तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा आइतबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा धादिङको नेत्रावती गाउँपालिका–४ का मोटरसाइकलचालक अन्दाजी २७ वर्षीय सागर तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको ग२ख १२३५ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको बा.प्र.०२–०१५ प ६२३६ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार धादिङ नेत्रावती गाउँपालिका–२ का २७ वर्षीय सुरेन तामाङको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
