कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम न काजका बनाइए डोबाटे

बिनाविभागीय मन्त्रीको दिनचर्या कार्यकर्ता भेट्नमा मात्रै सीमित 
प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभा सदस्य डोबाटे विश्वकर्मालाई गठबन्धनका अन्य पार्टीलाई जानकारी नदिई बिनाविभागीय मन्त्री नियुक्त गरे । मन्त्री नियुक्त भएको कात्तिक २५ मा एक महिना पुगेको छ । तर, डोबाटेलाई मुख्यमन्त्रीले एक महिनासम्म कुनै जिम्मेवारी दिएका भने छैनन् । उनी अहिले काम न काजका बिनाविभागीय मन्त्री बनेका छन् ।

काम न काजका बनाइए डोबाटे

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनका लागि एउटा साँघुरो कोठा छुट्याइएको छ । कार्यालय आउने, बस्ने, कार्यकर्तासँग भेटघाट गर्ने मात्रै उनको दिनचर्या बनेको छ । मन्त्रालयको जिम्मा नदिए पनि उनका लागि सामान्य कामसमेत तोकिएको छैन । ‘मुख्यमन्त्रीलाई नै सहयोग गर्दै आएको छु,’ डोबाटे भन्छन्, ‘उहाँ सँगसँगै कार्यक्रममा हिँड्छु । मन्त्री भएको एक महिना पुगेर एक दिन भयो तर कुनै जिम्मेवारी दिनुभएको छैन ।’ उनले आफूले पनि मुख्यमन्त्रीसँग मन्त्रालय या कामको जिम्मेवारी भने माग नगरेको बताए ।

‘आफैं जानेर दिनुपर्ने हो, मैले के मागिरहनु’ उनले भने । उनलाई एउटा गाडी दिइएको छ । मन्त्री भए पनि कुनै जिम्मा नहुँदा कोठामै बसिरहनु नपर्ने डोबाटे बताउँछन् । ‘अहिले काम नभए पनि पार्टीको चुनाव प्रचारप्रसारमा बढी व्यस्त छु’ उनले थपे । डोबाटे कांग्रेस समानुपातिक सांसद हुन् । पार्टीको महाधिवेशन नजिकिएकाले पनि पछिल्लो समय गृह जिल्ला तनहुँ जाने–आउने काम बढी भइरहेको उनले बताए ।

‘भन्दा मन्त्री, काम पार्टीकै भएको छ,’ उनले भने, ‘पोखरा नै बसिरहन त काम पनि हुनुपर्‍यो नि ।’ आफूलाई जिम्मेवारी दिने कुरामा अहिलेसम्म छलफल नभएको उनको भनाइ छ । आफूलाई जिम्मेवारी दिनका लागि कुनै समस्या र अप्ठ्यारा भएकाले समय लागेको हुन सक्ने उनको तर्क छ । ‘मलाई के जिम्मेवारी दिने भन्ने विषयमा मुख्यमन्त्री आफैंमा चिन्तित हुनुहुन्छ,’ उनले भने, ‘पार्टीदेखि मुख्यमन्त्रीसम्मले मलाई विश्वास गरेर मन्त्री बनाउनुभयो । अब जिम्मेवारी पनि दिनुहुनेछ ।’

गठबन्धनका अन्य दल माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई जानकारीसमेत नदिई डोबाटेलाई मन्त्री नियुक्त गरेपछि मुख्यमन्त्री विवादित बनेका छन् । प्रदेशमा ११ मन्त्रालय छन् । शपथ कार्यक्रममा पनि कांग्रेसबाहेक अन्य दलका मन्त्रीको सहभागिता थिएन । सरकारमा संलग्न गठबन्धन दलले आफूहरूलाई जानकारी नदिई मुख्यमन्त्रीले एकलौटी रूपमा मन्त्री नियुक्त गरेको भन्दै विरोध जनाएका थिए । यस कारण पनि मुख्यमन्त्रीले डोबाटेलाई कुनै जिम्मेवारी दिन सकेका छैनन् । यतिबेला मुख्यमन्त्रीलाई आफूसँगै भएको आन्तरिक मामिला मन्त्रालय फुटाएर उनलाई जिम्मेवारी दिने कि मन्त्रालयमा भएका काम बाँडफाँड गर्ने भन्ने दुई विकल्प छन् ।

मुख्यमन्त्रीका निजी सचिव विष्णुप्रसाद भुसालले डोबाटेलाई दिइने जिम्मेवारीबारे छलफल नभएको बताए । ‘तत्काल जिम्मेवारी दिने मन्त्रालय छैनन्,’ उनले भने, ‘फुटाल्ने पनि मन्त्रालय सक्किसके । बाँकी भनेको मुख्यमन्त्रीसँग आन्तरिक मामिला मन्त्रालय छ । त्यही फुटाएर दिने कि मुख्यमन्त्री कार्यालयकै काम बाँड्ने भन्ने हो ।’

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले पनि यसबारे मुख्यमन्त्री स्वयंले निर्णय गर्नुपर्ने बताए । अर्थमन्त्री रामजी बरालले मुख्यमन्त्रीले एकलौटी तरिकाले मन्त्री नियुक्त गरेको प्रति आपत्ति रहेको बताए । ‘व्यक्तिसँग गुनासो छैन,’ उनले भने, ‘गठबन्धनको सरकार छ । एकपटक सबैमा जानकारी हुनुपर्थ्यो भन्ने हो । यहाँ त कांग्रेस पार्टीको निर्णय गरेजस्तो एकलौटी भयो ।’ मुख्यमन्त्रीले आफूखुसी मन्त्री नियुक्त गरेकाले कुन जिम्मेवारी दिन्छन् भन्ने कुरा आफूहरूलाई जानकारी नहुने उनले बताए ।

प्रकाशित : कार्तिक २७, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?