तनहुँको म्याग्दे बालश्रममुक्त गाउँपालिका घोषणा- गण्डकी - कान्तिपुर समाचार

तनहुँको म्याग्दे बालश्रममुक्त गाउँपालिका घोषणा

सम्झना रसाइली

तनहुँ — तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ । एकीकृत हरित विकास नेपालको सहकार्यमा गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिएको हो ।

एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरीक्षणबाट गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरिएको एकीकृत हरित विकास नेपालका कार्यक्रम अधिकृत सुदीप सेढाईंले बताए । उनले भने, ‘पालिकाका ५ हजार ३२९ घरधुरीमा गएर बालबालिकाको अवस्थाबारे संस्थाले अध्यनन तथा अनुसन्धान गरेर मात्र पालिकालाई पूर्ण बालश्रममुक्त घोषणा गरिएको हो ।’

म्याग्दे गाउँपालिका बालश्रममुक्त घोषणा हुने जिल्लाकै पहिलो पालिका हो । बालश्रममुक्त पालिका घोषणा गरे पनि कतिपय स्थानमा यसको व्यावहारिक कार्यान्वयन नभएको र आर्थिक अवस्था कमजोर भएका कतिपय बालबालिकाहरू बाँच्नकै लागि पूर्ण श्रममा निर्भर हुनुपर्ने विषय दुःखद रहेको अधिकृत सेढाईंले बताए । ‘बालबालिकाहरू विभिन्न बाध्यतामा श्रममा आश्रित हुनु भनेको संवैधानिक हकविपरीत रहेको हुँदा उनीहरूको अधिकारमा राज्य र सम्बन्धित निकाय चनाखो हुनुपर्छ,’ उनले भने, ‘कलिलै उमेरमा हातमुख जोड्नका लागि विभिन्न श्रममा जोडिनु बाध्यता भए पनि पढ्न, लेख्न, खेल्न पाउने बालबालिकाको नैसर्गिक अधिकारमा स्थानीय सरकार साधक बन्नुपर्छ ।’

नेपाल सरकारको बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५-२०८५) अनुसार वि.सं. २०७९ सम्ममा निकृष्ट तथा शोषणयुक्त बालश्रम तथा वि.सं. २०८२ सम्म सबै प्रकारका बालश्रमको अन्त्य गर्ने अभियान चलाइएको छ । म्याग्दे गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार कुनै पनि प्रकारको बालश्रम प्रयोग नगर्ने, बालश्रम प्रयोग भएका उत्पादन, वस्तु र सेवा उपभोग नगर्ने/नगराउने र कतै बालश्रमजन्य गतिविधि गराएको देखेमा तत्काल बालश्रमिकको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालश्रम ठूलो चुनौतीको रुपमा रहेको बताए । उनले भने, ‘बालश्रम न्यूनीकरणका लागि व्यावहारिक कार्यान्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिबीले पिल्सिएका बालबालिका बालश्रममा लाग्न बाध्य छन् ।’

यस्तै, अनाथ, असहाय र गरिबीको रेखामा रहेको बालबालिकालाई अभिभावकत्व प्रदान गर्नु म्याग्देवासीको जिम्मेवारी रहेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । ‘अझै पनि हाम्रो समाजको सोच पुरातनवादी भएको हुँदा यसको व्यावहारिक कार्यान्वयनका लागि कठिन हुने देखिएको छ,’ उनले भने, ‘तर हामी बालबालिकाको चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रस्ट छौं र अगामी दिनमा बालश्रममुक्त बालबालिकाको अवस्थामा ध्यानसमेत दिनेछौं ।’

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सबैको साथ र सहयोगले पालिकालाई बालश्रममुक्त घोषणा गर्न सकिएको बताए । १८ वर्षभन्दा मुनिका बालबालिकालाई ज्यालादारीमा लगाउन नपाउने, बालबालिकाले पढ्न पाउने हक अधिकार कुष्ठित गर्न नपाउने, बालबालिका भोलि देशको कर्णधार भएको हुँदा बालबालिकाको वृद्धि विकासमा सबैले ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित : पुस २८, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्

