कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

फोहोर सबै कालीगण्डकीमा

घनश्याम खड्का

म्याग्दी — उपयुक्त डम्पिङ साइट फेला नपरेको भन्दै सदरमुकाम रहेको बेनी नगरपालिकाले १९ वर्षदेखि बजारको फोहोरमैला कालीगण्डकी किनारमा फाल्दै आएको छ । नगरको फोहोरका कारण धार्मिक तथा पर्यटकीय महत्त्वको कालीगण्डकी नदी प्रदूषित भइरहेको र जलचर संकटमा परेको भन्दै सरोकारवालाहरूले विरोध गर्दै आएका छन् । 

फोहोर सबै कालीगण्डकीमा

सदरमुकामबाट संकलन हुने फोहोरबाट कवाडीजन्य वस्तु छुट्टाएर प्लास्टिकजन्य तथा कुहिने फोहोरलाई सदरमुकाम बेनीदेखि २ किलोमिटर उत्तर बेनी–जोमसोम सडक खण्डबाट तल कालीगण्डकीमा खसाल्ने गरिएको छ ।

‘कालीगण्डकी नदी मात्र होइन, हिन्दु आस्थामा कालीगण्डकी सभ्यता महत्त्वपूर्ण छ । कालीगण्डकी नदीलाई देवी तुलसी र नदीका शिलालाई भगवान् विष्णुको अवतार मानी पुज्ने गर्छौं,’ कालीगण्डकी सभ्यताका अध्येता कुलराज चालिसेले भने, ‘यही डम्पिङ साइट क्षेत्रबाट दुई थान देवशिला भारतको अयोध्यामा रामको मूर्ति बनाउन लगिने भएपछि देवशिलाको गर्भस्थलमा स्मारक बनाइने भएकोले तुरुन्तै डम्पिङ साइट हटाउनै पर्छ ।’

नगरपालिकाले फोहोर व्यवस्थापन गर्न कम्प्याक्ट मेसिन, गाडीसहित मासिक १ लाख ६० हजार रुपैयाँ तिरेर पोखराको मिसन फर वेस्ट मेनेजमेन्टलाई जिम्मा दिएको छ । ‘अर्को सुरक्षित र दिगो ल्यान्डफिल साइड नपाइएकाले सहरबाट उर्त्सजन भएको फोहोर कालीगण्डकी किनारामा विसर्जन गर्नु बाध्यता हो । तर पछिल्ला वर्षदेखि फोहोरलाई छुट्टयाएर कुहिने वस्तु मात्र खाडल खनी व्यवस्थित गरेका छौं,’ बेनी नगरप्रमुख सुरत केसीले भने, ‘फोहोरमैला सोझै नदीमा पुग्न नदिन पुनः प्रयोगयोग्य फोहोरमैला छानेर झिक्ने र कुहिने वस्तुलाई कृषि मलका रूपमा उत्पादन गर्न थालेका छौं । बजेट व्यवस्थापन गरी अर्को वर्षसम्म कालीगण्डकी नदीमा फोहोर हुने छैन, हटाउने तयारीमा लागेका छौं ।’

मिसन फर वेस्ट मेनेजमेन्टले पुनः प्रयोग हुने वस्तु झिकेर, सड्ने वस्तुको कम्पोस्ट मल उत्पादन गर्ने र बाँकीलाई नगरपालिकाले उपलब्ध गराएको सेतीपहिरोस्थित फोहोर संकलन केन्द्रमा विर्सजन गर्ने सम्झौता भए पनि फोहोर बाहिर सडकदेखि नदी किनारामा फाल्ने गरेको छ । ल्यान्डफिल्ड साइटको विकल्प ननिक्ले पनि दुर्गन्ध रोक्न औषधि, माटो, चुना आदि छर्कनुपर्ने हो तर सरोकारवालाको त्यसमा समेत ध्यान पुगेको छैन ।

‘संकलित फोहोरबाट पुनः प्रयोग गर्न मिल्ने, सड्ने र नसड्ने वस्तु छुट्टयाउन थालेको छु । फोहोर नदीमा खस्न दिन्नँ । कालीगण्डकी किनारो साँघुरो भएकाले फोहोर बाहिरसम्म पुगेको हो,’ फोहोरमैला व्यवस्थापक यामबहादुर परियारले भने, ‘डम्पिङ साइटभन्दा पनि यो फोहोर छुट्टाउने थलोको रूपमा प्रयोग गरेको छु । छुट्टयाएको फोहोर उठाएर रिसाइकल गर्न नपठाउँदासम्म सडक किनारामा हुन्छ । बाँकी फोहोर उचित तरिकाले नै देखाएकै ठाउँमा डम्पिङ गरेका छौं ।’

प्रकाशित : माघ ५, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×