कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एकीकरण मार्गमा सेनाको पदयात्रा

हरिराम उप्रेती

गोरखा — गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु गरिएको हो ।

एकीकरण मार्गमा सेनाको पदयात्रा

गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट बिहीबार सुरु यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टले बताए ।

पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाको टोली यात्रामा सहभागी छ । कालो दौरासुरुवाल, टाउकोमा चातोडा, कम्मरमा खुकुरी हातमा भरुवा बन्दुकसहित शाहकालीन पोसाकमा सजिएका सेनाको सार्दुलजंग गुल्मको टुकडी र रिपुमर्दन गणले गोरखाबाट यात्रा सुरु गरेका हुन् । गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोष दुरीको यात्रा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते टुंगिने छ ।

यात्राको पहिलो दिन सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपककुमार बानियाँले राष्ट्रिय झन्डा तथा टर्च गोरखा खण्डको नेतृत्व गर्ने रिपुमर्दन गणका यात्रामा सहभागी नेपाली सेनालाई हस्तान्तरण गरे । टर्च, नेपालको राष्ट्रिय झन्डा, सेनाको पहिलो कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, सबुज र बबर्दबहादुर)को झन्डासहित यात्रा सुरु भएको हो । सेनाका पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।

रिपुमर्दन गणले यात्राको पहिलो दिन बिहीबार हनुमानभञ्ज्याङबाट ताप्ले–अश्राङ–वोर्लाङसम्मको यात्रा पूरा गर्ने छ । गोरखा खण्डको नेतृत्व सेनाको रिपुमर्दन गणका उपसेनानी वम बोगटीले गरेका छन् । पहिलो दिनको गोरखा खण्डको यात्रामा ३० जनाको टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।

बिहीबार साँझ गोरखा–धादिङ सीमा क्षेत्रको घाटबेंसीमा टर्च र झन्डा धादिङको शिवदल गणलाई हस्तान्तरण हुने विष्टले जानकारी दिए । धादिङ खण्डमा शिवदल गणले दुई दिन, नुवाकोट खण्डमा जबरजङ गणले एक दिनको यात्रा हुँदै काठमाडौं पुग्ने गरी यात्रा तय गरिएको छ ।

२६ गते काठमाडौं खण्डको यात्रा पछि हस्तान्तरण भएको टर्च र राष्ट्रिय झन्डासहित हनुमानढोकाको सार्दुलजंग गुल्म पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सरिक हुने छ ।

यात्राले नेपाल एकीकरण पदमार्ग तथा ऐतिहासिक धरोहरबारे भावी पुस्तालाई जानकारी गराउन सघाउ पुग्ने नेपाली सेनाको विश्वास छ । इतिहासको पुनर्जागरण गराउन अभियानले सघाएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले बताए । इतिहासको संरक्षण गर्दै सुरु भएको अभियानले पर्यटन प्रवर्द्धनमा पनि सघाउने उनको विश्वास छ ।

नेपाल एकीकरण अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गराउन भन्दै नेपाली सेनाले चार वर्ष अघिबाट पदयात्रा सुरु गरेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको उक्त पदमार्गमा ढुङ्धोरा, कोशेढुङ्गा, पाटीपौवा अझै देख्न सकिन्छ । तत्कालीन समयमा पृथ्वीनारायण शाह गोर्खाली फौजसहित नेपाल एकीकरणको योजना बनाउँदा उक्त मार्गको यात्रा गरेको ठाउँ भएकाले यसको महत्व अझै स्थापित गर्नुपर्ने सरोकावाला बताउँछन् ।

प्रकाशित : पुस २१, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?