विद्युत् पोल नहटाउँदा पृथ्वी राजमार्ग विस्तारमा बाधा

आँबुखैरेनी–जामुने खण्डमा मात्रै २२ सय नयाँ पोल गाड्नुपर्ने
निर्माण सुरू गर्नुअगाडि नै ‘ साइट क्लियर ’ गर्नुपर्नेमा बल्ल टेन्डर
सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार कार्यले गति लिइरहँदा विद्युत् पोल बाधक बनेका छन् । सडकको स्तरोन्नति सुरु हुनुपूर्व नै विद्युत् पोल स्थानान्तरण गरिसक्नुपर्नेमा अझै हुन सकेको छैन । निर्माण कम्पनीले कामलाई तीव्रता दिइरहँदा नेपाल विद्युत् प्राधिकरणले भने पोल नहटाउँदा आयोजनाले प्रगति देखाउन सकेको छैन ।


राजमार्गको आँबुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्डमा विभाजन गरी विस्तार कार्य भइरहेको छ । तर, दुवै खण्डमा सबै विद्युत् पोल सारिसकिएको छैन । जसका कारण अन्य निर्माणकार्य गर्न समस्या भइरहेको आयोजनाको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले बताए । ‘विस्तार कार्यलाई तीव्रता दिइए पनि समग्र आयोजनाको प्रगति अपेक्षित नहुनुमा विद्युत् पोल अझै नहटाइनु मुख्य कारण हो,’ उनले भने । सडक विभागले लागत अनुमान गर्दा विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने भने पनि प्राधिकरणले पुराना ९ मिटरका पोलको सट्टामा १३ मिटरका नयाँ पोल राख्नुपर्ने तर त्यसका लागि पर्याप्त बजेट नभएको भन्दै काममा ढिलाइ गरिरहेको छ ।

‘१३ मिटरको पोल गाड्नुपर्ने भएकाले त्यसको स्रोत जुटाउँदा ढिलाइ भयो,’ उनले भने, ‘अहिले प्राधिकरणले हटाउनुपर्ने पोलको इस्टिमेट निकालेर टेन्डर प्रक्रियामा गइसकेको छ । सम्भवतः माघको दोस्रो साताबाट विद्युत्का पोल हटाउने कार्य सुरु हुन्छ । यो आर्थिक वर्षभित्र पूर्वी खण्डका सबै विद्युत्का पोलहरू स्थानान्तरण गरिनेछन् ।’

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट बरादी पुलसम्मको करिब ७ किलोमिटर सडकखण्ड जनवरी १५ बाट कालोपत्र गर्ने तयारी गरिएको उनले जानकारी दिए । तर, सडक सीमाभित्र रहेका विद्युत्का पोलहरू नहटाइँदा कालोपत्र गर्ने कार्य पनि अनिश्चित बन्न पुगेको छ । ‘पूर्वी खण्डमा नयाँ विद्युत् पोल राख्न टेन्डर भइसकेको छ,’ प्राधिकरणको तनहुँ शाखाका इन्जिनियर जनार्दन पौडेलले भने, ‘पोल हटाउने कार्यमा केही ढिलो भएकै हो । यो कार्यलाई अन्तिम रूप दिन हामी टेन्डर प्रक्रियामा गइसकेका छौं । यस खण्डमा करिब २ हजार २ सय नयाँ पोलहरू राख्नुपर्ने देखिएको छ ।’

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल भने बजेटभन्दा पनि प्राधिरकणले पोलको इस्टिमेट गर्नै ढिलाइ गरेको दाबी गर्छन् । ‘पहिले पोलको इस्टिमेट निकाल्न नै समय लगाइयो । पछि लागत अनुमानमा पनि छिटो काम हुन सकेन,’ उनले भने, ‘अहिले सबै समस्या समाधान गरी टेन्डर प्रक्रियामा गएको छ । हाललाई आवश्यकताअनुसार आन्तरिक रूपमा विद्युत्का पोल हटाएर कामलाई अगाडि बढाइएको पनि छ ।’

यात्रुलाई दिनदिनै सास्ती

अन्य विकल्प नभएकाले राजमार्गमा सवारी आवागमनकै बीच विस्तार कार्य भइरहेको छ । जसका कारण यात्रुले अनेक सास्ती झेल्नु परिरहेको छ । योजनाबद्ध र समन्वयात्मक ढंगले काम नगरिँदा घण्टौं जाममा फस्नुपरेको यात्रुको गुनासो छ । अत्यावश्यक कामले यात्रा गरिरहेका र बिरामी बोकेका एम्बुलेन्स बढी मारमा परेका छन् ।

