म्याग्दीका स्थानीय तहले आइतबार विदा नदिने

घनश्याम खड्का

म्याग्दी — म्याग्दीका स्थानीय तहले आइतबार सार्वजनिक विदा नदिने भएका छन् । नगर र गाउँपालिकामा नयाँ नेतृत्व निर्वाचित भएपछिको पहिलो बैठकले संघीय सरकारले घोषणा गरेको आइतबार सार्वजनिक विदा दिने निर्णय नमान्ने निर्णय गरेका हुन् ।

मंगलबार दुर्गम धवलागिरि गाउँपालिकाको कार्यापालिका बैठकले पालिका कार्यालय, वडा कार्यालय र विद्यालयहरु शनिबार वाहेक आइतबार–शुक्रबार नियमित संञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघि बेनी नगरपालिका, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाले पनि आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

सुन्दर हरिजन मृत्यु प्रकरण : गृहमन्त्रीद्वारा छानबिन समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको रोल्पा कारागारमा भएको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले समिति गठन गरेका छन् । गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ मा कैदीका रूपमा सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको भनिएको घटना सम्बन्धमा स्थलगतरूपमा सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । 

सहसचिव सेढाईंको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा रोल्पा कारागारका अधिकारीको कुनै संलग्नता नरहेको भनिएको थियो ।

हातहतियार मुद्दामा ५ वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा १ वर्षका लागि जेल सजाय गरिएका हरिजनलाई रोल्पा कारागारमा राखिएको थियो । जेलबाट छुट्नु केही दिन पहिले हरिजनले रोल्पा कारागारमा आत्महत्या गरेको समाचार सार्वजनिक भएको थियो । उक्त मृत्यु प्रकरणको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×