२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हेटौंडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानअन्तर्गत राखेकोमा दलहरुको विरोध प्रदर्शन 

मकवानपुर — हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रसहित चार राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् ।

हेटौंडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानअन्तर्गत राखेकोमा दलहरुको विरोध प्रदर्शन 

प्रदेश सरकारको सो निर्णय खारेज हुनुपर्ने भन्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेल सम्बद्ध दल माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाका नेता कार्यकर्ताहरुले हेटौंडा उपमहानगरपालिका-१० मा रहेको वाग्तमी प्रदेशसभा भवन अगाडि शनिबार अपराह्न विरोध प्रदर्शन गरेका हुन् ।

अहिले ५ बजे प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक (बजेट) प्रस्तुत हुँदैछ । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने विषयमा बजेट विनियोजन नगर्न दबाब दिने उद्देश्यले आन्दोलन गरिएको कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले जानकारी दिए ।

उनले कान्तिपुरसित भने, 'हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्नुपर्छ । त्यसमा हाम्रो कुनै आपत्ति छैन । तर हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हुनु हुँदैन भन्ने हाम्रो माग रहेको छ ।'

ब्यानर, प्लेकार्डसहित प्रदेशसभा भवन अगाडि प्रदर्शनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपाका नेता कार्यकर्ताहरु र सत्ता पक्षका सांसदहरुसमेत उपस्थित छन् ।

शुक्रबार बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले करिब ६५ करोड रुपैयाँ वार्षिक उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : असार १, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x