तारा एयरको विमान सम्पर्कविहीन

जोमसोम विमानस्थल प्रमुख भन्छन्- ‘जहाज लोकेट भएको छैन’

लालप्रसाद शर्मा

पोखरा — सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ । 

जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले अहिलेसम्म जहाजको कुनै लोकेट नभएको बताएका हुन् । यसअघि लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम श्रेष्ठले जनाएका थिए ।

दुर्घटना भएको शंकास्पद ठाउँमा मौसम खराब छ । बादलले ढाकिएकाले हेलिकोप्टर जान नसकेको शर्माले बताए । ‘लोकेट भएकै छैन’ उनले भने, ‘पैदलमार्गबाट खोजी जारी छ ।’

यसअघि स्थानीयले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भन्ने जानकारी दिएपछि नेपाली सेना, प्रहरी र सर्वसाधारण उक्त स्थानमा खोजीका लागि केन्द्रीत भएका छन् ।

तर उक्त शंकास्पद भनिएको स्थानमा जान घन्टौं लाग्ने जनाइएको छ । पोखराबाट जोमसोम उडेको तारा एयरको कलसाईन ९ एनइटी भएको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । बिहान बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट उडेको जहाजमा चालक दलका तीनसहित १६ नेपाली र ६ विदेशी नागरिक रहेका छन ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

म्यादीलाई उद्यम र रोजगारको तालिम, सञ्चित सुरक्षा बलको रूपमा उपयोग गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचनका लागि लिइएका म्यादी प्रहरीलाई उद्यम र रोजगार तालिम दिइने भएको छ । त्यस्तै म्यादी प्रहरीलाई सरकारले सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्ने व्यवस्था गर्ने भएको छ । 

सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‌मा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले म्यादी प्रहरीका लागि सरकारले योजना ल्याएको जानकारी दिएका हुन् ।

'म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा समर्पित युवाहरूलाई लक्षित गरी उद्यमशिलता र रोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ । उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइनेछ,' म्यादी प्रहरीबारे बजेटमा राखिएका व्यवस्थामा मन्त्री शर्माले भने, 'म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।'
सरकारले स्थानीय तह निर्वाचनका लागि करिब एक लाख युवाहरूलाई म्यादी प्रहरीमा भर्ना लिएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×