिकामा ३ जना, गलकोटमा २ जना तथा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा एक-एक जना छन् । अघिल्लो वर्ष ढोरपाटन जैमिनीमा संक्रमित भेटिएका थिए ।

खोजी अभियान अझै जारी रहेको घिमिरेले जानकारी दिए । कुष्ठरोग लागेकाहरूले नियमित औषधि सेवन गरेमा अन्यमा नसर्ने घिमिरेले जानकारी दिए । कुष्ठरोगप्रति सामाजिक भेदभाव बढी भएकाले त्यसबारे सचेतना ल्याउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए । ‘यो ब्याक्टेरियाबाट सर्ने रोग भएकाले धार्मिक अन्धविश्वासबारे भ्रम चिर्नुपर्छ‚’ उनले भने, ‘औषधि खान थालेपछि सर्ने दर ९९ प्रतिशत घट्छ ।’ बिरामीले आफ्नो समस्या निको हुनका लागि मात्रै ६ महिनादेखि १ वर्षसम्म औषधि सेवन गर्नुपर्छ ।

शरीरमा लाटो फुस्रो दाग देखिएमा कुष्ठरोगको सम्भावना रहन्छ । त्यस्ता मानिसले समयमै जचाउनुपर्ने घिमिरेले जानकारी दिए । कुष्ठरोग लागेपछि शरीरका अंगले घाउ भएको समेत थाहा नपाउने भएकाले अन्य संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । कुष्ठरोगलाई जनस्वास्थ्यको साझा समस्याको रुपमा लिएर फेरि उपचार र खोजी अभियान थाल्नुपर्ने उनले बताए । आगामी २०८२ सम्म कुष्ठरोग शून्यमा झार्ने कार्यालयको लक्ष्य रहेको उनले बताए ।

प्रकाशित : माघ १५, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटा महोत्सवस्थलमा ठेलमठेल हुँदा ३० जना घाइते

दुईको अवस्था गम्भीर, जिल्ला सुरक्षा समितिको बैठक बस्दै
रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा सञ्चालन भइरहेको महोत्सवस्थलमा शनिबार राति भएको घटनामा घाइते ३० जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा उद्योग वाणिज्य संघले आयोजना गरेको एभोकाडो तथा पाँचौं धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको सांगितिक प्रस्तुति हुनु केहीबेर अघि करिब साढे ८ बजे राति उक्त घटना भएको हो ।

यसैबीच, घटनाबारे जिल्ला सुरक्षा समितिको बैठक बसेर घटनाको समीक्षा गरिने निमिक्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् । आइतबार बिहान ११ बजे समितिको बैठक बस्ने उनले जनाइन् । यस्तै, घटनाबारे महोत्सव आयोजकसँग समेत प्रशासन र सुरक्षाकर्मीको बैठक बस्ने भएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलको यसै साता सरुवा भएर गएपछि प्रशासकीय अधिकृत ममता अधिकारी निमित्त प्रजिअ रहेकी छन् । नयाँ प्रजिअ लिलाकुमारी केसी पाण्डे भने जिल्ला आइसकेकी छैनन् ।

भीड अनियन्त्रित भइ महोत्सवस्थलको मूलगेटमा ठेलमठेल हुँदा भएको उक्त घटनामा बालकहरु ३ वर्षीय बालक सोनाम लिम्बू र धनकुटा ५ का ११ वर्षीय आवुहाड लिम्बूको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । दुवैको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिए । दुवैको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका चिकित्सक उज्वलप्रकाश खनालले बताए । 'राति घाइतेले अस्पतालका बेड भरिएपछि भुइँमा समेत राखेर उपचार गरिएको थियो,' उनले भने, 'गम्भीर अवस्थाकालाई तत्काल नै धरानमा रेफर गर्‍यौं ।'

घाइतेमध्ये धनकुटा जिल्ला अस्पतालमा १२ जनाको उपचार भएको अस्पताल स्रोतले जनाएको छ । त्यहाँ उपचार हुन नसकेका १८ जनाको प्राथमिक उपचारपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रतिष्ठानमा उपचार हुन नसकेका दुई बालक विराटनगर गोल्डेन अस्पताल रिफर गरिएको छ

मुस्किलले तीन हजार अटाउने क्षमता रहेको टुँडिखेलमा दोब्बर गुना दर्शकको भीड रहेकोले आयोजकले व्यवस्थापन गर्न नसक्दा घटना भएको जनाइएको छ । अत्यधिक भीड रहेको अवस्थामा महोत्सवको दुवैतर्फको गेट बन्द गरिएको थियो । सयौंको भीड रहेको अवस्थामा एकै पटक गेट खोल्दा ठेलमठेल हुँदा किचिएर घाइते भएको प्रत्यक्षदर्शीले बताए । धनकुटामा गत माघ ६ देखि सुरु गरिएको महोत्सव आगामी १६ गतेसम्म सञ्चालनमा हुने थियो । घटना भएलगत्तै महोत्सवमा आयोजना गर्न लागिएको सांगितिक कार्यक्रम र हाउजी बिङ्गो खेल स्थगित गरिएको छ ।

प्रकाशित : माघ १५, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×