तर, यात्रुलाई पनि समस्या नपरोस् र काममा अवरोध नआओस् भनी समयतालिका मिलाएर काम भइरहेको दाबी गर्छन् प्रजिअ अर्याल । ‘सरोकारवालसँग बैठक बसी लामो समय राजमार्ग अवरुद्ध नगर्ने र कामलाई पनि के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफलसँगै निर्णयहरू भएका छन् । सोहीअनुसार चिसो मौसम सकिएलगत्तै रातिको समयमा कामलाई तीव्रता दिने योजना बनाइएको छ,’ उनले भने । निर्माण पक्षले दिउँसो ट्राफिक कम हुने समयमा सवारीसाधनलाई ३० मिनेट रोकेर पहरो तथा भित्तो कटान गरी सडक चौडा पार्ने कार्य गरिरहेको उनले बताए ।

पुल पनि धमाधम बन्दै

हाल दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनको बनाउने क्रममा पूर्वी खण्डमा ४ वटा ठूला र १३ वटा साना पुलहरू पनि निर्माण गरिने भएको छ । हाल २ वटा ठूला र ३ वटा साना पुल निर्माणाधीन अवस्थामा छन् भने २ वटा साना पुलको निर्माण सम्पन्न भएको पूर्वी खण्डका प्रमुख सुवेदीले बताए । उनका अनुसार १ सय ७० वटा कल्भर्ट बन्नेमा ३० वटा निर्माण सम्पन्न भइसकेका छन् भने ३२ वटा कल्भर्ट निर्माणाधीन अवस्थामा छन् ।

कल्भर्ट तथा पुल निर्माणमा पनि विद्युत् पोल नै बाधक बनेको आयोजनाले जनाएको छ । प्रमुख सुवेदीले भने, ‘हरेक काममा रोकावट विद्युत् पोलबाटै देखिएको छ । सरोकारवाला निकायलाई समयमै पोल हटाउन ताकेता गरिरहे पनि आवश्यक पहल नभएको देखिन्छ ।’ यो खण्डमा विस्तार क्षेत्रमा पर्ने सबै रूखहरू भने काटिसकिएको उनले जानकारी दिए ।

सबैजसो घरटहरा भत्काइयो

पूर्वी क्षेत्रमा हालसम्म ४० प्रतिशत भौतिक प्रगति देखिनुपर्नेमा डिसेम्बरसम्ममा ११.५ प्रतिशत मात्रै छ । आयोजनाले यो खण्डमा करिब ५ सय ५ वटा भौतिक संरचना भत्काउने भएको छ । दमौली र डुम्रे खण्डलाई नसमेटी ६ करोड ५४ लाख रुपैयाँ बराबरको मुआब्जा व्यहोर्नुपर्ने भएको पनि आयोजनाले बताएको छ । ‘भत्काउन भनिएका ३ सय ८० वटा भौतिक संरचनामध्ये २ सय ५० जनाले मुआब्जा लिइसकेका छन् भने १ सय ३० जनाले पहिलो किस्ता मात्रै लिएका छन् । अब ३/४ वटा मात्रै घरटहरा भत्काउन बाँकी छ,’ उनले भने ।

पृथ्वी राजमार्गको करिब ७२ किलोमिटर खण्ड तनहुँमा पर्छ । यस खण्डभित्र आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रेलगायत साना–ठूला बजार पनि पर्छन् । जसमध्ये आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली क्षेत्रमा धेरै संरचना भत्काइएको छ । आयोजनाले बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेनको र ग्रामीण क्षेत्रमा ४ लेनको सडक विस्तार गर्ने गरी काम अगाडि बढाएको जनाएको छ ।

चार लेनमा विस्तार हुन लागेको मुग्लिन–पोखराको दूरी करिब ८८ किमि छ । आयोजनाले आँबुखैरेनी–जामुनेको ४१ किमिलाई पूर्वी खण्ड र जामुने–पोखराको ३९ किमिलाई पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरेको छ । पश्चिम खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोडमा २०७८ जेठ ३ मा र पूर्वी खण्ड निर्माणको ठेक्का अर्को चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा २०७८ वैशाख २ मा लिएका हुन् ।


प्रकाशित : पुस २५, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×