कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी

कास्की — गत असोज २५ मा बिनाविभागीय मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्री बनाइने भएको छ । बिना विभागीय मन्त्री भएको २ महिना ६ दिनपछि उनलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी

गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्य विभाजन नियमावलीको अनुसूची परिवर्तन गर्दै डोबाटेलाई मन्त्रालयको जिम्मेवारी दिने बाटो खुलाएको छ ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कार्य विभाजन नियमावलीको अनुसूची परिवर्तन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै रहेको आन्तरिक मामिला मन्त्रालयलाई निकालिएको बताए । ‘मन्त्रीपरिषद्को बैठकमा त्यस मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय भएको छैन,’ प्रवक्ता खड्काले भने, ‘मुख्यमन्त्रीले आफू खुशीको मन्त्रीलाई जिम्मेवारी दिन सक्नुहुन्छ ।’ मुख्यमन्त्री कार्यालयका स्रोतका अनुसार डोबाटेलाई जिम्मेवारी दिने गरी नै मन्त्रालय फुटाइएको हो ।

आन्तरिक मामिला मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा गाभिएको थियो । मुख्यमन्त्रीले दोस्रोपटक मन्त्री नियुक्त गर्दा डोबाटेको पनि नाम थियो । बाहिर प्रचारमा आएर बधाई खाएका डोबाटेको मन्त्री पदबाट नाम एकाएक काटियो । दलित भएकै कारण उनको नाम हटाइएको भन्दै पार्टीभित्रै र बाहिर चर्को आलोचना भएपछि मुख्यमन्त्रीले पुन: एकल निर्णयले बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

मन्त्री नियुक्त गरेपनि उनले डोबाटेलाई कुनै जिम्मेवारी दिएका थिएनन् । डोबाटेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका काम दिने की मुख्यमन्त्रीकै नेतृत्वमा रहेको कानुन मन्त्रालय फुटाएर जिम्मेवारी दिने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको थियो ।

मुख्यमन्त्रीले छलफलको बाबजुद मन्त्रालय नै फुटाउने निर्णय गरेको स्रोतले जनाएको छ । पार्टीमा संलग्न दललाई सल्लाह नगरी मुख्यमन्त्रीले एकलौटी मन्त्री नियुक्त गरेको भन्दै गठबन्धनका मन्त्रीले असन्तुष्टि जनाएका थिए । मुख्यमन्त्री कार्यालय काँग्रेसको पार्टी कार्यालय भएको भन्दै डोबाटेको शपथ कार्यक्रममा पनि अन्य दलका मन्त्री सहभागी बनेका थिएनन् ।

मन्त्री नियुक्त गरेको लामोसमयसम्म जिम्मेवारी नदिए पनि डोबाटेले मुख्यमन्त्रीसँग आफूले कुनै पनि मन्त्रालयको जिम्मेवारी माग नगरेको बताउँदै आएका थिए । उनले मुख्यमन्त्रीको अनुकूलमा आफूलाई मन्त्रीको जिम्मेवारी दिने बताएका थिए ।

काम न काजका बिनाविभागीय मन्त्री भएका डोबाटेलाई मन्त्रालय फुटाउने मन्त्रिपरिषद्को निर्णय भएको २४ घण्टापछि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । त्यसपछि मुख्यमन्त्रीले मन्त्रालयको जिम्मेवारी तोकिदिने स्रोतले जनाएको छ ।

डोबाटे विश्वकर्मा अहिलेसम्म मुख्यमन्त्री कार्यालयकै एउटा कोठामा बस्दै आएका छन् । कार्यालय आउने, बस्ने, मुख्यमन्त्रीसँगै विभिन्न कार्यक्रममा जाने र पार्टी कार्यकर्तासँग भेटघाट गर्दै उनको दिनचर्या बितेको थियो ।

मुख्यमन्त्रीले बिना विभागीय मन्त्री नियुक्त गरेपछि बीचको समय पार्टीकै आन्तरिक चुनावका कारण व्यस्त भएकाले मन्त्रालय फुटाल्न समय लागेको सचिवालयले जनाएको छ । गण्डकी प्रदेशसभा सदस्य संख्याको २० प्रतिशत सरकारमा सहभागी हुन पाउने व्यवस्था छ । गण्डकी प्रदेशमा डोबाटेसहित १२ मन्त्री छन् । प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित ११ वटा मन्त्रालय रहेका छन् ।

प्रकाशित : पुस १२, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?