तारा एयरको विमान दुर्घटना : सबै यात्रुको शव भेटियो

१० वटा शवलाई बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ
घनश्याम खड्का

म्याग्दी — मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।

फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।

शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । फेला परेका शवको पहिचान भने भइसकेको छैन ।

कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।

‘फेला परेका शवमध्ये १० वटा तल बस्तीमा झारिएको छ । बाँकी ल्याउने क्रम जारी छ । उद्धारकर्ताले भीरमा बोकेर झार्नुपर्ने भएकोले एकै खेपमा उद्धार सम्भव भएन’ उद्धारमा संलग्न एक सैनिक अधिकारीले भने, ‘तल ल्याइएका शवको मुचुल्का तयार पारी शव काठमाडौं लैजाने योजना छ ।’

प्रकाशित : जेष्ठ १६, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्

फोटो पत्रकारको कीर्तिमानी खुसी [फोटोफिचर]

प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — फोटोपत्रकार पूर्णिमा श्रेष्ठले मकालु हिमालको सफल आरोहण गरेसँगै नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम गरेकी छन् ।

फोटो पत्रकार क्लबको सदस्यसमेत रहेकी श्रेष्ठले शुक्रबार बिहान करिब १०:५० बजे मकालुको शिखर चुमेकी थिइन् । आरोहणपछि काठमाडौं फर्किएकी उनले आफन्त र साथीहरूसँग खुसियाली साटेकी छन् । नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरि र चोयु छन् । तीमध्ये चोयु हिमाल भने तिब्बततिरबाट मात्र चढिन्छ ।

फोटो पत्रकार श्रेष्ठले भने यी सबै हिमाल आरोहण गरी कीर्तिमान कायम गरेकी हुन् । उनले हालै आरोहण सम्पन्न गरेको मकालु ८,४८५ मिटर अग्लो छ । जुन विश्वको पाँचौं अग्लो हिमाल हो।जुन नेपाल र चीनको सीमामा रहेको सर्वोच्च शिखर सगरमाथाबाट १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित महालङ्गुर हिमशृंखलामा पर्छ । आठ हजार मिटर अग्ला हिमालमध्ये मकालु भने पृथक चारकुने पिरामिड आकारको छ ।

गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरि (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन्। एक दशकदेखि फोटो पत्रकरितामा सक्रिय पूर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन् ।

प्रकाशित : जेष्ठ १६, २०७९ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×